मोरङको लेटाङ वारांगीमा आगलागी, किराना पसल सहित घर जलेर नष्ट
लेटाङ । मोरङको लेटाङ नगरपालिका–७, वारांगीमा आइतबार आगलागी हुँदा किराना पसल तथा होटल सञ्चालन हुँदै आएको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।
स्थानीयका अनुसार टीका धितालले सञ्चालन गर्दै आएको ‘चेल्सिया एण्ड ट्रेडर्स’ किराना पसल तथा होटलमा आगलागी भएको हो। धितालले फमकुमार मगरको घर भाडामा लिएर व्यवसाय सञ्चालन गर्दै आएका थिए।
आगलागीबाट पसल तथा होटलमा रहेका खाद्यान्न, फर्निचरलगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएको बताइएको छ। आगोले घरको संरचनामा समेत ठूलो क्षति पुर्याएको स्थानीयले बताएका छन्। घटनाबाट धितालको व्यवसायमा ठूलो आर्थिक क्षति भएको अनुमान गरिएको छ।
प्रारम्भिक जानकारीअनुसार विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने आशंका गरिएको छ। यद्यपि आगलागीको वास्तविक कारण भने अनुसन्धानपछि मात्रै खुल्नेछ।
स्थानीयवासी तथा सम्बन्धित निकायको सहयोगमा आगो नियन्त्रणमा लिइएको बताइएको छ। घटनामा मानवीय क्षति भए/नभएको तथा भएको क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ।

