नैतिक व्यक्तित्व देखि नैतिक सभ्यता सम्म: कर्मयोगको समकालीन सान्दर्भिकता
तोमनाथ उप्रेती । एक्काइसौँ शताब्दी विज्ञान, कृत्रिम बुद्धिमत्ता, जैविक प्रविधि र डिजिटल क्रान्तिको युग हो। मानव सभ्यताले अभूतपूर्व भौतिक उन्नति हासिल गरेको छ। उत्पादन क्षमता बढेको छ, सञ्चारको दूरी समाप्तप्रायः भएको छ, ज्ञानको पहुँच विश्वव्यापी बनेको छ र आर्थिक अन्तरनिर्भरता तीव्र भएको छ। तर यही युगमा नैतिक संकट पनि उत्तिकै गहिरिँदै गएको छ। भ्रष्टाचार, हिंसा, सामाजिक असमानता, उपभोक्तावाद, पर्यावरणीय विनाश, मानसिक तनाव, सामाजिक ध्रुवीकरण र उत्तरदायित्वहीनताको विस्तारले मानव सभ्यतालाई नयाँ चुनौतीहरू सामना गर्न बाध्य बनाएको छ। यस्तो अवस्थामा प्रश्न उठ्छ प्रविधिले सम्पन्न तर नैतिक रूपमा कमजोर समाजलाई वास्तवमै सभ्य भन्न सकिन्छ त?
सभ्यता मानवीय मूल्य, सामाजिक न्याय, उत्तरदायित्व, सहअस्तित्व र नैतिक चेतनाको समष्टिगत अभिव्यक्ति पनि हो। त्यसैले समकालीन समाजलाई आर्थिक समृद्धिका साथै नैतिक पुनर्जागरणको पनि आवश्यकता छ। यही सन्दर्भमा कर्मयोग पुनः अत्यन्त सान्दर्भिक दर्शनका रूपमा उभिएको छ। कर्मयोगले मानिसलाई कर्मबाट पलायन होइन, कर्तव्यमा समर्पण सिकाउँछ, स्वार्थ होइन, लोककल्याणको मार्ग देखाउँछ, अधिकारभन्दा पहिले उत्तरदायित्वको बोध गराउँछ। व्यक्तिगत चरित्रबाट सुरु भएको यही नैतिक यात्रा अन्ततः सामाजिक संस्कृति र सभ्यताको निर्माणमा रूपान्तरण हुन्छ।
भागवद्गीताले कर्मयोगलाई धार्मिक अभ्यासका रूपमा मात्र प्रस्तुत गर्दैन। यसले जीवन व्यवस्थापन, नेतृत्व, सामाजिक उत्तरदायित्व र नैतिक निर्णयको सार्वकालिक दर्शन प्रस्तुत गर्छ। श्रीकृष्णले अर्जुनलाई दिएको सन्देश युद्धको सन्दर्भमा भए पनि त्यसको दार्शनिक अर्थ सम्पूर्ण मानव जीवनमा लागू हुन्छ। कर्तव्यबाट पलायन होइन, निष्काम भावले कर्म गर्नु नै जीवनको सर्वोच्च साधना हो। यही दृष्टिकोण आधुनिक सार्वजनिक जीवन, प्रशासन, राजनीति, शिक्षा, व्यवसाय र नागरिक जिम्मेवारीमा समान रूपमा लागू हुन्छ।
भारतीय दर्शनमा कर्मयोग मानव जीवनको सक्रिय आध्यात्मिक मार्ग हो। यसको मूल आधार कर्मको त्याग होइन, कर्ममा आसक्तिको त्याग हो। प्रसिद्ध गीता वाक्य”कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन”ले मानिसलाई परिणामको मोहभन्दा माथि उठेर कर्तव्यप्रति समर्पित हुन प्रेरित गर्छ। यसको अर्थ परिणाम अप्रासंगिक छ भन्ने होइन, परिणामलाई नै सम्पूर्ण उद्देश्य बनाएर नैतिकता त्याग्नु उचित होइन भन्ने हो।

(तोमनाथ उप्रेती)
