सिंघाडी बर्माटोलको टुङघर, स्मृति र नेपाली पुनर्वासको इतिहास
तोमनाथ उप्रेती ।
बिषय प्रवेश
इतिहास मानिसका आँखा, आँसु, यात्राहरू र स्मृतिहरूमा पनि जीवित रहन्छ। कुनै समुदायले भोगेको विस्थापन, निर्वासन र पुनर्स्थापनाको कथा राष्ट्रको सामूहिक चेतनाको अभिन्न अंश हुन्छ। नेपालका पूर्वी तराईमा अवस्थित मोरङ जिल्लाको रतुवामाई नगरपालिका–४ को सिंघाडी बर्माटोल यस्तै एउटा जीवित इतिहास हो। यो मातृभूमिप्रतिको विश्वास, पीडा, संघर्ष र पुनर्जन्मको प्रतीक हो।
यस गाउँको इतिहास नेपालबाट बर्मा (हालको म्यानमार) पुगेका नेपालीहरूको जीवनयात्रासँग जोडिएको छ। उनीहरू आर्थिक अभाव, राजनीतिक अस्थिरता, प्राकृतिक विपत्ति र रोजगारीको खोजीमा आफ्नो जन्मभूमि छोडेर हजारौँ किलोमिटर टाढा पुगेका थिए। समय फेरियो। परिस्थितिले फेरि उनीहरूलाई आफ्नो जन्मभूमितर्फ फर्कायो। यही फर्काइसँग जन्मिएको बस्ती हो—सिंघाडी बर्माटोल।
यस इतिहासको केन्द्रमा एउटा विशेष सांस्कृतिक प्रतीक उभिएको छ—टुङघर। यो गाउँको सामूहिक आत्मा, सामाजिक एकता, सुरक्षा र सांस्कृतिक पहिचानको जीवित स्मारक थियो।
नेपालबाट बर्मासम्मको ऐतिहासिक यात्रा
उन्नाइसौँ शताब्दीको उत्तरार्द्धदेखि बीसौँ शताब्दीको मध्यकालसम्म नेपाल गम्भीर आर्थिक, सामाजिक र राजनीतिक सङ्कटबाट गुज्रिरहेको थियो। सीमित कृषि उत्पादनमा निर्भर पहाडी अर्थतन्त्र, तीव्र जनसंख्या वृद्धि, कृषियोग्य जमिनको अभाव, सामन्ती भूमि व्यवस्थाले सिर्जना गरेको शोषण, राणा शासनको निरङ्कुश प्रशासन तथा शिक्षा र रोजगारीका अवसरको न्यूनताले हजारौँ नेपालीलाई जीविकोपार्जनका वैकल्पिक मार्ग खोज्न बाध्य बनायो। यससँगै भूकम्प, बाढी, पहिरो, महामारी र खाद्यान्न अभावजस्ता प्राकृतिक तथा मानवीय विपत्तिले ग्रामीण जीवनलाई झन् असुरक्षित बनायो। फलस्वरूप, आफ्नै देशमा सम्मानजनक जीवनयापनको सम्भावना साँघुरिँदै जाँदा धेरै नेपाली रोजगारी, सुरक्षा र उज्ज्वल भविष्यको खोजीमा सीमापार जान थाले।
त्यस समय दक्षिण तथा दक्षिणपूर्व एसियाका दार्जिलिङ, सिक्किम, आसाम, भुटान, मणिपुर, मलाया र बर्मा (हालको म्यानमार) नेपाली आप्रवासीहरूको प्रमुख गन्तव्य बने। ब्रिटिस औपनिवेशिक शासनले गोर्खा सैनिकहरूको साहस, अनुशासन र युद्धकौशललाई उच्च मूल्याङ्कन गर्दै ठूलो सङ्ख्यामा नेपाली युवालाई सैनिक सेवामा भर्ती गर्यो। पहिलो र दोस्रो विश्वयुद्धका अवधिमा हजारौँ नेपाली सैनिक भारत, बर्मा, मलाया, सिंगापुर तथा अन्य मोर्चाहरूमा परिचालित भए। युद्धपछि कतिपय सैनिक स्वदेश फर्किए भने उल्लेख्य सङ्ख्यामा नेपाली त्यहीँ स्थायी रूपमा बसोबास गर्न थाले।

(तोमनाथ उप्रेती)
बर्मामा बसोबास गर्ने नेपालीहरूले खेतीपाती, पशुपालन, व्यापार, होटल व्यवसाय, निर्माण कार्य तथा सरकारी सेवामार्फत आफ्नो आर्थिक आधार सुदृढ बनाए। उनीहरूले नेपाली भाषा, धर्म, संस्कृति, चाडपर्व र सामाजिक परम्परालाई जोगाउँदै आफ्ना विद्यालय, मन्दिर र सामुदायिक संस्थाहरू स्थापना गरे। यसरी बर्मास्थित नेपाली समाज आप्रवासी समुदायमा मात्र सीमित रहेन। उसले आफ्नो मौलिक सांस्कृतिक पहिचान सुरक्षित राख्दै आर्थिक रूपमा आत्मनिर्भर र सामाजिक रूपमा संगठित समुदायको रूप लियो। यही समुदाय पछि राजनीतिक उथलपुथलका कारण पुनः मातृभूमि फर्किन बाध्य भयो, जसले नेपालको पुनर्वास इतिहासमा नयाँ अध्यायको सुरुवात गरायो।
बर्माको राजनीतिक परिवर्तन र नेपालीहरूको स्वदेश फिर्ती
सन् १९४८ मा बर्मा (हालको म्यानमार) बेलायती औपनिवेशिक शासनबाट स्वतन्त्र भयो। स्वतन्त्रतापछि केही वर्ष लोकतान्त्रिक शासन व्यवस्था कायम रहे पनि राजनीतिक अस्थिरता, जातीय विद्रोह र सशस्त्र द्वन्द्वले मुलुकलाई निरन्तर प्रभावित गरिरह्यो। अन्ततः सन् १९६२ मा सैनिक नेतृत्वले सत्ता आफ्नो नियन्त्रणमा लिएपछि राष्ट्रवाद र राज्य निर्माणको नयाँ अवधारणा अघि सारियो। यस नीतिले विदेशी मूलका समुदायहरूमाथि कडा प्रशासनिक नियन्त्रण, नागरिक अधिकारमा सीमितता तथा आर्थिक अवसरमा संकुचन ल्यायो। त्यसको प्रत्यक्ष असर बर्मामा दशकौँदेखि बसोबास गर्दै आएका नेपाली समुदायमाथि पनि पर्यो।
नेपालीहरू एकातर्फ राज्यका नयाँ कानुनी तथा प्रशासनिक व्यवस्थाबाट प्रभावित भए भने अर्कोतर्फ विभिन्न जातीय सशस्त्र समूह र स्थानीय शक्तिहरूको दबाब पनि झेल्न बाध्य भए। कतै आर्थिक सहयोगका नाममा चन्दा असुली गरिन्थ्यो, कतै युवाहरूलाई सशस्त्र समूहमा आबद्ध गराउन दबाब दिइन्थ्यो। केही स्थानमा सरकारी सैनिक सेवामा भर्ती हुनुपर्ने अवस्था सिर्जना भयो भने अन्यत्र जातीय पहिचानका आधारमा अविश्वास र असुरक्षाको वातावरण बढ्दै गयो। परिणामतः नेपाली समुदाय राज्य र गैरराज्य दुवै शक्तिबीचको द्वन्द्वको चेपुवामा पर्दै गयो।
