सदाचार र मानवीय मूल्य: सुशासनका नैतिक आधार
तोमनाथ उप्रेती । मानव समाज नीति, कर्म, मूल्य र आचरणको आधारमा सञ्चालित हुन्छ। व्यक्तिको बाह्य व्यवहारलाई निर्देशित गर्ने कानुन र सामाजिक मान्यतासँगै उसको अन्तरात्मामा निहित विवेकले पनि आचरण निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ। यही विवेक, आत्मसंयम र नैतिक चेतनाको समष्टिगत अभिव्यक्तिलाई सदाचारका रूपमा बुझ्न सकिन्छ। सदाचारले व्यक्तिलाई केवल गलत कार्य गर्नबाट रोक्दैन, उसलाई सही, न्यायपूर्ण र उत्तरदायी कार्यतर्फ प्रेरितसमेत गर्छ। त्यसैले सदाचार व्यक्तिगत चरित्रको विषय मात्र नभई सामाजिक विश्वास, संस्थागत विश्वसनीयता र सुशासनको आधारभूत पूर्वसर्त हो।
समकालीन नेपाली समाजमा सुशासन, पारदर्शिता, उत्तरदायित्व र सार्वजनिक नैतिकताको प्रश्न तीव्र रूपमा उठिरहेको छ। सार्वजनिक संस्थामाथि नागरिक अपेक्षा बढ्दै गएको छ भने राजनीतिक, प्रशासनिक तथा सामाजिक नेतृत्वको आचरण निरन्तर सार्वजनिक परीक्षणको विषय बन्दै गएको छ। यस्तो अवस्थामा सदाचारलाई व्यक्तिगत सद्गुणका रूपमा मात्र सीमित नगरी शासन प्रणाली, सार्वजनिक प्रशासन र सामाजिक संस्कृतिसँग जोडेर हेर्न आवश्यक हुन्छ।
सदाचार र सुशासनबीच घनिष्ठ अन्तरसम्बन्ध छ। सदाचारी नेतृत्व र कर्मचारीतन्त्रले संस्थागत निष्ठा, पारदर्शिता र उत्तरदायित्वलाई बलियो बनाउँछन्; त्यसैगरी प्रभावकारी सुशासनले सदाचारी आचरणका लागि आवश्यक संस्थागत वातावरण निर्माण गर्छ। त्यसैले नैतिक आचरण, सकारात्मक सोच र मानवीय मूल्यहरूको विकासलाई राज्यको प्रशासनिक सुधार र सामाजिक रूपान्तरणको अभिन्न पक्षका रूपमा लिनुपर्छ।
सदाचारलाई सामान्य अर्थमा असल आचरण, नैतिक व्यवहार, इमानदारी, निष्पक्षता र आत्मसंयमको समष्टिका रूपमा बुझ्न सकिन्छ। नैतिकताले के उचित हो र के अनुचित, के गर्नुपर्छ र के गर्नु हुँदैन भन्नेबारे विवेकपूर्ण मार्गदर्शन प्रदान गर्छ। यस अर्थमा नैतिकता व्यवहारको मूल्याङ्कन गर्ने मापदण्ड हो भने सदाचार त्यस मापदण्डलाई व्यवहारमा रूपान्तरण गर्ने चरित्रगत क्षमता हो।
व्यक्तिले दैनिक जीवनमा अवलम्बन गर्ने मूल्य, मान्यता, जिम्मेवारी र नैतिक निर्णयहरूको समष्टि नै आचरण हो। सार्वजनिक प्रशासनको सन्दर्भमा भने प्रशासकीय आचरणले कानुन, नीति, नियम, व्यावसायिक मूल्य, निष्पक्षता, उत्तरदायित्व र सार्वजनिक हितलाई केन्द्रमा राखी कार्यसम्पादन गर्न निर्देशित गर्छ।