कर्मयोगको मूल भावना तीन आधारमा उभिएको छ। पहिलो, कर्तव्यबोध। प्रत्येक व्यक्तिले आफ्नो सामाजिक, व्यावसायिक र मानवीय जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्नुपर्छ। दोस्रो, निष्कामता। कर्म व्यक्तिगत स्वार्थका लागि होइन, व्यापक हितका लागि हुनुपर्छ। तेस्रो, समत्व। सफलता वा असफलताले नैतिक निर्णयलाई प्रभावित गर्नु हुँदैन।
स्वामी विवेकानन्दले कर्मयोगलाई मानवसेवाको दर्शनका रूपमा व्याख्या गर्दै “मानव सेवा नै ईश्वर सेवा हो” भन्ने विचार प्रस्तुत गरेका थिए। उनका अनुसार कर्मयोगले आत्मकेन्द्रित व्यक्तिलाई समाजकेन्द्रित नागरिकमा रूपान्तरण गर्छ। महात्मा गान्धीले पनि निष्काम कर्मलाई सत्य र अहिंसाको व्यवहारिक आधार माने। उनका लागि राजनीति नैतिकताबाट अलग हुन सक्दैनथ्यो। त्यसैले कर्मयोग केवल धार्मिक अवधारणा होइन, सामाजिक न्याय र नैतिक नेतृत्वको आधार पनि हो।
पाश्चात्य दर्शनमा इमानुएल कान्टको कर्तव्य-नैतिकता र कर्मयोगबीच उल्लेखनीय समानता देखिन्छ। कान्टका अनुसार नैतिक कर्म व्यक्तिगत लाभका लागि होइन, नैतिक कर्तव्यका कारण गरिनुपर्छ। त्यस्तै अरस्तुको सद्गुण नैतिकताले पनि असल चरित्रको निरन्तर अभ्यासबाट नै असल समाज निर्माण हुने तर्क प्रस्तुत गर्छ। यसरी हेर्दा कर्मयोग पूर्वीय दर्शनको अवधारणा भए पनि यसको नैतिक सार विश्वव्यापी छ।
व्यक्तिगत नैतिकता: सभ्यताको पहिलो आधार
कुनै पनि सभ्यता व्यक्तिबाट सुरु हुन्छ। समाज व्यक्तिहरूको समष्टि भएकाले व्यक्तिको चरित्र नै सामाजिक चरित्रको आधार बन्छ। यदि व्यक्ति इमानदार, अनुशासित, सहिष्णु, परिश्रमी र उत्तरदायी छ भने समाजमा पनि त्यही संस्कृतिको विकास हुन्छ। यदि व्यक्ति स्वार्थी, हिंस्रक, लोभी र गैरजिम्मेवार छ भने कुनै पनि कानुनी संरचनाले मात्र सभ्य समाज निर्माण गर्न सक्दैन।
कर्मयोगले नैतिक व्यक्तित्व निर्माणका लागि आत्मअनुशासनलाई केन्द्रमा राख्छ। आत्मनियन्त्रणविना नैतिकता सम्भव हुँदैन। इच्छाको नियन्त्रण, लोभमाथिको विजय, क्रोधको व्यवस्थापन, सत्यप्रतिको निष्ठा र कर्तव्यप्रतिको प्रतिबद्धता नै कर्मयोगका आधारभूत अभ्यास हुन्। यी अभ्यास धार्मिक कर्मकाण्डभन्दा धेरै व्यापक छन्। तिनले व्यक्तिको सम्पूर्ण जीवनदृष्टिलाई परिवर्तन गर्छन्।
आजको उपभोक्तावादी संस्कृतिमा सफलताको मापन सम्पत्ति, पद वा लोकप्रियताबाट गरिन्छ। सामाजिक सञ्जालले तुलना, प्रतिस्पर्धा र तात्कालिक मान्यताको संस्कृति विस्तार गरेको छ। यस्तो अवस्थामा नैतिक निर्णयहरू धेरैपटक व्यक्तिगत लाभद्वारा निर्देशित हुन थालेका छन्। कर्मयोगले भने सफलता होइन, सही कर्मलाई प्राथमिकता दिन सिकाउँछ। यसले बाह्य उपलब्धिभन्दा आन्तरिक उत्कृष्टतालाई महत्त्व दिन्छ।