वर्षौँको परिश्रमले निर्माण गरेका घर, खेतीपाती, व्यवसाय र सामाजिक सम्बन्धहरू एकाएक असुरक्षित बन्न थाले। आफ्ना सन्तानको भविष्य, जीवनको सुरक्षा र सांस्कृतिक अस्तित्वमाथि प्रश्न उठ्न थालेपछि धेरै नेपाली परिवारले कठिन निर्णय गरे—आर्जित सम्पत्ति त्यागेर मातृभूमि फर्कने। त्यो भौगोलिक स्थानान्तरण मात्र थिएन, त्यो असुरक्षाबाट सम्मानको खोजीमा गरिएको यात्रा थियो। त्यो देश परिवर्तन गर्ने निर्णय थिएन; आफ्नै पहिचान, आफ्नै माटो र आफ्नै राष्ट्रिय अस्तित्वतर्फ फर्किने ऐतिहासिक पुनरागमन थियो। यही स्वदेश फिर्तीको लहरले पछि नेपालका विभिन्न पुनर्वास बस्तीहरू, विशेषतः मोरङको सिंघाडी बर्माटोलजस्ता ऐतिहासिक गाउँहरूको निर्माणमा आधार तयार गर्यो।
स्वदेश फिर्तीको आह्वान र सिंघाडी बर्माटोलको स्थापना
बर्मामा बसोबास गरिरहेका नेपाली समुदायमाथि राजनीतिक अस्थिरता, सैनिक शासन र जातीय द्वन्द्वको प्रभाव गहिरिँदै गएपछि उनीहरूको भविष्य अनिश्चित बन्दै गयो। दशकौँको मेहनतले आर्जित सम्पत्ति, स्थापित व्यवसाय र सामाजिक सम्बन्धहरू क्रमशः असुरक्षित हुन थाले। यस अवस्थाको जानकारी नेपाल सरकारसम्म पनि पुग्यो। तत्कालीन सरकारले यसलाई विदेशमा रहेका नेपालीहरूको समस्या मात्र नभई राष्ट्रिय दायित्वका रूपमा ग्रहण गर्यो। विशेषतः तत्कालीन राजा महेन्द्रले विदेशस्थित नेपालीहरूलाई आफ्नो मातृभूमिमा सम्मानपूर्वक फर्काउने नीति अवलम्बन गर्दै सार्वजनिक रूपमा स्वदेश फिर्तीको आह्वान गरे। यो निर्णय मानवीय संवेदनासँगै राष्ट्रिय एकीकरण, सीमावर्ती क्षेत्रमा जनबसोबास विस्तार तथा दीर्घकालीन सुरक्षा दृष्टिकोणसँग पनि जोडिएको थियो।
स्वदेश फर्कने नेपालीहरूलाई पुनः स्थापित गर्न सरकारले योजनाबद्ध पुनर्वास कार्यक्रम सञ्चालन गर्यो। पुनर्वासका लागि तराईका विभिन्न जिल्लामा वन फँडानी गरी नयाँ बस्ती बसाल्ने व्यवस्था गरियो। प्रत्येक परिवारलाई घर निर्माणका लागि काठ, घरघडेरी तथा परिवारको आकारअनुसार खेतीयोग्य जमिन उपलब्ध गराइयो। प्रारम्भिक जीवनयापन सहज बनाउन प्रतिपरिवार आर्थिक सहायता पनि प्रदान गरिएको थियो। यी व्यवस्थाले विदेशमा सबैथोक गुमाएर फर्किएका नेपालीहरूलाई नयाँ जीवन सुरु गर्ने आधार प्रदान गर्यो।
यस पुनर्वास अभियानसँग जोडिएको एउटा अत्यन्त भावनात्मक प्रसङ्ग नेपाली लोकस्मृतिमा आज पनि जीवित छ। जनश्रुति अनुसार तत्कालीन सरकारले गाइने कलाकारहरूको टोली बर्मासम्म पठाएको थियो। उनीहरूले मातृभूमिको माया, हिमालको पुकार र आफ्नै देशको आत्मीयतालाई गीतमार्फत अभिव्यक्त गर्दै त्यहाँ रहेका नेपालीहरूलाई स्वदेश फर्किन प्रेरित गरेका थिए। उनीहरूले गाएको भनिने गीतको एउटा मार्मिक अंश आज पनि धेरैका स्मृतिमा सुरक्षित छ–
“फर्क है फर्क नेपाली, तिमीलाई डाक्छ हिमाल। राजाले आँसु पुछेको, सुकेको छैन रुमाल।”
यो गीत मातृभूमिको भावनात्मक आह्वान थियो। विस्थापनको पीडामा बाँचिरहेका नेपालीहरूको मनमा आफ्नो जन्मभूमिप्रतिको प्रेम, पहिचान र अपनत्वलाई यसले पुनः जागृत गराएको विश्वास गरिन्छ। गीतले उनीहरूलाई नेपाल फर्कन मात्र प्रेरित गरेन, बरु आफ्नो इतिहास, संस्कृति र राष्ट्रिय अस्तित्वसँग पुनः जोडिने भावनात्मक शक्ति पनि प्रदान गर्यो।
वि.सं. २०२० देखि २०२२ को अवधिमा बर्माबाट उल्लेखनीय सङ्ख्यामा नेपाली परिवार स्वदेश फर्किए। उनीहरूलाई नेपालको तराईका सीमावर्ती जिल्लाहरू भैरहवा, गुलरिया, धनगढी, कैलाली, कञ्चनपुर, काकडभिट्टा, सुकुना मोरङ तथा अन्य उपयुक्त स्थानहरूमा योजनाबद्ध रूपमा पुनर्वास गरियो। यी पुनर्वास बस्तीहरूको उद्देश्य केवल बसोबासको व्यवस्था गर्नु मात्र थिएन; सीमावर्ती क्षेत्रमा जनघनत्व वृद्धि, कृषि उत्पादन विस्तार र राष्ट्रिय सुरक्षालाई समेत सुदृढ बनाउनु थियो। यस दृष्टिले हेर्दा पुनर्वास कार्यक्रम सामाजिक कल्याण र राष्ट्रिय रणनीति दुवैको संगम थियो।
यही राष्ट्रिय पुनर्वास अभियानअन्तर्गत मोरङ जिल्लाको घना सखुवा जंगल फँडानी गरी वि.सं. २०२२ सालमा स्थापना गरिएको बस्ती नै आजको सिंघाडी बर्माटोल हो। बाघ, भालु र वन्यजन्तुले विचरण गर्ने निर्जन जंगललाई आफ्नै श्रम, साहस र सामूहिक एकताले बस्न योग्य गाउँमा रूपान्तरण गर्ने कार्य बर्माबाट फर्किएका नेपालीहरूको अदम्य सङ्कल्पको उदाहरण बनेको छ। त्यसैले सिंघाडी बर्माटोल विस्थापनपछि पुनर्जन्म पाएको नेपाली आत्मबल, राष्ट्रिय पुनर्संरचना र मातृभूमिप्रतिको अटल निष्ठाको ऐतिहासिक स्मारक हो।
सखुवाको जंगलदेखि साझा इतिहास बोकेको बस्तीसम्म
वि.सं. २०२२ सालभन्दा अघि आजको सिंघाडी बर्माटोल रहेको सम्पूर्ण क्षेत्र घना सखुवा, खयर र मिश्रित वनले ढाकिएको निर्जन भूभाग थियो। यो स्थान मानव बस्तीभन्दा बढी वन्यजन्तुको प्राकृतिक वासस्थानका रूपमा परिचित थियो। स्थानीय स्मृतिअनुसार दिउँसै बाघ, भालु, चितुवा, जङ्गली बँदेल र अन्य वन्यजन्तुहरू सहजै देखिन्थे। सडक, खानेपानी, विद्यालय वा कृषियोग्य जमिन केही पनि थिएन। चारैतिर बाक्लो जंगल, वन्यजन्तुको त्रास र दुर्गम वातावरणका कारण यहाँ स्थायी बस्ती बस्ने कल्पना गर्नु पनि सहज थिएन। तर इतिहासमा असम्भव देखिने कार्यहरू प्रायः साहसी मानिसहरूको सङ्कल्पबाट नै सम्भव भएका छन्। बर्माबाट स्वदेश फर्किएका नेपालीहरूको पुनर्वाससँगै यही निर्जन जंगलले नयाँ जीवन पायो।
