लागूऔषध सहित मोरङ, सुनसरी र झापाबाट १० जना पक्राउ
विराटनगर, साउन २४ गते । मोरङ, सुनसरी र झापाका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट ठूलो परिमाणमा गाँजा र ब्राउन सुगर बरामद गरेको जनाएको छ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–१, गुप्तबराहस्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले साउन २३ गते बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेको प्र.१–०२–००२ च ४८५१ नम्बरको कार र को ११ प ५६०१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा ४१८ किलो गाँजा बरामद गरेको थियो।
कारभित्र २२ वटा प्लास्टिकका पोकामा लुकाएर राखिएको गाँजासहित प्रहरीले कार चालक धरान उपमहानगरपालिका–१३ का ३४ वर्षीय थमन राई, कारमा सवार ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–५ का २२ वर्षीया जिवनी राई तथा मोटरसाइकल चालक मोरङको कटहरी गाउँपालिका–३ का २६ वर्षीय अमर कामत र पछाडि सवार सोही स्थानका ३८ वर्षीय शंकर चौधरीलाई पक्राउ गरेको हो।
यसैगरी, सुनसरीको धरान उपमहानगरपालिका–११ स्थित रिटिङ टोलमा अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको टोलीले ९३० मिलिग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान–११ का ३२ वर्षीय उमेश कार्की र ३३ वर्षीय रुद्र मगर तथा धरान–१६ की २४ वर्षीया स्वास्तिका गुरुङ रहेका छन्।
यस्तै, मोरङको विराटनगर महानगरपालिका–१५, मण्ठा पोखरीबाट प्रहरीले १०० ग्राम ६०० मिलिग्राम ब्राउन सुगरसहित विराटनगर–१५ का ३१ वर्षीय मोहमद हुसेनलाई पक्राउ गरेको छ। उनलाई इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो।
झापाको मेचीनगर नगरपालिका–८, सरस्वती टोलमा पनि प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको टोलीले ईटाभट्टाबाट धुलाबारीतर्फ जाँदै गरेको प्र.१–०१–००२ ह ३५६९ नम्बरको सिटी सफारी जाँच गर्ने क्रममा ५३ ग्राम ४४० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो।
उक्त घटनामा सिटी सफारी चालक मोरङको पथरी शनिश्चरे नगरपालिका–५ का २५ वर्षीय गणेश चौधरी र झापाको मेचीनगर नगरपालिका–११, धुलाबारीका २३ वर्षीय सोमनाथ राजवंशी पक्राउ परेका छन्।
पक्राउ परेका सबैमाथि सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