सदाचार बाह्य प्रदर्शनको विषय मात्र होइन। यसको वास्तविक स्रोत व्यक्तिको अन्तरात्मा, विवेक र आत्मानुशासनमा निहित हुन्छ। अरूले हेरेका बेला मात्र नियम पालना गर्नु वास्तविक सदाचार होइन। निगरानी, पुरस्कार वा दण्डको अनुपस्थितिमा समेत सही काम गर्ने क्षमता नै नैतिक चरित्रको वास्तविक परीक्षा हो। यसैले सदाचारलाई बाह्य नियन्त्रणभन्दा बढी आन्तरिक आत्मनियन्त्रणसँग जोडेर हेर्नुपर्छ।
सुशासनका प्रमुख आधारहरूमा पारदर्शिता, उत्तरदायित्व, सहभागिता, विधिको शासन, प्रभावकारिता, निष्पक्षता र भ्रष्टाचार नियन्त्रण पर्छन्। यी सबै मूल्यको व्यवहारिक कार्यान्वयनका लागि संस्थामा कार्यरत व्यक्तिहरूको नैतिक आचरण अत्यन्त महत्त्वपूर्ण हुन्छ।
संस्था आफैँमा नैतिक वा अनैतिक हुँदैन; संस्थाको संस्कृति निर्माण गर्ने मानिसहरूको व्यवहारले संस्थाको चरित्र निर्धारण गर्छ। नेतृत्वले विधि, नीति र सार्वजनिक हितप्रति निष्ठा प्रदर्शन गरेमा संस्थाभित्र पनि त्यही संस्कार विकास हुन्छ। यसको विपरीत नेतृत्वमा स्वार्थ, पक्षपात, संरक्षणवाद वा अधिकारको दुरुपयोग देखिएमा संस्थागत नैतिकता कमजोर हुँदै जान्छ।
यस सन्दर्भमा नेतृत्वलाई केवल प्रशासनिक अधिकार प्रयोग गर्ने संयन्त्रका रूपमा हेर्नु पर्याप्त हुँदैन। नेतृत्व स्वयं उदाहरण बन्नुपर्छ। नेतृत्वको व्यवहारले कर्मचारीको मनोविज्ञान, कार्यसंस्कृति र संस्थागत अनुशासनमा प्रत्यक्ष प्रभाव पार्छ। त्यसैले नेतृत्वको नैतिक विश्वसनीयता सुशासनको महत्त्वपूर्ण पूर्वाधार हो।
नैतिक आचरणको विकासमा सकारात्मक सोचको विशेष भूमिका हुन्छ। सकारात्मक सोच भन्नाले समस्यालाई अस्वीकार गर्नु होइन; कठिन परिस्थिति, असफलता र चुनौतीका बीच पनि विवेकपूर्ण, रचनात्मक र समाधानमुखी दृष्टिकोण कायम राख्नु हो।
मानिसका व्यवहारमा लोभ, लालसा, अहंकार, स्वार्थ, आग्रह र आसक्तिले प्रभाव पार्न सक्छन्। यी प्रवृत्तिलाई विवेक र आत्मसंयमद्वारा नियन्त्रण गर्न सक्नु नै नैतिक चरित्रको परिचायक हो। सकारात्मक सोचले व्यक्तिलाई तत्कालीन लाभभन्दा दीर्घकालीन परिणामबारे विचार गर्न प्रेरित गर्छ।
सदाचारी व्यक्तिले आफूले गरेको कर्मको नैतिक परिणामबारे विचार गर्छ। उसले केवल “मलाई के प्राप्त हुन्छ?” भनेर सोच्दैन; “मेरो निर्णयले अरूलाई के प्रभाव पार्छ?”, “यसले संस्थाको विश्वसनीयतामा कस्तो असर गर्छ?” र “यसले सार्वजनिक हितलाई कति योगदान गर्छ?” भन्ने प्रश्न पनि गर्छ। यही दृष्टिकोणले व्यक्तिगत स्वार्थलाई सार्वजनिक उत्तरदायित्वसँग सन्तुलित गर्छ।