नेपाल सरकारले योजनाबद्ध रूपमा जंगल फँडानी गरी पुनर्वास कार्यक्रम सञ्चालन गर्यो। प्रारम्भिक चरणमा २८ घरपरिवारलाई यहाँ बसोबास गराइयो। प्रत्येक परिवारलाई घर निर्माणका लागि आवश्यक काठ, करिब तीन कठ्ठा घरघडेरी तथा परिवारको सदस्य सङ्ख्याअनुसार तीनदेखि छ बिघासम्म खेतीयोग्य जमिन उपलब्ध गराइयो। सरकारले प्रारम्भिक जीविकोपार्जनका लागि केही आर्थिक सहायता पनि उपलब्ध गराएको उल्लेख पाइन्छ। यद्यपि घर र जमिन प्राप्त गरेपछि पनि उनीहरूको संघर्ष समाप्त भएको थिएन। उनीहरूले जंगल फँडानी गर्नुपर्यो, खेतीयोग्य जमिन तयार गर्नुपर्यो, बाटो बनाउनुपर्यो र आफ्नै श्रमबाट नयाँ गाउँको आधार निर्माण गर्नुपर्यो। यस अर्थमा सिंघाडी बर्माटोल राज्यको योजनाले जन्मिएको भए पनि गाउँको वास्तविक निर्माण भने पुनर्वासित नेपालीहरूको श्रम, साहस र सामूहिक एकताबाट सम्भव भएको थियो।
वि.सं. २०३० को दशकमा भारतको आसाममा उत्पन्न जातीय तनाव र विदेशीविरोधी आन्दोलनका कारण त्यहाँ बसोबास गरिरहेका धेरै नेपाली परिवार पनि नेपाल फर्किए। तीमध्ये उल्लेखनीय सङ्ख्याले सिंघाडी बर्माटोललाई आफ्नो स्थायी बसोबासको केन्द्र बनाए। यसरी बर्माबाट फर्किएका पहिलो पुस्ता, आसामबाट विस्थापित दोस्रो पुस्ता तथा नेपालको विभिन्न पहाडी जिल्लाबाट आएका परिवारहरू एउटै गाउँमा एकाकार भए। उनीहरूको जन्मस्थान फरक थियो, जीवनका अनुभव फरक थिए, तर नियति भने समान थियो—विस्थापन, संघर्ष र पुनःस्थापनाको साझा इतिहास।
यस कारण सिंघाडी बर्माटोललाई केवल पुनर्वास बस्तीका रूपमा मात्र बुझ्नु पर्याप्त हुँदैन। यो साझा दुःखबाट निर्मित सामाजिक एकताको अनुपम उदाहरण हो। यहाँ बसोबास गर्ने समुदायलाई कुनै जातीय, भौगोलिक वा क्षेत्रीय पहिचानले भन्दा पनि उनीहरूले भोगेको साझा इतिहासले जोडेको थियो। उनीहरूको सबैभन्दा ठूलो परिचय एउटै थियो।विदेशमा संघर्ष गरेर अन्ततः आफ्नै मातृभूमिमा फर्किएका नेपाली। यही साझा अनुभवले उनीहरूबीच गहिरो आत्मीयता, परस्पर सहयोग, श्रमको सम्मान र सामुदायिक उत्तरदायित्वको संस्कृति विकास गरायो। त्यसैले सिंघाडी बर्माटोल विस्थापनलाई आशामा, जंगललाई बस्तीमा र पीडालाई सामूहिक पहिचानमा रूपान्तरण गर्ने नेपाली समाजको ऐतिहासिक जीवित दस्तावेज हो।
टुङघर : सिंघाडी बर्माटोलको सामाजिक चेतना र सामुदायिक एकताको प्रतीक
सिंघाडी बर्माटोलको इतिहास पुनर्वासको इतिहास मात्र होइन; यो सामूहिक श्रम, सामाजिक संगठन र स्थानीय ज्ञानको पनि इतिहास हो। यही इतिहासको सबैभन्दा जीवन्त प्रतीक थियो—टुङघर। गाउँ स्थापना भएको केही वर्षपछि गाउँलेहरूले आफ्नै श्रम, सीप र एकताबाट करिब ५५ फिट अग्लो काठको संरचना निर्माण गरेका थिए, जसलाई स्थानीय भाषामा टुङघर भनिन्थ्यो। त्यतिबेला वरिपरि घना सखुवा जंगल, सीमित यातायात, सञ्चारको अभाव र वन्यजन्तुको निरन्तर जोखिम रहेको अवस्थामा टुङघर गाउँको आवश्यकता थियो, विलासिता होइन। यो एउटा अग्लो भवन मात्र थिएन। यो नवस्थापित समुदायको आत्मविश्वास, सामूहिक सुरक्षा र सामाजिक चेतनाको मूर्त प्रतीक थियो।
टुङघरको पहिलो र सबैभन्दा महत्वपूर्ण भूमिका सुरक्षा प्रणालीसँग सम्बन्धित थियो। गाउँ चारैतिर जंगलले घेरिएको थियो, जहाँ बाघ, भालु, चितुवा, जङ्गली हाती र अन्य वन्यजन्तुको विचरण सामान्य घटना मानिन्थ्यो। त्यसैले टुङघरको माथिल्लो भागबाट गाउँको चारैतिर निगरानी गरिन्थ्यो। वन्यजन्तु गाउँतर्फ आउँदै गरेको, अपरिचित व्यक्तिहरू गाउँ प्रवेश गरेको वा कुनै असामान्य गतिविधि देखिएको अवस्थामा तत्काल गाउँलेहरूलाई सचेत गराइन्थ्यो। आधुनिक प्रहरी चौकी, सञ्चार उपकरण वा सुरक्षा संयन्त्र नभएको अवस्थामा टुङघर नै गाउँको पहिलो सुरक्षा चौकी थियो।
दोस्रो, टुङघर सूचना आदानप्रदान र आपत्कालीन सञ्चारको केन्द्र थियो। कुनै घरमा आगलागी भएमा, चोरी–डकैतीको घटना घटेमा, प्राकृतिक विपत्ति आएमा वा गाउँलेहरूलाई तत्काल भेला गर्नुपर्ने अवस्था सिर्जना भएमा यही टुङघरबाट आवाज, सङ्केत वा अन्य परम्परागत माध्यमद्वारा सूचना सम्पूर्ण गाउँमा फैलाइन्थ्यो। आजको मोबाइल फोन, साइरन वा सार्वजनिक सूचना प्रणाली नभएको समयमा टुङघरले गाउँलाई एउटै सञ्चार सञ्जालमा बाँध्ने कार्य गरेको थियो। यसले संकटका बेला समुदायलाई तत्काल एकताबद्ध गर्ने महत्त्वपूर्ण भूमिका निर्वाह गर्थ्यो।
