सुनसरीबाट लागू औषध सहित दुई जना पक्राउ
सुनसरी, असार २७ । सुनसरी प्रहरीले ब्राउन सुगर र प्रतिबन्धित ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार असार २६ गते साँझ करिब ५ बजे कोशी गाउँपालिका–१, लौकही बजार क्षेत्रमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दुई जनालाई चेकजाँच गर्ने क्रममा लागू औषध बरामद गरेको हो।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१६ निवासी २३ वर्षीय बिनोद लिम्बु र मोरङको सुन्दरहरैँचा नगरपालिका–७ निवासी २२ वर्षीय दिपेश चौधरी रहेका छन्।
प्रहरीका अनुसार बिनोद लिम्बुको साथबाट ३.७४ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ र दिपेश चौधरीको साथबाट SPASPAIN नामका २५० वटा ट्याब्लेट बरामद गरिएको छ।
दुवैलाई बरामद लागू औषधसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


