माइक्रोबस पल्टिँदा ६ जना घाइते
कावासोती । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका–१६, पत्थर खोलाको पुलनजिक माइक्रोबस अनियन्त्रित भई पल्टिँदा ६ जना घाइते भएका छन्।
नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु.प्र. ०१–००१ ज १००० नम्बरको माइक्रोबस (ईभी हाइस) अगाडिको बायाँतर्फको टायर पन्चर भएपछि अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ।
दुर्घटनाका समयमा माइक्रोबसमा चालक र सहचालकसहित ७ जना सवार थिए। दुर्घटनामा चालकसहित ६ जना घाइते भएका छन्।
घाइते हुनेमा कावासोती नगरपालिका–८ का २७ वर्षीय चालक होरामणी महतो, कावासोती–३ का ७४ वर्षीय सुरेश कुँवर र उनकी ६२ वर्षीया श्रीमती लालकुमारी कुँवर रहेका छन्।
त्यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ का ४५ वर्षीय धनराज बुढा, वीरेन्द्रनगर–६ का ३६ वर्षीय बलबहादुर बुढा र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सरावल गाउँपालिका–३ का ५५ वर्षीय बिधासागर लोना चमार पनि घाइते भएका छन्।
घाइते सबैको मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको छ। चालक होरामणी महतो भने कालीगण्डकी अस्पतालमा उपचारपछि प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ।
दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