तेस्रो, टुङघर सामुदायिक लोकतन्त्र र सामाजिक एकताको केन्द्र पनि थियो। गाउँका साझा निर्णय, विकाससम्बन्धी छलफल, श्रमदानको योजना, धार्मिक तथा सांस्कृतिक कार्यक्रमको तयारी र सार्वजनिक घोषणाहरू प्रायः टुङघर वरिपरि नै गरिन्थे। यसले गाउँलाई भौगोलिक रूपमा मात्र होइन, भावनात्मक र संस्थागत रूपमा पनि जोड्ने काम गर्यो। पुनर्वासको प्रारम्भिक चरणमा बर्मा, आसाम र नेपालको विभिन्न पहाडी भूभागबाट आएका परिवारहरूबीच पारस्परिक विश्वास, सहयोग र साझा उत्तरदायित्वको भावना विकास गर्न टुङघरले मौन तर प्रभावकारी भूमिका खेलेको थियो। त्यसैले यो संरचना गाउँको सामाजिक पूँजीको केन्द्रबिन्दु बनेको थियो।
चौथो, टुङघरले गाउँलाई मनोवैज्ञानिक सुरक्षा र सामूहिक आत्मविश्वास प्रदान गरेको थियो। विस्थापनको पीडा बोकेर विदेशी भूमिबाट फर्किएका परिवारहरूका लागि नयाँ जंगल, अपरिचित वातावरण र अनिश्चित भविष्य ठूलो चुनौती थियो। यस्तो अवस्थामा गाउँको बीचमा उभिएको अग्लो टुङघर उनीहरूका लागि आशा, सुरक्षा र सामूहिक अस्तित्वको प्रतीक बन्यो। यसले प्रत्येक परिवारलाई एउटा मौन सन्देश दिन्थ्यो—“हामी अब एक्ला छैनौँ; हामी एउटै समुदायका सदस्य हौँ, र संकटका प्रत्येक क्षणमा एकअर्काको साथमा उभिनेछौँ।” यही भावनाले विस्थापनको पीडालाई सामुदायिक शक्तिमा रूपान्तरण गर्यो।
टुङघरको महत्त्व भौतिक संरचनाभन्दा धेरै परसम्म फैलिएको थियो। यसले ग्रामीण स्वशासन, स्थानीय नेतृत्व, सामाजिक अनुशासन र सामूहिक उत्तरदायित्वको अभ्यासलाई संस्थागत बनाएको थियो। आधुनिक प्रशासनिक संरचना र सञ्चार प्रविधि गाउँसम्म नपुगेको समयमा टुङघरले सुरक्षा चौकी, सूचना केन्द्र, सार्वजनिक सभा स्थल र सामाजिक एकताको साझा मञ्चका रूपमा बहुआयामिक भूमिका निर्वाह गरेको थियो। यस अर्थमा टुङघर स्थानीय आवश्यकता, वातावरणीय अनुकूलता र सामुदायिक बुद्धिमत्ताको उत्कृष्ट उदाहरण थियो।
आज समय परिवर्तनसँगै टुङघरको भौतिक स्वरूप विगतजस्तो छैन। आधुनिक सडक, सञ्चार प्रविधि र प्रशासनिक संरचनाले यसको व्यावहारिक आवश्यकता घटाएको छ। तर यसको ऐतिहासिक स्मृति भने अझै गाउँको सामूहिक चेतनामा जीवित छ। टुङघरले एउटा युगको आवश्यकता मात्र पूरा गरेको थिएन; यसले एउटा समुदायलाई आत्मनिर्भर, संगठित र आत्मविश्वासी बनाउने आधार तयार गरेको थियो। त्यसैले टुङघरलाई काठले बनेको अग्लो संरचनाका रूपमा मात्र होइन, सिंघाडी बर्माटोलको सामाजिक इतिहास, सांस्कृतिक पहिचान, सामुदायिक एकता र पुनर्वासको सफल यात्राको अमूल्य प्रतीकका रूपमा सम्झिनु उपयुक्त हुन्छ। यसको संरक्षण र दस्तावेजीकरण भावी पुस्ताका लागि सांस्कृतिक दायित्व मात्र होइन, नेपालको पुनर्वास इतिहासलाई जीवित राख्ने ऐतिहासिक जिम्मेवारी पनि हो।
पुनर्वासपछि संघर्षको दशक: अभाव, श्रम र आत्मनिर्भरताको कथा
सिंघाडी बर्माटोलमा पुनर्वासले विस्थापित नेपालीहरूलाई बस्नका लागि घरघडेरी र खेतीयोग्य जमिन त दियो, तर जीवनलाई सहज बनाउन आवश्यक आधारभूत पूर्वाधार तत्काल उपलब्ध गराउन सकेन। पुनर्वासले उनीहरूलाई एउटा नयाँ सुरुआत गर्ने अवसर प्रदान गरेको थियो, तर त्यो सुरुआत अत्यन्त कठोर यथार्थसँग गाँसिएको थियो। घर थियो, तर घरभित्र अन्न थिएन। जमिन थियो, तर खेती गर्न आवश्यक साधन, बीउबिजन र सिंचाइको व्यवस्था थिएन। जंगल फँडानी गरेर नयाँ जीवन सुरु गरेका परिवारहरूका लागि प्रत्येक दिन जीविकोपार्जनको संघर्षसँगै अस्तित्व जोगाउने परीक्षा पनि थियो।
त्यतिबेला गाउँमा खानेपानीको स्थायी स्रोत थिएन। स्वास्थ्य चौकी, विद्यालय, सडक, बजार, यातायात र सञ्चारका कुनै सुविधा उपलब्ध थिएनन्। वर्षातमा हिलो र गर्मीयाममा धुलोले भरिने बाटाहरू पनि पूर्ण रूपमा विकसित भइसकेका थिएनन्। वरिपरि फैलिएको घना जंगलका कारण बाघ, भालु, जङ्गली बँदेल, चितुवा तथा अन्य वन्यजन्तुले लगाएको खेतीबाली बारम्बार नष्ट गरिदिन्थे। कठिन परिश्रम गरेर लगाएको मकै, धान वा अन्य अन्नबाली एकै रातमा जङ्गली जनावरले सखाप पारिदिने घटना सामान्य मानिन्थ्यो। यसले खाद्य सुरक्षालाई झन् चुनौतीपूर्ण बनाएको थियो।
आर्थिक स्रोतको अभावले अधिकांश परिवारलाई गाउँबाहिर श्रम बेच्न बाध्य बनायो। धेरै पुरुषहरू आसपासका गाउँमा हलो जोत्न, गोठालो बस्न, दाउरा काट्न, दुध बेच्न वा दैनिक ज्यालादारी गर्न जान्थे। महिलाहरूले पनि परिवार धान्न कम संघर्ष गरेनन्। उनीहरू अरूका घरमा काम गरेर धानको कनिका, चामल वा थोरै अन्न लिएर फर्किन्थे। साँझ ती कनिका उमालेर जाउलो पकाई परिवारको भोक मेटाउनु धेरै घरको दैनिक यथार्थ थियो। खाद्यान्न अभावको समयमा निगुरो, तरुल, गिठा, भ्याकुर, सिस्नो तथा जंगलमा पाइने अन्य कन्दमूल र सागपात नै जीवन धान्ने प्रमुख आधार बन्थे। अभाव उनीहरूको दैनिकी थियो, तर निराशा उनीहरूको स्वभाव बनेन।
खानेपानीको समस्या झन् कष्टकर थियो। गाउँमा इनार वा धारा नभएकाले महिलाहरू र बालबालिकाहरूले करिब तीन सय मिटर टाढा रहेको सिंघाडी बजारको इनारबाट गाग्री, बाल्टिन र डोकोमा पानी बोकेर ल्याउनुपर्थ्यो। पशुचौपायालाई पानी खुवाउन पोखरी र होलीसम्म लैजानुपर्ने अवस्था थियो। दैनिक जीवनका यी कठिनाइहरूले पुनर्वासित समुदायको संघर्षलाई अझ गहिरो बनाएका थिए। तर यिनै कठिनाइहरूले उनीहरूलाई श्रम, सहनशीलता र आत्मनिर्भरताको पाठ पनि सिकाए।