सदाचारको आधार मानवीय मूल्यहरू हुन्। सत्यनिष्ठा, करुणा, सहिष्णुता, न्याय, समानता, सम्मान, जिम्मेवारी, सहयोग र आत्मसम्मानजस्ता मूल्यले व्यक्तिको चरित्र निर्माण गर्छन्। समाजमा कानुनको शासन स्थापित भए पनि मानवीय मूल्य कमजोर भएमा कानुनी व्यवस्था मात्रले सभ्य र न्यायपूर्ण समाज निर्माण गर्न सक्दैन।
मानवीय मूल्यले व्यक्तिलाई अरूको अधिकार र सम्मानप्रति संवेदनशील बनाउँछ। सार्वजनिक सेवामा यसको महत्त्व अझ बढी हुन्छ। सेवाग्राहीलाई केवल “काम गराउन आएको व्यक्ति” का रूपमा नभई अधिकारसम्पन्न नागरिकका रूपमा व्यवहार गर्नु नै सार्वजनिक सेवाको नैतिक आधार हो।
सार्वजनिक पदमा रहेको व्यक्तिका लागि व्यावसायिक दक्षता मात्र पर्याप्त हुँदैन। उसमा सार्वजनिक हितप्रतिको प्रतिबद्धता, निष्पक्षता, गोपनीयताको सम्मान, स्रोतसाधनको सदुपयोग र नागरिकप्रतिको उत्तरदायित्वसमेत आवश्यक हुन्छ। त्यसैले व्यावसायिकता र नैतिकता एकअर्काका परिपूरक हुन्।
मानवीय इच्छा स्वाभाविक हुन्छ। सफलता, सम्मान, सम्पत्ति र सुख प्राप्त गर्ने चाहना आफैँमा अनैतिक होइन। समस्या त्यतिबेला उत्पन्न हुन्छ जब व्यक्तिगत इच्छा सामाजिक मर्यादा, कानुनी दायित्व र सार्वजनिक हितभन्दा माथि पुग्छ।
इच्छाको अनियन्त्रित विस्तारले व्यक्तिलाई असन्तुष्टि र नैतिक विचलनतर्फ लैजान सक्छ। त्यसैले नैतिक जीवनको आधार इच्छाको पूर्ण निषेध होइन, इच्छाको विवेकपूर्ण व्यवस्थापन हो। व्यक्तिले आफ्नो चाहनालाई जिम्मेवारी, सामाजिक मर्यादा र दीर्घकालीन हितसँग सन्तुलित गर्न सक्नुपर्छ।
आत्मसंयम यही सन्तुलन कायम गर्ने प्रमुख क्षमता हो। बाह्य नियन्त्रण कमजोर भएको अवस्थामा पनि आफूलाई अनुचित कार्यबाट रोक्न सक्ने क्षमता नै वास्तविक नैतिक शक्ति हो। यस अर्थमा सदाचार नियन्त्रणको बाह्य प्रणालीभन्दा बढी आत्मनियन्त्रणको आन्तरिक प्रणाली हो। बौद्ध दर्शनले नैतिक जीवनलाई मानसिक चेतना, विवेक र दुःखबाट मुक्तिको मार्गसँग जोड्छ। बौद्ध दृष्टिकोणमा लोभ, द्वेष र मोहलाई दुःखका प्रमुख कारणका रूपमा हेरिन्छ। त्यसैले नैतिक जीवनका लागि मन, वचन र कर्ममा संयम आवश्यक मानिन्छ।
बौद्ध नैतिकताको महत्त्वपूर्ण पक्ष अन्धरूपमा नियम पालना गर्नु नभई कर्मको परिणामप्रति सचेत हुनु हो। व्यक्तिले आफ्नो व्यवहारले आफू र अरूमा कस्तो प्रभाव पार्छ भन्नेबारे विवेकपूर्ण विचार गर्नुपर्छ। यस दृष्टिले नैतिकता बाह्य बाध्यता नभई चेतनापूर्ण जीवनपद्धति बन्न पुग्छ। आत्मसम्मान पनि नैतिक आचरणको महत्त्वपूर्ण आधार हो। आफ्नो मूल्य र गरिमाप्रति सचेत व्यक्ति सामान्यतः आफ्नो चरित्रलाई कमजोर पार्ने कार्यबाट टाढा रहन चाहन्छ। त्यसैले आत्मसम्मान, आत्मअनुशासन र नैतिकता एकअर्कासँग अन्तर्सम्बन्धित छन्।