मनोवैज्ञानिक दृष्टिले पनि कर्तव्यबोधमा आधारित जीवनले व्यक्तिमा मानसिक सन्तुलन, उद्देश्यबोध र दीर्घकालीन सन्तुष्टि विकास गर्छ। बाह्य पुरस्कारमा आधारित प्रेरणा क्षणिक हुन्छ भने मूल्यमा आधारित प्रेरणा स्थायी हुन्छ। त्यसैले कर्मयोग व्यक्तिगत मानसिक स्वास्थ्य र नैतिक परिपक्वतासँग पनि गहिरो रूपमा सम्बन्धित छ।
सामाजिक धर्म भन्नाले समाजप्रति प्रत्येक व्यक्तिको नैतिक दायित्वलाई बुझिन्छ। यो न्याय, सहअस्तित्व, समानता, करुणा, उत्तरदायित्व र सार्वजनिक हितको सामूहिक मूल्य प्रणाली हो। कर्मयोगले यही सामाजिक धर्मलाई व्यवहारमा उतार्ने मार्ग प्रदान गर्छ।जब शिक्षक निष्काम भावले शिक्षण गर्छन्, शिक्षा संस्थागत रूपमा नैतिक बन्छ। जब चिकित्सक सेवाभावले उपचार गर्छन्, स्वास्थ्य प्रणालीप्रति विश्वास बढ्छ। जब कर्मचारी निष्पक्ष हुन्छन्, प्रशासन विश्वसनीय बन्छ। जब व्यापारी इमानदार हुन्छन्, बजार स्वस्थ हुन्छ। जब राजनीतिज्ञ सार्वजनिक हितलाई प्राथमिकता दिन्छन्, लोकतन्त्र सुदृढ हुन्छ। अर्थात् व्यक्तिगत कर्मयोग नै सामाजिक धर्मको व्यवहारिक रूप हो।
समाज सुधार कानुन निर्माणबाट मात्र सम्भव हुँदैन। कानुनले व्यवहार नियन्त्रण गर्न सक्छ, तर चरित्र निर्माण गर्न सक्दैन। चरित्र निर्माण शिक्षा, परिवार, संस्कृति र व्यक्तिगत नैतिक अभ्यासबाट हुन्छ। यही कारण कर्मयोग सामाजिक परिवर्तनको दिगो आधार मानिन्छ। जहाँ नैतिक नागरिक हुन्छन्, त्यहाँ सुशासन स्वतः बलियो बन्छ, जहाँ सुशासन बलियो हुन्छ, त्यहाँ सभ्यता पनि दीर्घकालीन रूपमा समृद्ध हुन्छ।
कर्मयोगको मूल तत्व हो निष्काम कर्म। निष्काम कर्म भन्नाले फलप्रति आसक्ति बिना आफ्नो कर्तव्य पालन गर्नु हो। जब व्यक्तिले आफ्नो इच्छालाई नियन्त्रणमा राखेर धर्मअनुसार कर्म गर्दछ, तब उसको कार्य व्यक्तिगत हितको लागि मात्र सीमित हुँदैन, यसले समाजमा सकारात्मक प्रभाव पार्छ। उदाहरण स्वरूप, शिक्षकले आफ्नो ज्ञानको सेवा विद्यार्थीका लागि निष्काम भावले गर्दा मात्र होइन, समाजको भविष्य निर्माण गर्न पनि योगदान पुर्याउँछ। यसरी व्यक्तिगत नैतिकता र धर्मले सामाजिक सुधारको आधार तयार पार्दछ।
व्यक्तिगत नैतिकता बिना समाजिक सुधार असम्भव छ। यदि प्रत्येक व्यक्ति आफ्नो कर्तव्य पालनमा ईमानदार र धर्मनिष्ठ भए, भने भ्रष्टाचार, अन्याय, अत्याचार जस्ता नकारात्मक प्रवृत्तिहरू स्वतः न्यून हुन्छन्। गीता अनुसार, प्रत्येकले आफ्नो सामाजिक कर्तव्य, धर्म, र आफ्नो स्थानअनुसार कर्म गर्नुपर्छ। यो बाह्य नियमको पालन मात्र होइन, आन्तरिक चेतनाको अभ्यास हो। व्यक्ति जसले आफ्नो आत्मालाई अनुशासित राख्छ, उसले आफ्नो इन्द्रिय र इच्छालाई नियन्त्रणमा राखेर समाजमा स्थायी परिवर्तन ल्याउन सक्छ।