यद्यपि भौतिक अभाव व्यापक थियो, सामाजिक सम्बन्ध भने असाधारण रूपमा सुदृढ थिए। पुनर्वासित परिवारहरू एउटै नियति र साझा पीडाले बाँधिएका थिए। कसैको घर बनाउँदा सबै गाउँले श्रमदान गर्थे। खेत रोप्ने, धान काट्ने, बाटो बनाउने, मन्दिर निर्माण गर्ने वा संकटमा परेका परिवारलाई सहयोग गर्ने कार्य सामूहिक रूपमा सम्पन्न हुन्थे। व्यक्तिगत स्वार्थभन्दा सामुदायिक हितलाई प्राथमिकता दिने संस्कार विस्तारै गाउँको सामाजिक चरित्र बन्यो। यही पारस्परिक सहयोग, विश्वास र श्रमदानको संस्कृतिले सिंघाडी बर्माटोललाई आत्मीय समुदायका रूपमा स्थापित गरायो।
वास्तवमा, सिंघाडी बर्माटोलको प्रारम्भिक इतिहास अभावको कथा मात्र होइन; त्यो अभावमाथि विजय प्राप्त गर्ने मानवीय साहसको कथा पनि हो। विस्थापनको पीडा, गरिबीको कठोर यथार्थ र प्राकृतिक चुनौतीका बीच पनि गाउँलेहरूले आफ्नो आत्मबल गुमाएनन्। उनीहरूले श्रमलाई सम्मान गरे, सहयोगलाई संस्कार बनाए र कठिनाइलाई भविष्य निर्माणको आधारमा रूपान्तरण गरे। यही सामूहिक चेतना र आत्मनिर्भरता आज पनि सिंघाडी बर्माटोलको ऐतिहासिक पहिचान र सामाजिक सम्पदाका रूपमा जीवित छन्।
धर्म, शिक्षा र सामुदायिक विकास : पुनर्वासबाट संस्थागत समाजतर्फ
सिंघाडी बर्माटोलको इतिहासले एउटा महत्त्वपूर्ण सत्य उजागर गर्दछ।कुनै समाजको वास्तविक विकास केवल भौतिक पूर्वाधारबाट होइन, साझा मूल्य, सामाजिक संस्था र सामूहिक चेतनाबाट प्रारम्भ हुन्छ। पुनर्वासको प्रारम्भिक चरणमा गाउँलेहरू चरम आर्थिक अभाव, खाद्यान्न संकट र आधारभूत सुविधाको कमीबाट गुज्रिरहेका थिए। यद्यपि उनीहरूले आफ्नो पहिलो प्राथमिकता केवल व्यक्तिगत घर निर्माण वा आर्थिक समृद्धिलाई बनाएनन्। बरु उनीहरूले समुदायको आत्मा जोगाउने धर्म, शिक्षा र सामाजिक संस्थाहरूको निर्माणलाई समान महत्त्व दिए। यही दूरदर्शिताले सिंघाडी बर्माटोललाई साधारण पुनर्वास बस्तीबाट संगठित र संस्कारित समाजमा रूपान्तरण गर्यो।
वि.सं. २०२३ सालमा गाउँलेहरूको सक्रिय पहलमा दुर्गा मन्दिर स्थापना गरियो। मन्दिर धार्मिक आस्थाको केन्द्र मात्र थिएन; यसले गाउँको सामाजिक जीवनलाई एउटै सूत्रमा बाँध्ने सार्वजनिक संस्थाका रूपमा कार्य गर्यो। नवरात्र, दशैं, भजन कीर्तन, सामूहिक पूजा तथा अन्य धार्मिक अनुष्ठानहरूले विभिन्न ठाउँबाट आएका परिवारहरूबीच आत्मीयता, विश्वास र सांस्कृतिक एकताको भावना सुदृढ बनायो। विस्थापनको पीडाले विचलित समुदायका लागि मन्दिर आध्यात्मिक आश्रयस्थल मात्र नभई सामाजिक संवाद, परामर्श र सहकार्यको केन्द्र पनि बन्यो। धर्मले यहाँ विभाजन होइन, एकीकरणको भूमिका निर्वाह गरेको देखिन्छ।
धार्मिक संस्थाको स्थापनासँगै गाउँलेहरूले भौतिक विकासका कार्यहरूलाई पनि समान रूपमा अघि बढाए। श्रमदानको परम्परालाई आधार बनाएर गाउँभित्रका बाटाहरू निर्माण गरिए। यातायातको कुनै सुविधा नभएको अवस्थामा आफ्नै हातले बाटो खन्नु सामूहिक आत्मनिर्भरताको अभिव्यक्ति थियो। त्यसपछि बालबालिकाको भविष्यलाई मध्यनजर गर्दै विद्यालय स्थापना गरियो। शिक्षालाई गरिबीबाट मुक्ति, चेतनाको विकास र भावी पुस्ताको उज्ज्वल भविष्यसँग जोडेर हेरियो। सीमित साधनस्रोतका बाबजुद विद्यालय निर्माण गर्नु गाउँलेहरूको दूरदृष्टि र ज्ञानप्रतिको सम्मानको प्रमाण थियो।
सामुदायिक भवनको निर्माणले गाउँको सामाजिक जीवनलाई अझ व्यवस्थित बनायो। विवाह, व्रतबन्ध, भेला, छलफल, सांस्कृतिक कार्यक्रम तथा विपद्का समयमा सामूहिक निर्णय गर्ने साझा स्थलका रूपमा यसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्यो। यसरी मन्दिर, विद्यालय, बाटो र सामुदायिक भवनले गाउँको सामाजिक संरचनालाई संस्थागत स्वरूप प्रदान गरे। उल्लेखनीय पक्ष के थियो भने यी अधिकांश निर्माणकार्य सरकारी बजेट वा ठूला आर्थिक अनुदानका कारण सम्भव भएका थिएनन्। गाउँलेहरूको श्रमदान, आपसी सहयोग, स्थानीय स्रोतको परिचालन र साझा उत्तरदायित्वको भावनाले यी विकासका आधार तयार गरेका थिए।
यस सामुदायिक अभियानमा काशीनाथ आचार्यजस्ता दूरदर्शी अग्रजहरूको नेतृत्व विशेष रूपमा स्मरणीय छ। उहाँसँगै नरपति गुरागाईं, बलराम धिताल, सुखदेव न्यौपाने, यामप्रसाद कोइराला, हरिप्रसाद दाहाल, इन्द्रलाल पोखरेल, तारा पोखरेल, भद्रमणि गौतम लगायतका अग्रणी व्यक्तित्वहरूले गाउँको सामाजिक, धार्मिक र भौतिक विकासमा उल्लेखनीय योगदान पुर्याए। उनीहरूको नेतृत्व आदेशमा आधारित थिएन; सहभागिता, प्रेरणा र उदाहरणमा आधारित थियो। उनीहरूले विकासलाई सरकारको एकल दायित्वका रूपमा होइन, सम्पूर्ण समुदायको साझा जिम्मेवारीका रूपमा परिभाषित गरे। यही दृष्टिकोणले गाउँमा स्वामित्वको भावना विकास गरायो र प्रत्येक गाउँलेलाई विकास प्रक्रियाको सक्रिय सहभागी बनायो।
