मानसिक तनाव, एक्लोपन र उद्देश्यहीनताबाट ग्रसित मानव जगत
तोमनाथ उप्रेती । आधुनिक संसारले मानिसलाई बाहिरी उपलब्धिमा केन्द्रित बनाएको छ। ऊ कति कमायो, कति सफल भयो, कति प्रसिद्ध भयो भन्ने कुराले उसको मूल्य निर्धारण हुन थालेको छ। तर यस प्रक्रियामा “म को हुँ?” भन्ने मूल प्रश्न हराउँदै गएको छ। यही प्रश्नको अनुपस्थितिले आत्मबोध कमजोर बनाएको छ।आजको मानिस बाहिरी संसार बुझ्न दौडिन्छ, भित्री संसारबाट टाढा हुन्छ। परिणामस्वरूप ऊ निरन्तर तुलना, ईर्ष्या र असन्तोषमा बाँच्छ।यो मौन दरिद्रता आवाजविहीन हुन्छ। बाहिरबाट सामान्य जीवन देखिन्छ, तर भित्र गहिरो असन्तुलन हुन्छ। आत्मपहिचान बिना जीवन दिशाहीन यात्रा बन्छ। त्यसैले मानिसको वास्तविक समृद्धि आत्मबोधमा छ, बाहिरी सम्पत्तिमा होइन।
मानिसले इतिहासभरि गरिबीलाई प्रायः धनको अभावसँग जोडेर हेरेको छ। जसको घर छैन, जसको बैंक खातामा रकम छैन, जसको हातमा स्रोत र साधन छैन, उसलाई गरिब भनिएको छ। तर मानव सभ्यताको गहिरो अध्ययन गर्दा एउटा फरक सत्य देखिन्छ। संसारका धेरै दुःख, धेरै हिंसा, धेरै अन्याय र धेरै अशान्तिको मूल कारण धनको अभाव मात्र होइन। मूल कारण आत्मबोधको अभाव हो। मानिस आफू को हो भन्ने कुरा नबुझ्नु नै उसको सबैभन्दा ठूलो गरिबी हो।
प्राचीन ग्रीक दार्शनिक सुकरातले भनेका थिए, “आफ्नो जीवनलाई नबुझी बाँचेको जीवनको कुनै मूल्य हुँदैन।” यो भनाइ मानव अस्तित्वको आधारभूत सत्य हो। मानिसले संसारका वस्तुहरूबारे धेरै ज्ञान प्राप्त गर्न सक्छ। उसले विज्ञान सिक्न सक्छ। प्रविधि विकास गर्न सक्छ। ग्रहहरूको अध्ययन गर्न सक्छ। तर यदि उसले आफ्नै चेतनाको अध्ययन गरेन भने उसका सबै उपलब्धिहरू अधुरा रहन्छन्।धनको अभावले मानिसलाई केही सुविधा प्राप्त गर्न कठिन बनाउँछ। तर आत्मबोधको अभावले उसलाई आफूबाटै टाढा बनाउँछ। धन गुमे पनि पुनः कमाउन सकिन्छ। पद गुमे पनि फेरि प्राप्त गर्न सकिन्छ। तर आफूलाई नै गुमाएको मानिसले संसार जितेर पनि केही प्राप्त गर्दैन। ऊ बाहिर सम्पन्न देखिएला, तर भित्रबाट खाली रहन्छ।
अल्बर्ट आइन्स्टाइनले मानव जीवनको उद्देश्यलाई व्यक्तिगत सफलतामा मात्र सीमित गर्नुभएको थिएन। उहाँका अनुसार मानिस एउटा विशाल समग्रताको अंश हो।जबसम्म मानिस आफ्नो सानो स्वार्थको घेराभित्र कैद रहन्छ, तबसम्म ऊ स्वतन्त्र हुँदैन। यो विचार वैज्ञानिक भाषामा व्यक्त गरिएको आध्यात्मिक सत्य हो।पूर्वीय दर्शनले हजारौँ वर्षदेखि यही कुरा दोहोर्याउँदै आएको छ। उपनिषद्मा आत्मज्ञानलाई सबै ज्ञानको शिखर मानिएको छ। त्यहाँ भनिएको छ कि जसले आफूलाई चिनेको छ, उसले सम्पूर्ण ब्रह्माण्डलाई चिनेको छ। किनभने मानव चेतना र विश्वचेतना अलग छैनन्। भिन्न देखिए पनि तिनको स्रोत एउटै छ।
नोबेल शान्ति पुरस्कार विजेता दलार्इ लामाले बारम्बार एक कुरा दोहोर्याउनुभएको छ। मानिसले बाहिरी विकासलाई मात्र प्राथमिकता दिएको छ। भित्री विकासलाई बिर्सिएको छ। परिणामस्वरूप संसारमा सुविधा बढेको छ, तर सन्तुष्टि घटेको छ। भवन अग्ला भएका छन्। तर दृष्टिकोण साँघुरो भएको छ। साधन धेरै भएका छन्। तर उद्देश्य हराएको छ।
