उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्किँदा ८ जना घाइते
धनुषा । धनुषाको मिथिला नगरपालिका–९ बडहरीस्थित पूर्व–पश्चिम लोकमार्गमा शनिबार बिहान एम्बुलेन्स र धनुषाधाम नगरपालिकाकी उपमेयर सवार सरकारी गाडी एकआपसमा ठोक्किँदा ८ जना घाइते भएका छन्।
आज बिहान करिब ६:२० बजे बडहरीबाट बिरामी लिएर विराटनगरतर्फ जाँदै गरेको ना.२ च २३२ नम्बरको एम्बुलेन्स र ढल्केवरबाट बर्दिबासतर्फ जाँदै गरेको प्रदेश २-०२-००१ झ ००८२ नम्बरको सरकारी गाडी दुर्घटनामा परेका हुन्।
दुर्घटनामा एम्बुलेन्स चालकसहित एम्बुलेन्समा सवार ५ जना तथा सरकारी गाडीमा रहेका ३ जना गरी ८ जना घाइते भएका छन्। सबै घाइतेलाई उपचारका लागि धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ।
घाइतेमध्ये एम्बुलेन्समा सवार रेणु कुमारी महतोको अवस्था मध्यम रहेको छ भने अन्य सबैको अवस्था सामान्य रहेको बताइएको छ। एम्बुलेन्समा सवार राजु देवी पहिलेदेखि पक्षघात (प्यारालाइसिस) की बिरामी रहेको जानकारी दिइएको छ।
सरकारी गाडीमा धनुषाधाम नगरपालिकाकी उपमेयर विद्दा भुजेल, चालक बद्री भुजेल र भीमराज भुजेल सवार थिए। तीनै जनाको अवस्था सामान्य रहेको छ।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