सिंघाडी बर्माटोलको प्रारम्भिक विकास यात्राले आज पनि ग्रामीण विकासको एउटा महत्त्वपूर्ण पाठ सिकाउँछ। विकास बाहिरबाट आयात हुने वस्तु होइन; त्यो समुदायभित्रको विश्वास, श्रम, नेतृत्व र सहकार्यबाट निर्माण हुने प्रक्रिया हो। जब समाजले धर्मलाई नैतिकताको आधार, शिक्षालाई भविष्यको लगानी र श्रमदानलाई विकासको संस्कार बनाउँछ, तब सीमित स्रोतले पनि असाधारण उपलब्धि हासिल गर्न सकिन्छ। सिंघाडी बर्माटोलको संस्थागत विकास यही जीवन्त सत्यको ऐतिहासिक उदाहरण हो।
आसामबाट दोस्रो पुनर्वास: विस्थापनको अर्को अध्याय
सिंघाडी बर्माटोलको इतिहास बर्माबाट फर्किएका नेपालीहरूको पुनर्वासमा मात्र सीमित छैन। यसले दक्षिण एसियामा भएका राजनीतिक, जातीय र सामाजिक उथलपुथलका कारण पटक पटक विस्थापित हुनुपरेका नेपालीहरूको साझा नियतिलाई पनि प्रतिनिधित्व गर्दछ। बर्माबाट स्वदेश फर्किएका नेपालीहरूले नयाँ जीवनको आधार तयार गरिरहेको समयमै अर्को ऐतिहासिक घटनाक्रमले हजारौँ नेपाली परिवारलाई पुनः विस्थापनको पीडा भोग्न बाध्य बनायो।
वि.सं. २०३० को दशकमा भारतको उत्तरपूर्वी राज्य आसाममा जातीय पहिचान, नागरिकता र आप्रवासनका प्रश्नहरू तीव्र रूपमा उठ्न थाले। स्थानीय असन्तोष क्रमशः विदेशीविरोधी आन्दोलनमा रूपान्तरित भयो। विशेषतः सन् १९७९ पछि विकसित आन्दोलनले बाहिरबाट बसोबास गर्न आएका समुदायहरूमाथि व्यापक सामाजिक, राजनीतिक र मनोवैज्ञानिक दबाब सिर्जना गर्यो। यद्यपि आन्दोलनको मूल लक्ष्य अवैध आप्रवासनको प्रश्न थियो, त्यसको प्रभाव दशकौँदेखि आसाममा बसोबास गर्दै आएका नेपाली समुदायमाथि पनि पर्यो। धेरै स्थानमा उनीहरूले असुरक्षा, सामाजिक विभेद, धम्की तथा भविष्यप्रतिको अनिश्चितताको सामना गर्नुपर्यो। पुस्तौँदेखि त्यहीँ बसेका, खेती गरेका र स्थानीय अर्थतन्त्रमा योगदान पुर्याएका नेपालीहरू समेत आफ्नो अस्तित्वबारे चिन्तित हुन थाले।
जब आफ्नो जीवन, सम्पत्ति र परिवारको सुरक्षा नै जोखिममा परेको अनुभूति भयो, धेरै नेपाली परिवारले अत्यन्त पीडादायी निर्णय गर्न बाध्य भए। उनीहरूले वर्षौँको मेहनतले बनाएका घर, खेतीपाती, व्यवसाय, सामाजिक सम्बन्ध र सम्झनाहरू त्यहीँ छोडेर पुनः नेपाल फर्कने बाटो रोजे। यो उनीहरूको जीवनको दोस्रो ठूलो विस्थापन थियो। उनीहरूले भौतिक सम्पत्ति मात्र गुमाएनन्; आफ्ना बाल्यकालका सम्झना, सामाजिक सम्बन्ध र पुस्तौँको परिश्रमले निर्माण गरेको जीवन पनि त्याग्नुपर्यो। विस्थापनको पीडा फेरि एकपटक उनीहरूको नियति बन्यो।
नेपाल फर्किएका ती परिवारहरूमध्ये उल्लेखनीय सङ्ख्याले मोरङको सिंघाडी बर्माटोललाई आफ्नो नयाँ बसोबासको केन्द्र बनाए। यसरी बर्माबाट आएका पहिलो पुनर्वासित परिवार र आसामबाट विस्थापित दोस्रो समूह एउटै गाउँमा एकाकार भए। उनीहरूको जन्मभूमि फरक थियो, विदेशको अनुभव फरक थियो, तर पीडाको भाषा एउटै थियो। दुवैले विदेशी भूमिमा संघर्ष गरेका थिए, दुवैले असुरक्षाका कारण आफ्नो बसोबास छोडेका थिए र दुवैले मातृभूमिलाई अन्तिम आश्रयका रूपमा रोजेका थिए। यही साझा अनुभवले उनीहरूबीच असाधारण आत्मीयता र विश्वासको सम्बन्ध निर्माण गर्यो।
यस कारण सिंघाडी बर्माटोल नेपालको पुनर्वास इतिहासमा एउटा विशिष्ट सामाजिक प्रयोगका रूपमा उभिएको छ। यहाँ एउटै गाउँले दुई फरक ऐतिहासिक विस्थापनका कथाहरूलाई एउटै सामाजिक स्मृतिमा रूपान्तरण गरेको छ। एउटा पुस्ताले बर्माबाट फर्किएर जंगललाई बस्तीमा बदल्यो भने अर्को पुस्ताले आसामबाट फर्किएर त्यस बस्तीलाई अझ समृद्ध सामाजिक संरचनामा विकसित गर्यो। उनीहरूको साझा परिचय कुनै क्षेत्रीय वा भौगोलिक सीमाले निर्धारण गरेको थिएन। त्यो संघर्ष, श्रम, सहनशीलता र मातृभूमिप्रतिको अटुट विश्वासले निर्माण गरेको थियो।
आज सिंघाडी बर्माटोलको सामाजिक इतिहास अध्ययन गर्दा स्पष्ट देखिन्छ कि यो गाउँ पुनर्वासित मानिसहरूको बसोबास स्थल मात्र होइन, यो नेपाली आप्रवासन, विस्थापन र पुनःस्थापनाको जीवित अभिलेख हो। बर्मा र आसामबाट आएका दुई पुस्ताले आफ्नो साझा पीडालाई साझा शक्तिमा रूपान्तरण गर्दै एउटा यस्तो समुदाय निर्माण गरे, जहाँ मातृभूमि केवल जन्मस्थानको अर्थमा सीमित रहेन, बरु सुरक्षा, सम्मान, पहिचान र नयाँ भविष्यको प्रतीक बन्यो। यही कारण सिंघाडी बर्माटोल नेपालको सामाजिक इतिहासमा पुनर्जन्म, सहअस्तित्व र सामुदायिक पुनर्निर्माणको अनुपम उदाहरणका रूपमा स्मरणीय रहन्छ।
वर्तमान सिंघाडी बर्माटोल : विकास, परिवर्तन र नयाँ चुनौतीहरू