सामाजिक धर्म व्यक्तिगत नैतिकतामा आधारित छैन। यसले समुदायको कल्याण, समानता, न्याय र मानव अधिकारको संरक्षण सुनिश्चित गर्नुपर्छ। कर्मयोगले मानिसलाई आफ्नो स्वार्थभन्दा माथि उठेर समाजिक जिम्मेवारी बोध गराउँछ। यदि प्रत्येक नागरिकले आफ्नो कर्ममार्गमा निष्काम भाव अपनायो भने दार्शनिक दृष्टिले समाजमा स्थायी सुधार सम्भव हुन्छ। यहाँ धर्म धार्मिक कर्म होइन, मानवीय मूल्य, सामाजिक न्याय र नैतिक जीवनको मार्ग पनि हो।
गीता अनुसार, कार्यको मूल्य यसको उद्देश्य र भावनामा निर्भर हुन्छ। जब उद्देश्य स्वार्थ वा लोभका लागि हुन्छ, तब कर्म नकारात्मक परिणाम ल्याउँछ। तर जब कर्म निष्काम, धर्मनिष्ठ, र समाजकल्याणमा केन्द्रित हुन्छ, तब व्यक्तिगत सुधारले स्वतः समाजमा सुधारको ढोका खोल्दछ। यसरी कर्मयोग व्यक्तिगत नैतिकता र सामाजिक धर्मबीचको सेतु बनाउँछ।
कर्मयोगले मानवलाई आध्यात्मिक उन्नतिमा सीमित राख्दैन, यसले उसको जीवनलाई सामाजिक रूपले पनि अर्थपूर्ण बनाउँछ। प्रत्येक व्यक्ति जब आफ्नो कर्ममार्गमा ईमानदार, धर्मपरायण र समाजप्रति जिम्मेवार हुन्छ, तब उसको व्यक्तिगत जीवनमा शान्ति, स्थिरता र संतोष पैदा हुन्छ। यही स्थिरता र नैतिक अनुशासन समाजमा स्थायी सुधारको बीउ रोप्छ।
कर्मयोग र सामाजिक धर्मको अभ्यासले यसरी व्यक्ति र समाजबीचको सम्बन्धलाई दार्शनिक, नैतिक र आध्यात्मिक दृष्टिले सुदृढ बनाउँछ। यसले व्यक्तिगत नैतिकता र जिम्मेवारीको अभ्यास बिना कुनै पनि समाजमा स्थायी सुधार सम्भव छैन भनि प्रमाणित गर्दछ । निष्काम कर्ममार्गले व्यक्तिगत विकास र सामाजिक कल्याणलाई एउटै धारा भित्र ल्याउँछ, जसले मानवीय जीवनलाई उच्चतम मूल्य र उद्देश्यसँग जोड्दछ।
गीतामा भनिएको छ, जो पुरुष आफ्नो चित्तलाई स्थिर राख्छ र परब्रह्ममा लीन हुन्छ, उसका लागि धर्म–अधर्म, शुभ अशुभ जस्ता भेदहरू अर्थहीन हुन्छन्। यस्तो योगीले ईश्वर, मोक्ष र सत्यज्ञानको अनुपम आनन्द साक्षात्कार गर्दछ। मानिसको स्वभावमा सुखप्राप्ति र तृप्तिको असिम चाहना हुन्छ। तर तत्वदर्शी योगीहरूले देखाउँछन् कि संसारका सबै पदार्थजन्य सुख क्षणिक, अस्थायी र अपरिमित छन्। त्यसैले जो वास्तविक आनन्द खोज्छ, उसले भौतिक संसारबाट छुटकारा पाउनु पर्छ।
योगीहरू आफ्नो शरीर भित्रै सर्वशक्तिमान परमात्माको अन्वेषण गर्छन्। परब्रह्म, अविनाशी, अद्धितीय तत्व, यही परमात्मा हो। भागवत गीतामा श्रीकृष्णले अर्जुनलाई भनेका छन्—“वासुदेव तिमी मेरो शरणमा आउ, म तिमीलाई सबै पापबाट मुक्त गरिदिन्छु।” यस संदेशले देखाउँछ कि मोक्ष प्राप्तिका लागि बाह्य संसारको मोह त्यागेर आत्मिक जागरण अपरिहार्य छ।