धनको वास्तविक मूल्य तब मात्र हुन्छ जब त्यसलाई प्रयोग गर्ने चेतना विकसित हुन्छ। चेतना नभएको धन शक्ति होइन, खतरा बन्न सक्छ। इतिहासमा धेरै युद्ध धनी मानिसहरूले नै गरेका छन्। धेरै शोषण सम्पन्न समाजहरूले नै गरेका छन्। यसको कारण गरिबी थिएन। यसको कारण आत्मबोधको अभाव थियो। जब मानिसले आफूलाई केवल शरीर, पद वा सम्पत्तिसँग मात्र पहिचान गर्छ, तब उसमा लोभ, अहंकार र प्रतिस्पर्धा बढ्छ। जब उसले आफूलाई व्यापक चेतनाको अंशका रूपमा अनुभव गर्छ, तब करुणा, सेवा र सहअस्तित्व जन्मिन्छ।आजको संसारमा मानिससँग असीमित सूचना छ। तर आत्मबोध कम छ। इन्टरनेटले जानकारी दिएको छ। तर ज्ञान दिएको छैन। सामाजिक सञ्जालले सम्पर्क बढाएको छ। तर आत्मीयता बढाएको छैन। प्रविधिले दूरी घटाएको छ। तर मनहरूबीचको दूरी बढाएको छ। यही कारण आधुनिक युगमा भौतिक समृद्धि बढ्दै जाँदा पनि मानसिक अशान्ति बढिरहेको छ।
आत्मबोध आफूभित्र हेर्ने क्षमता हो। आफ्ना कमजोरी स्वीकार गर्ने साहस हो। आफ्ना भ्रमहरूलाई चिन्ने विवेक हो। आफ्नो अहंकारभन्दा माथि उठ्ने अभ्यास हो। आत्मबोधले मानिसलाई बाहिरी उपलब्धिभन्दा भित्री मूल्यतर्फ लैजान्छ। त्यसले सोध्छ म के कमाएँ भन्ने होइन, म के बनेँ ?विश्वप्रसिद्ध मनोवैज्ञानिक कार्ल युंगले मानिसको सबैभन्दा ठूलो चुनौती बाहिरी संसारसँग होइन, आफ्नै छायाँसँग हुने बताउनुभएको थियो। मानिस प्रायः अरूलाई बदल्न खोज्छ। तर आफूलाई बुझ्न चाहँदैन। यही कारण उसका धेरै संघर्षहरू अन्ततः आत्मसंघर्षमा परिणत हुन्छन्।
धनले घर बनाउन सक्छ। तर शान्ति बनाउन सक्दैन। धनले औषधि किन्न सक्छ। तर स्वास्थ्यको ग्यारेन्टी दिन सक्दैन। धनले मनोरञ्जन दिन सक्छ। तर आनन्द दिन सक्दैन। धनले मानिसहरूलाई वरिपरि जम्मा गर्न सक्छ। तर सच्चा सम्बन्ध सिर्जना गर्न सक्दैन। यी सबै कुरा आत्मबोधबाट जन्मिन्छन्।
आज विश्वका धेरै विकसित राष्ट्रहरूमा भौतिक सम्पन्नता उच्च छ। तर मानसिक तनाव, एक्लोपन र उद्देश्यहीनताको समस्या पनि बढ्दो छ। यसले एउटा गम्भीर प्रश्न उठाउँछ। यदि धन नै अन्तिम समाधान हो भने सम्पन्न समाजहरू किन अशान्त छन् ? उत्तर स्पष्ट छ। मानिसको जीवन केवल आर्थिक प्राणीको जीवन होइन। ऊ चेतनशील प्राणी हो। उसको भोक पेटको मात्र होइन। उसको भोक अर्थ, उद्देश्य र आत्मपहिचानको पनि हो।
आत्मबोधले मानिसलाई आफ्ना सीमित पहिचानहरूभन्दा माथि उठ्न सिकाउँछ। ऊ जातभन्दा ठूलो हुन्छ। धर्मभन्दा ठूलो हुन्छ। राष्ट्रभन्दा ठूलो हुन्छ। तब उसले मानवतालाई केन्द्रमा राख्छ। यही चेतनाबाट शान्ति सम्भव हुन्छ। यही चेतनाबाट न्याय सम्भव हुन्छ। यही चेतनाबाट दिगो सभ्यता सम्भव हुन्छ।
संसारका महान् सन्त, दार्शनिक, वैज्ञानिक र विचारकहरू फरक भाषा बोल्थे। फरक संस्कृति प्रतिनिधित्व गर्थे। तर उनीहरूको निष्कर्ष प्रायः एउटै थियो। मानिसले आफूलाई चिन्नुपर्छ। बाहिरी यात्राभन्दा भित्री यात्रा महत्त्वपूर्ण छ। बाहिरी विजयभन्दा आत्मविजय ठूलो छ।
गरिबी चेतनाको अवस्था हो। धन नभएको मानिसले पनि सम्मान, आनन्द र आत्मगौरवका साथ जीवन बिताउन सक्छ। तर आत्मबोध नभएको मानिसले सम्पूर्ण संसारको सम्पत्ति पाएर पनि भित्रको रिक्तता भर्न सक्दैन। त्यसैले मानव जीवनको वास्तविक समृद्धि सम्पत्तिमा होइन, आत्मज्ञानमा छ। मानिसको सबैभन्दा ठूलो गरिबी धनको होइन, आत्मबोधको अभाव हो। जब आत्मबोध जाग्छ, तब भित्रको गरिबी समाप्त हुन्छ। र त्यही क्षणबाट वास्तविक सम्पन्नताको यात्रा सुरु हुन्छ।
-उपसचिव,नेपाल सरकार


