ताप्लेजुङका वरिष्ठ साहित्यकार राजेश्वर थापा १ लाख ५१ हजार रुपैयाँसहित सम्मानित

ताप्लेजुङ । फुङ्लिङ नगरपालिकाले राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा वरिष्ठ साहित्यकार एवं साधक राजेश्वर थापालाई नगद १ लाख ५१ हजार रुपैयाँसहित ताम्रपत्र प्रदान गरी सम्मान गरेको छ।

नगरपालिकाको सभाहलमा मंगलबार आयोजित कार्यक्रममा नगर प्रमुख एवं कार्यक्रमका अध्यक्ष अमिर मादेन, उपप्रमुख भीमादेवी ओझा र प्रमुख प्रशासकीय अधिकृत मोहनलाल पनेरुले संयुक्त रूपमा थापालाई सम्मान गरेका हुन्। आयोजकका अनुसार ताप्लेजुङमा हालसम्म कुनै व्यक्तिलाई प्रदान गरिएकोमध्ये यो सबैभन्दा ठूलो पुरस्कार राशि हो।

सामूहिक राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोमा ज्यान गुमाएकाहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो।

कार्यक्रममा दीपज्योति पुस्तकालयका संस्थापक एवं सर्जक भरत गुरुङ, मुकुमलुङ साहित्यिक प्रतिष्ठानका अध्यक्ष मनिष हेल्लोक, कञ्चनजङ्घा साहित्य प्रतिष्ठानका शान्तिराम नेपाल, समाजसेवी तथा साहित्यकार चन्द्र मादेन आन्छन, पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी प्रमुख प्रजीन हाङ्बाङ, प्याब्सनका निवर्तमान अध्यक्ष युवराज गिरी र समाजसेवी एवं बौद्धिक व्यक्तित्व सुन्दरमोहन शाक्यलगायतले थापालाई सम्मान गरिएकोमा प्रशंसा गर्दै शुभकामना दिएका थिए।

समारोहमा भूमि प्रशासन कार्यालयका प्रमुख डिल्लीप्रसाद सिटौला, फुङ्लिङ नगरपालिकाका अधिकांश वडाध्यक्ष, उद्योग वाणिज्य संघका प्रतिनिधि, प्याब्सनका जिल्ला अध्यक्ष, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष, शिक्षक महासंघका जिल्ला अध्यक्ष, साहित्यकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो।

सम्मानपछि साहित्यकार थापाले आफूले धेरै पुस्तक लेखे पनि त्यस्तो उल्लेख्य काम गरेको नठानेको बताए। उनले हरेक मानिसले आफ्नो कर्म गर्न छोड्न नहुने भन्दै आफूलाई सम्मान गरेकोमा फुङ्लिङ नगरपालिकाका प्रमुखसहित सबैप्रति आभार व्यक्त गरे।

नगर प्रमुख मादेनले साहित्य क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि आफू सधैं सकारात्मक रहेको बताए। उनले आगामी दिनमा साहित्यिक क्षेत्रका लागि ५ लाख रुपैयाँभन्दा बढी सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए।

थापाले केही महिनाअघि आफूले लेखेका छ दर्जनभन्दा बढी पुस्तकसहित अन्य गरी ५ हजारभन्दा बढी पुस्तक फुङ्लिङ नगरपालिकालाई हस्तान्तरण गरेका थिए। नगरपालिकाले साहित्य तथा पठन संस्कृतिको विकासमा थापाको योगदानको कदर गर्दै सम्मान गरेको जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।