मनुष्यको जीवन कर्ममा आधारित छ। कर्मयोगले हामीलाई सिकाउँछ कि निष्काम भावमा कर्म गर्नु नै सर्वोच्च धर्म हो। प्रत्येक कार्यको परिणाम हुन्छ। सुख वा दुःख, समृद्धि वा अभाव—सबै कर्मको प्रतिफल हुन्। यसैले जीवनको प्रत्येक कदममा सन्तोष, शान्ति र आनन्द प्राप्त गर्न सकिन्छ। जब मानिस आफ्नो कर्म भगवानलाई अर्पण गर्दछ, तब उसले भोग्ने सुख–दुःखलाई पनि आत्मिक दृष्टिले अनुभव गर्न थाल्छ।
अर्जुन जस्तै अज्ञानी मनुष्यले जब आफ्नो दिमाग, इच्छा र राग–द्वेषलाई नियन्त्रणमा राख्छ, तब उसले वास्तविक ज्ञान र मोक्षको बाटो पाउँछ। इच्छाशक्ति र ध्यानद्वारा मनको चञ्चलतालाई स्थिर राख्नु अत्यावश्यक हुन्छ। नकारात्मक संवेग, क्रोध, लोभ र मोहले मानिसलाई पतनतर्फ डोहोयाउँछ। तर आत्मसंयमी व्यक्ति राग–द्वेषरहित भएर आफ्ना इन्द्रियहरूसँग सामना गर्दा अन्तःकरणको शान्ति र प्रसन्नता प्राप्त हुन्छ।
गीताले सिकाएको अर्को महत्वपूर्ण सन्देश हो संसारको सबै कुरामा ईश्वरको उपस्थितिलाई स्वीकार गर्नु। शरीर, इन्द्रिय, मन र बुद्धिले आफूलाई भगवानमा अर्पण गर्दा जीवनमा स्थायी शान्ति प्राप्त हुन्छ। जन्म–मरण, सुख–दुःख, समृद्धि–अभाव यी सबै संसारिक नियमको हिस्सा मात्र हुन्। परिवर्तन संसारको नियम हो। तसर्थ, जीवनमा आउने परिवर्तन, उतार–चढाव वा असफलता भन्ने कुराले हाम्रो मानसिक शान्तिमा बाधा पुर्याउन सक्दैन।
मनुष्यले आफ्नो जीवनलाई भौतिक इच्छाहरूमा केन्द्रित राख्दा असंतोष र पीडा जन्मन्छ। तर जब उसले निष्काम भावमा कर्म गर्दै, तत्त्वज्ञानको अनुभव गरेर, भोग–योग–भाव–लालसा त्यागेर भगवानको स्मरण गर्छ, तब वास्तविक मोक्ष प्राप्त हुन्छ। जीवनको प्रत्येक घटना भगवानको कर्मको अंश हो भन्ने बुझाइले भय, शोक र चिन्ता हटाउँछ।जन्म, मरण, सुख, दुःख, सफलता वा विफलता यी सबै कर्मको फल हुन्। हामी जे गर्न सक्छौं, त्यो कर्ममार्गमा निष्काम भाव राखेर गर्नु नै सर्वोच्च साधना हो। यसरी मानिसको जीवन व्यक्तिगत विकासमा मात्र सीमित रहँदैन, समाजमा नैतिकता, सदाचार र प्रेम फैलाउन सहयोगी हुन्छ।भूतकालको पश्चाताप नगर्नु, भविष्यको चिन्ता नगर्नु, वर्तमानलाई पूर्णतया आत्मसात गर्नु। जे भयो, त्यो राम्रो भयो, जे हुँदैछ, त्यो राम्रै भइरहेको छ, जे हुनेछ, त्यो पनि उत्तम हुनेछ। जीवनको प्रत्येक पलमा सन्तोष र आनन्द अनुभूत गर्न मनुष्यले संसार र आत्माको वास्तविक स्वरूप बुझ्नुपर्छ।