करिब छ दशकअघि घना सखुवा जंगल फाँडेर स्थापना गरिएको सिंघाडी बर्माटोल आज भौतिक, सामाजिक र आर्थिक रूपान्तरणको एउटा उल्लेखनीय उदाहरण बनेको छ। पुनर्वासको प्रारम्भिक चरणमा आधारभूत आवश्यकतासमेत पूरा गर्न संघर्षरत यो गाउँले समयसँगै विकासको लामो यात्रा तय गरेको छ। आज गाउँसम्म सडक पुगेको छ, अधिकांश घरमा विद्युत् सेवा उपलब्ध छ, सञ्चार प्रविधिको पहुँच विस्तार भएको छ र दैनिक जीवन विगतको तुलनामा धेरै सहज बनेको छ। कक्षा ५ सम्म अध्ययन हुने लक्ष्मी आधारभूत विद्यालय, दुर्गा मन्दिर, दुईतले सामुदायिक भवन, पोल्ट्री फार्म, हार्डवेयर पसल, किराना व्यवसाय तथा अन्य साना उद्यमहरूले गाउँको आर्थिक र सामाजिक गतिविधिलाई गति दिएका छन्। आधुनिक निर्माण सामग्रीबाट बनेका पक्की घरहरूको सङ्ख्या पनि क्रमशः बढ्दो छ। यसले गाउँको भौतिक स्वरूपमा आएको परिवर्तनलाई स्पष्ट रूपमा देखाउँछ।
कृषि अझै पनि अधिकांश परिवारको प्रमुख जीविकोपार्जनको आधार हो। यद्यपि परम्परागत हलो र गोरुको स्थान विस्तारै ट्र्याक्टर तथा आधुनिक कृषि उपकरणहरूले लिन थालेका छन्। कृषि प्रणालीमा आएको यो परिवर्तनले उत्पादन प्रक्रियालाई सहज बनाएको भए पनि ग्रामीण श्रम संरचना र परम्परागत कृषि संस्कृतिमा नयाँ परिवर्तनहरू पनि ल्याएको छ। बजारसँगको पहुँच विस्तार भएपछि गाउँलेहरूको जीवनशैली, उपभोग संस्कृति र आर्थिक गतिविधिमा पनि उल्लेखनीय रूपान्तरण देखिएको छ।
तर विकाससँगै नयाँ चुनौतीहरू पनि देखा परेका छन्। गाउँका धेरै युवाहरू रोजगारी र उच्च आयको खोजीमा खाडी मुलुक, मलेसिया, दक्षिण कोरिया तथा अन्य देशहरूतर्फ वैदेशिक रोजगारीमा गएका छन्। यसले गाउँको जनसांख्यिक संरचनामा गम्भीर परिवर्तन ल्याएको छ। आज धेरै घरमा वृद्ध आमाबुबा, महिला र साना बालबालिका मात्र बस्ने अवस्था बढ्दै गएको छ। गाउँका सामाजिक, धार्मिक र सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दा सक्रिय जनशक्तिको अभाव महसुस हुन थालेको छ। विवाह, व्रतबन्ध, अन्त्येष्टि, मठमन्दिरको संरक्षण वा सामूहिक श्रमदानजस्ता परम्परागत सामाजिक कार्यमा सहभागी हुने युवा जनशक्ति क्रमशः घट्दै जानु ग्रामीण समाजका लागि नयाँ चुनौती बनेको छ।
यसका अतिरिक्त, आधुनिक शिक्षा, प्रविधि र शहरीकरणको प्रभावले नयाँ पुस्ताको जीवनशैलीमा पनि परिवर्तन ल्याएको छ। परम्परागत ज्ञान, स्थानीय इतिहास र सामुदायिक संस्कृतिप्रति युवाहरूको पहुँच क्रमशः कमजोर हुने चिन्ता पनि देखिन थालेको छ। यदि गाउँको ऐतिहासिक स्मृति, टुङघरको कथा, पुनर्वासको इतिहास तथा अग्रजहरूको संघर्षलाई व्यवस्थित रूपमा अभिलेखीकरण गरिएन भने भावी पुस्ताले आफ्नो मौलिक सामाजिक इतिहासबाट टाढिने सम्भावना रहन्छ। त्यसैले भौतिक विकाससँगै सांस्कृतिक सम्पदाको संरक्षण पनि आजको महत्त्वपूर्ण आवश्यकता बनेको छ।
यद्यपि यी चुनौतीहरूको बीचमा पनि सिंघाडी बर्माटोलको सबैभन्दा ठूलो शक्ति यसको सामाजिक पूँजी हो। गाउँलेहरूले आज पनि प्रत्येक वर्ष नवरात्रभर दुर्गा मन्दिरमा नियमित पूजाआजा, भजन–कीर्तन, धार्मिक प्रवचन, मेला तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएका छन्। घरघरमा साप्ताहिक भजन कीर्तन गर्ने परम्परा अझै जीवित छ। गाउँमा कसैको सुख–दुःख, विवाह, व्रतबन्ध, जन्म, मृत्यु वा अन्य सामाजिक कार्यमा सबैले मिलेर सहयोग गर्ने संस्कार आज पनि कायम छ। यही परस्पर सहयोग, आत्मीयता र सामुदायिक उत्तरदायित्वले गाउँको सामाजिक जीवनलाई सुदृढ बनाइरहेको छ।
वास्तवमा, सिंघाडी बर्माटोलको वर्तमान अवस्था नेपालका धेरै पुनर्वास बस्तीहरूको साझा यथार्थको प्रतिनिधित्व गर्दछ। एकातिर विकासका नयाँ अवसरहरू छन् भने अर्कोतिर युवा पलायन, जनशक्ति अभाव र सांस्कृतिक निरन्तरताका चुनौतीहरू पनि उत्तिकै गम्भीर छन्। यद्यपि यस गाउँको ऐतिहासिक अनुभवले एउटा महत्त्वपूर्ण शिक्षा दिन्छ,कुनै पनि समुदायको दीर्घकालीन शक्ति सडक, भवन वा भौतिक पूर्वाधारमा मात्र सीमित हुँदैन; त्यो समुदायभित्र रहेको विश्वास, सहकार्य, साझा स्मृति र सामाजिक एकतामा निहित हुन्छ। यही सामाजिक पूँजीले सिंघाडी बर्माटोललाई विगतमा संघर्ष गर्न शक्ति दियो, वर्तमानमा पहिचान जोगाइरहेको छ र भविष्यतर्फ पनि आशावादी भएर अघि बढ्ने आधार प्रदान गरिरहेको छ।
टुङघरको सांस्कृतिक अर्थ: स्मृति, पहिचान र सामुदायिक सभ्यताको प्रतीक
सिंघाडी बर्माटोलको टुङघरलाई काठले बनेको अग्लो संरचना वा ग्रामीण वास्तुकलाको एउटा नमुनाका रूपमा मात्र बुझ्नु यसको ऐतिहासिक, सामाजिक र सांस्कृतिक महत्त्वलाई सीमित गर्नु हो। टुङघर एउटा भौतिक संरचनाभन्दा धेरै ठूलो अवधारणा हो। यसले एउटा समुदायको संघर्ष, विस्थापन, पुनर्स्थापना, सामूहिक चेतना र आत्मनिर्भर जीवनदर्शनलाई एकैसाथ प्रतिनिधित्व गर्दछ। कुनै पनि सभ्यतामा केही संरचनाहरू समयसँगै स्मृतिका प्रतीक बन्छन्। सिंघाडी बर्माटोलका लागि टुङघर त्यस्तै एउटा जीवित स्मारक हो, जसले गाउँको सामूहिक इतिहासलाई पुस्तादरपुस्ता जोडेर राखेको छ।
टुङघर सर्वप्रथम स्मृतिको स्तम्भ हो। यसले बर्मा र आसामबाट स्वदेश फर्किएका नेपालीहरूको कठिन यात्रा, उनीहरूले भोगेको विस्थापन, जंगल फाँडेर नयाँ बस्ती बसाल्दाको अथक परिश्रम तथा आत्मसम्मानका लागि गरेको संघर्षलाई मौन रूपमा सम्झाइरहन्छ। इतिहास केवल लिखित दस्तावेजमा सीमित हुँदैन; त्यो मानिसले निर्माण गरेका प्रतीक, स्मारक र सामुदायिक संरचनाहरूमा पनि सुरक्षित रहन्छ। यस अर्थमा टुङघर गाउँको सामूहिक स्मृतिको भौतिक अभिव्यक्ति हो।
