शिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु, ६ जना पक्राउ
सल्यान । सल्यानमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट चलेको गोली लागेर एक जनाको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकसँगै शिकार खेल्न गएका ६ जनालाई पक्राउ गरेको छ।
कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा साउन २२ गते कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगरसहित केही व्यक्ति शिकार खेल्न गएका थिए।
शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट अचानक गोली चलेर पुन मगरको पेटको तल्लो भाग तथा कम्मरमा लागेको थियो। गोली लागेर गम्भीर घाइते भएका पुन मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय कालिमाटी, सल्यानबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटनाको अनुसन्धानका क्रममा प्रहरीले उनीसँगै शिकार खेल्न गएका ६ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कालिमाटी गाउँपालिका–३ बल्लेका ५६ वर्षीय मानबहादुर विक, सोही स्थानका ४३ वर्षीय जुद्रबहादुर रेउले, ३२ वर्षीय खुमेन्द्रबहादुर रेउले, ३५ वर्षीय सेईतराम थापा र ५९ वर्षीय कुलबहादुर बुढाथोकी तथा कालिमाटी गाउँपालिका–२ बराहडुंगाका ७२ वर्षीय पदमबहादुर श्रीस मगर रहेका छन्।
पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिएर घटनाको प्रकृति तथा गोली चल्नुको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