यसरी, कर्मयोग र तत्त्वज्ञानको अभ्यासले मानव जीवनलाई भौतिक सुख–दुःखबाट मुक्त गर्दै, स्थायी आनन्द र मोक्षको मार्ग खोल्दछ। जब मानिस ईश्वरको सहारामा रहन्छ, निष्काम भावले कर्म गर्दछ, र आफ्नो मनलाई स्थिर राख्छ, तब उसले जीवनको सबै पीडा, डर र चिन्ताबाट मुक्त भएर आत्मिक आनन्दको अनुभूति गर्न सक्छ। जीवनलाई भय, मोह, र आसक्तिबाट मुक्त गर्दै, ईश्वर र मोक्षको दिशातर्फ अग्रसर हुनु यही भागवत गीताको दिव्य सन्देश हो।
कर्मयोग, भक्तियोग तथा ज्ञानका विभिन्न अवस्थाहरूलाई सार्वजनिक प्रशासकहरुले आत्मिकरण गर्नु पर्दछ ।मानव जातीले भौतिक सुखको धेरै चहाना गर्दछ। कर्म गर्ने तर फलको आशा नगर्ने सोचले हामीहरु आप्mनो कर्मभूमिमा अगाडि बढ्नु पर्दछ। हामीले गर्ने प्रत्येक कार्यको साक्षी दृष्टा भगवान हुनुहुन्छ । त्यसैले असल काम गर लाभको लालसा र मोहमा नलाग, अनात्मरुपी भगवान प्राप्त गर्नका लागि आत्मारुपी देह त्याग र मोक्षको प्राप्ति सम्भव छ भन्ने कुरा भागवत गीताको दिव्य सन्देशलाई हामीले हरदम आत्मसाथ गर्नु पर्दछ । त्यसैले हामीले कम गर्दा फलको लोभ गर्ने नभई असल कर्ममा जोड दिनुपर्ने कुरामा भागवत गीताको दिव्य सन्देशले जोड दिन्छ ।भागवत गीतामा बताइएको कर्मयोग, भक्तियोग र ज्ञानयोगका सारगत कुराहरूलाई जीवनको उत्कृष्ट सन्देश मानी ग्रहण गर्नु पर्दछ ।
अन्त्यमा, भागवत गीताको दिव्य ज्ञानले असल आचरणको विकास गर्ने, सदाचार पालनामा सहयोग गर्ने , आप्नो मनलाई नियन्त्रणमा राखेर काम गर्ने, तर फलको आशा नगर्ने,मान्यजनको सेवा तथा आदर सत्कार गर्ने,जस्तोसुकै कठिन परिस्थितिमा पनि संयमित भई कर्म गर्ने,आफ्नो कर्ममा विश्वास गर्ने,ज्ञानयोगको माध्यमबाट समाजमा अब्बल रूपमा ज्ञानी बनेर अरुलाई बाटो देखाउने कार्यमा सक्रिय हुने,सांसारिक मोहबाट टाढा रहने र कुनै कुरा पाउन नसकेको खण्डमा पश्चाताप नगर्ने सन्देश दिदै समग्र मानव जातिको कल्याण र हितका लागि सदाचार र नैतिक संस्कृतिको विकास सिकाउँदै जीवनको उत्कृष्ट मार्ग देखाउँछ यसले नागरिक चेतना, समाजको लोकतन्त्रीकरण र प्रविधिको प्रभावबाट मानव जगतलाई आध्यात्मिक, नैतिक र व्यावसायिक दृष्टिकोण सुधार्न मद्दत पुर्याउँछ । गीताको ज्ञानले मानव हृदयका सद्गुण र सद्भावलाई जागृत गरी जीवनलाई सुखी, शान्त र समृद्ध बनाउन मद्दत पुर्याउँछ । देशको शासकीय संरचनामा परिवर्तन भए तापनि, संस्कार र आचरणमा सुधार नहुनाले निराशा उत्पन्न भएको छ । गीताको सन्देशलाई व्यवहारमा लागू गर्दै स्वच्छ, पारदर्शी, सदाचारयुक्त र भ्रष्ट्राचारमुक्त समाजको विकास गर्नु आजको आवश्यकता हो।
(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन् । )