टुङघर विस्थापनबाट पुनर्जन्मको प्रतीक पनि हो। बर्मा र आसाममा स्थापित जीवन छोडेर मातृभूमि फर्किएका नेपालीहरूले शून्यबाट नयाँ जीवन सुरु गरेका थिए। उनीहरूका लागि टुङघर नयाँ आशा, नयाँ सुरुवात र नयाँ भविष्यप्रतिको विश्वासको प्रतीक थियो। जंगलको बीचमा उभिएको टुङघरले मानौँ एउटा सन्देश दिन्थ्यो—विपत्ति स्थायी हुँदैन, सामूहिक सङ्कल्पले नयाँ सभ्यता निर्माण गर्न सक्छ।
यसले सामूहिक सुरक्षाको दर्शन पनि प्रतिविम्बित गर्दछ। आधुनिक प्रहरी चौकी, सञ्चार प्रणाली वा प्रशासनिक संरचना नपुगेको समयमा गाउँको सुरक्षाको सम्पूर्ण जिम्मेवारी समुदाय आफैँले वहन गरेको थियो। टुङघर त्यस आत्मनिर्भर सुरक्षा प्रणालीको केन्द्र थियो। यहाँ सुरक्षा बाह्य खतराबाट बच्ने उपाय मात्र थिएन; यो एकअर्काप्रतिको विश्वास, पारस्परिक उत्तरदायित्व र सामूहिक सतर्कताको संस्कार पनि थियो। यस अर्थमा टुङघरले “मेरो सुरक्षा हाम्रो सुरक्षा हो” भन्ने सामाजिक दर्शनलाई व्यवहारमा रूपान्तरण गरेको थियो।
टुङघरलाई नेपाली पुनर्वास नीतिको जीवित अभिलेख पनि भन्न सकिन्छ। वि.सं. २०२० को दशकमा बर्माबाट फर्किएका नेपालीहरूलाई पुनर्वास गर्ने राष्ट्रिय अभियान केवल प्रशासनिक कार्यक्रम थिएन; त्यो राष्ट्रले आफ्ना नागरिकप्रति निर्वाह गरेको ऐतिहासिक दायित्व पनि थियो। टुङघरले त्यस पुनर्वास प्रक्रियाको सामाजिक आयामलाई मूर्त रूप दिएको छ। यसले देखाउँछ कि पुनर्वास समुदाय निर्माण, विश्वासको पुनर्स्थापना र साझा भविष्यको निर्माण नै पुनर्वासको वास्तविक सफलता हो।
अझ गहिरो अर्थमा टुङघर साझा दुःखलाई साझा शक्तिमा रूपान्तरण गर्ने सामुदायिक चेतनाको प्रतीक हो। बर्मा र आसामबाट आएका परिवारहरूको भाषा, बोली वा व्यक्तिगत अनुभव फरक हुन सक्थ्यो, तर उनीहरूको साझा पीडा एउटै थियो। टुङघरले ती सबै अनुभवलाई एउटै सामाजिक पहिचानमा बाँध्ने कार्य गर्यो। यसले व्यक्तिलाई समुदायसँग, समुदायलाई इतिहाससँग र इतिहासलाई भविष्यसँग जोड्ने सांस्कृतिक सेतुका रूपमा भूमिका निर्वाह गर्यो।
राज्यको औपचारिक प्रशासन, प्रहरी संरचना, सञ्चार सेवा र विकासका पूर्वाधार गाउँसम्म नपुगेको समयमा गाउँलेहरूले आफ्नै सामूहिक बुद्धिमत्ता र श्रमका आधारमा टुङघरमार्फत स्थानीय संस्थागत व्यवस्था विकास गरेका थिए। यही कारण टुङघर ग्रामीण स्वशासन , सामाजिक पूँजी र सामुदायिक लचकताको उत्कृष्ट उदाहरण मान्न सकिन्छ। यसले प्रमाणित गर्दछ कि संगठित समुदायले सीमित स्रोतका बाबजुद पनि आफ्ना आवश्यकता पूरा गर्ने प्रभावकारी सामाजिक संस्था निर्माण गर्न सक्छ।
आज टुङघरको मूल भौतिक संरचना विगतको स्वरूपमा नरहे पनि यसको सांस्कृतिक अर्थ अझै जीवित छ। यसको कथा गाउँका अग्रजहरूको स्मृतिमा, सामाजिक संस्कारमा, भजनकीर्तनमा, सामूहिक श्रमदानमा र गाउँलेहरूको साझा पहिचानमा सुरक्षित रहेको छ। त्यसैले टुङघरलाई संरक्षण गर्नु भनेको एउटा पुरानो भवन जोगाउनु मात्र होइन; नेपाली पुनर्वास इतिहास, विस्थापनको सामूहिक स्मृति, ग्रामीण सभ्यता र सामाजिक एकताको अमूल्य सम्पदालाई भावी पुस्ताका लागि सुरक्षित राख्नु हो। इतिहासका यस्ता प्रतीकहरू हराए भने एउटा संरचना मात्र हराउँदैन; त्यससँगै एउटा समुदायको आत्मकथा, संघर्षको विरासत र राष्ट्रनिर्माणको मौन अध्याय पनि ओझेलमा पर्न सक्छ। त्यसैले टुङघर सिंघाडी बर्माटोलको मात्र होइन, नेपाली पुनर्वास इतिहास र सामुदायिक सभ्यताको एक अद्वितीय सांस्कृतिक धरोहरका रूपमा अध्ययन, संरक्षण र सम्मानयोग्य सम्पदा हो।
निष्कर्ष
सिंघाडी बर्माटोलको विश्वव्यापी आप्रवासन, विस्थापन, राष्ट्रिय पुनर्वास र सामुदायिक पुनर्निर्माणको नेपाली अध्याय हो।
बर्माबाट फर्किएका नेपालीहरूले आफ्नो सम्पत्ति गुमाए, तर आत्मसम्मान गुमाएनन्। उनीहरूले जंगललाई बस्तीमा, बस्तीलाई समाजमा र समाजलाई संस्कृतिमा रूपान्तरण गरे। टुङघर त्यस रूपान्तरणको मौन साक्षी बन्यो।
आज जब विश्वभर शरणार्थी, आप्रवासन र विस्थापनका प्रश्नहरू पुनः गम्भीर बन्दै गएका छन्, सिंघाडी बर्माटोलको अनुभवले एउटा शिक्षा दिन्छ—मानिसको वास्तविक घर भौगोलिक सीमा मात्र होइन; साझा स्मृति, पारस्परिक विश्वास र सामुदायिक एकताले निर्माण गरेको सामाजिक संसार हो।यस कारण सिंघाडी बर्माटोलको इतिहास स्थानीय इतिहास मात्र होइन। यो नेपाली राष्ट्रनिर्माण, पुनर्वास नीति र सामाजिक सहनशीलताको अमूल्य सम्पदा हो। यसका अभिलेख, मौखिक इतिहास, टुङघरको स्मृति र अग्रजहरूको अनुभवलाई व्यवस्थित रूपमा संरक्षण गर्नु आजको पुस्ताको ऐतिहासिक दायित्व हो। किनकि स्मृति सुरक्षित रह्यो भने मात्र इतिहास जीवित रहन्छ, र इतिहास जीवित रह्यो भने मात्र भविष्यले आफ्नो पहिचान सुरक्षित राख्न सक्छ।


