विराटनगरमा १४ ग्राम २७० मिलिग्राम खैरो हेरोइन सहित दुई जना पक्राउ
विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१५ स्थित सुनसरी आयल्स ट्रेडर्स अगाडि प्रहरीले १४ ग्राम २७० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार दिउँसो करिब २:०० बजे इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेको प्रदेश १–०२–०५३ प २६७ नम्बरको स्कुटर जाँच गर्ने क्रममा लागूऔषध बरामद गरेको हो।
पक्राउ पर्नेमा भारत, बिहार राज्य, अररिया जिल्ला, जोगवनी थाना निवासी २२ वर्षीय साहिल पाण्डे र मोरङको बेलबारी नगरपालिका–११ निवासी ५३ वर्षीय प्रकाश राई रहेका छन्।
प्रहरीले साहिल पाण्डेको साथबाट १४ ग्राम २७० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला पारेपछि दुवै जनालाई स्कुटरसहित नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


