मापसे गरी चलाएको ट्याङ्करको ठक्करबाट ई–रिक्सामा सवार ९ जना घाइते
वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२४ बहुअरी चोकस्थित हुलाकी सडकखण्डमा ग्यास ट्याङ्करले ई–रिक्सालाई पछाडिबाट ठक्कर दिँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
बुधबार राति करिब ८ बजे पावरहाउसबाट तिलावे पुलतर्फ जाँदै गरेको ना २ ह ६६८२ नम्बरको ई–रिक्सालाई सोही दिशाबाट आएको RJ 14 GE 8710 नम्बरको ग्यास ट्याङ्करले पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनापछि ट्याङ्कर चालक घटनास्थलबाट फरार भएका थिए।
दुर्घटनामा घाइते भएका ९ जनामध्ये ६ जनाको अवस्था गम्भीर र ३ जनाको अवस्था मध्यम रहेको छ। सबै घाइतेको उद्धार गरी वीरगञ्जस्थित नारायणी न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनापछि फरार भएका ग्यास ट्याङ्कर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्ने चालक भारतको बिहार राज्य, मुजफ्फरपुर जिल्लाको साहेबगञ्ज निवासी अन्दाजी ४८ वर्षीय धनेश्वर राय रहेका छन्।
प्रहरीका अनुसार स्वास्थ्य परीक्षणका क्रममा चालकले मादक पदार्थ सेवन गरेको पुष्टि भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


