अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका–१० बानेश्वरबाट अनलाइन सट्टेबाजी तथा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार साउन २१ गते राति करिब ९ बजे प्रहरी टोलीले बानेश्वर क्षेत्रमा शंकास्पद अवस्थामा रहेका उनीहरूलाई चेकजाँच गर्ने क्रममा अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको खुलेपछि नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उनीहरूले 1xBet एप्लिकेसन मार्फत सट्टेबाजी गर्ने तथा गराउने क्रममा २ लाख ६ हजार रुपैयाँभन्दा बढीको कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
त्यसैगरी, उनीहरूले USDT लगायतका क्रिप्टोकरेन्सीमा ७९ हजार ६८.६५ USDT, अर्थात् नेपाली रुपैयाँ १ करोड २० लाख ५१ हजार ८८१ रुपैयाँ १० पैसा बराबरको कारोबार गरेको पाइएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट १ हजार ५०१.३२ USDT, अर्थात् नेपाली रुपैयाँ २ लाख २८ हजार ८३५ रुपैयाँ ७० पैसा बराबरको क्रिप्टोकरेन्सी मौज्दातसमेत फेला परेको छ।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट पाँच थान मोबाइल फोन पनि बरामद गरेको छ।
पक्राउ पर्नेमा कपिलवस्तुको वाणगंगा नगरपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्ने ३० वर्षीय नविन पौडेल, सोही स्थानका १९ वर्षीय राहुल बेल्वासे र २८ वर्षीय रविन बेल्वासे रहेका छन्।
उनीहरूविरुद्ध सट्टेबाजी गर्न तथा गराउन नहुने र अभौतिक मुद्राको कारोबार गर्न नहुनेसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।


