क्यानडा पठाइदिने भन्दै ३७ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ
काठमाडौँ । क्यानडामा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३७ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काभ्रेपलाञ्चोकका एक जनालाई काठमाडौँबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ का ४२ वर्षीय अच्युत दुलाल रहेका छन्।
वैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी जारी भएपछि दुलाललाई साउन २४ गते काठमाडौँको गोकर्णेश्वर नगरपालिकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुलालले क्यानडामा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै एक जना पीडितबाट ३७ लाख रुपैयाँ लिएको आरोप छ। सोही घटनामा वैदेशिक रोजगार विभागले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
पक्राउ परेका दुलाललाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ।

