मोरङको मिक्लाजुङमा बेवारिसे अवस्थामा दुई थान भरुवा बन्दुक बरामद
विराटनगर, साउन २० । मोरङको मिक्लाजुङ गाउँपालिका–३ स्थित कोइली सामुदायिक वनबाट प्रहरीले बेवारिसे अवस्थामा दुई थान भरुवा बन्दुक बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साउन २० गते इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी गस्ती टोलीले वनभित्र शङ्कास्पद अवस्थामा रहेको प्लास्टिकको बोरा फेला पारी जाँच गर्दा दुई थान भरुवा बन्दुक, ती बन्दुकमा प्रयोग हुने धातुको किट (टुक्रा) दुई थान तथा ३२ ग्राम २५० मिलिग्राम बारुद बरामद गरेको हो।
बरामद गरिएका सामग्रीलाई कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।


