पेट्रोलियम ट्याङ्करबाट तेल चोरी गरी बिक्री गर्ने आरोपमा सात जना पक्राउ
पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१४ बाइपास सडकखण्डमा आईसीपी जाँचपास गरी नेपाल प्रवेश गरेका पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट अनाधिकृत रूपमा तेल चोरी गरी बिक्री–वितरण गर्ने कार्यमा संलग्न सात जनालाई प्रहरीले दुई वटा ट्याङ्करसहित पक्राउ गरेको छ।
प्रहरीका अनुसार बिहीबार साँझ करिब ५:१० बजे वीरगञ्ज–१४ स्थित सौदागर आयल सेन्टरमा ना.७ ख १५३९ नम्बरको पेट्रोलियम ट्याङ्करमा जडान गरिएको सिल फलामको पाइपको हुक प्रयोग गरी उचालेर अनाधिकृत रूपमा तेल निकालिरहेको अवस्थामा उनीहरूलाई रंगेहात पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा पेट्रोल पम्प सञ्चालक वीरगञ्ज–३ मालपोत चोकका ५५ वर्षीय सुनैन मियाँ, पम्पमा लेखा हेर्ने वीरगञ्ज–१५ लक्ष्मणवाका २३ वर्षीय असलम हवारी, क्यासियर वीरगञ्ज–११ श्रीपुरका २१ वर्षीय रफिक मियाँ रहेका छन्।
यस्तै, ना.७ ख २८०४ नम्बरको ट्याङ्करका चालक मकवानपुर हेटौडा उपमहानगरपालिका–१० का ४६ वर्षीय केशर राम सुनार र सहचालक हेटौडा–११ का २० वर्षीय सन्देश राना मगर, साथै ना.७ ख १५३९ नम्बरको ट्याङ्करका चालक हेटौडा–१४ का ५० वर्षीय मन्द सिंह लामा र सहचालक सोही स्थानका २७ वर्षीय उमेश राना मगरलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