सार्वजनिक प्रशासन राज्य र नागरिकबीचको प्रत्यक्ष सम्पर्कको माध्यम हो। नागरिकले राज्यको प्रभावकारिता धेरै हदसम्म सार्वजनिक सेवाबाट अनुभव गर्छ। त्यसैले सार्वजनिक प्रशासनमा नैतिक आचरणको स्तरले राज्यप्रतिको नागरिक विश्वास निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेल्छ।राजनीतिक रूपमा तटस्थ, प्रशासनिक रूपमा निष्पक्ष, आर्थिक रूपमा सदाचारी, सामाजिक रूपमा उत्तरदायी र व्यावसायिक रूपमा सक्षम कर्मचारीतन्त्र राज्य प्रभावकारिताको आधार हो। सार्वजनिक पदलाई व्यक्तिगत लाभ प्राप्त गर्ने माध्यमका रूपमा होइन, सार्वजनिक जिम्मेवारीका रूपमा ग्रहण गर्नुपर्छ।
सार्वजनिक प्रशासनमा नैतिकता कमजोर हुँदा ढिलासुस्ती, भ्रष्टाचार, पक्षपात, अधिकारको दुरुपयोग, स्वार्थको द्वन्द्व र स्रोतसाधनको दुरुपयोगजस्ता समस्या बढ्न सक्छन्। यसको विपरीत नैतिक आचरण बलियो हुँदा कर्मचारीमा आत्मनियन्त्रण, स्वप्रेरणा, कार्यसमर्पण र उत्तरदायित्व बढ्छ।
यसकारण सार्वजनिक प्रशासनमा आचारसंहिता, कार्यसम्पादन सूचक, सेवा बडापत्र, नागरिक पृष्ठपोषण, गुनासो व्यवस्थापन, पारदर्शिता, नियमित मूल्याङ्कन र प्रोत्साहन प्रणालीजस्ता संयन्त्रको प्रभावकारी कार्यान्वयन आवश्यक हुन्छ। यस्ता औपचारिक संयन्त्रसँगै संस्थागत नेतृत्वको व्यवहार र कार्यसंस्कृतिलाई पनि उत्तिकै महत्त्व दिनुपर्छ।
सदाचार व्यक्तिको व्यक्तिगत गुण मात्र होइन, संस्थागत संस्कृतिको विषय पनि हो। कुनै संस्थामा नियमहरू राम्रा भए पनि नेतृत्व अनैतिक छ भने संस्थागत सदाचार दीर्घकालीन रूपमा कायम रहन सक्दैन। त्यसैले नैतिक संस्कृति निर्माणका लागि नेतृत्व, संरचना, प्रक्रिया र मूल्य प्रणालीबीच समन्वय आवश्यक हुन्छ।
नागरिक चेतनाको विकास, लोकतान्त्रिक संस्कृतिको विस्तार र डिजिटल प्रविधिको प्रसारले पनि सार्वजनिक प्रशासनलाई बढी उत्तरदायी बनाउन सहयोग पुर्याउन सक्छ। तर प्रविधि आफैँमा नैतिकताको विकल्प होइन। प्रविधिलाई सदाचार, पारदर्शिता र उत्तरदायित्वसँग जोडेर मात्र यसको प्रभावकारी उपयोग सम्भव हुन्छ। लोकतन्त्रको संस्थागत विकासका लागि सुशासन अपरिहार्य छ। लोकतान्त्रिक व्यवस्था केवल निर्वाचन र राजनीतिक प्रतिनिधित्वमा सीमित हुँदैन; यसको सफलता नागरिकले प्राप्त गर्ने न्याय, सेवा, अवसर र राज्यप्रतिको विश्वासमा पनि निर्भर हुन्छ।
सदाचारविहीन लोकतन्त्रमा संस्थागत क्षय, संरक्षणवाद, भ्रष्टाचार र स्वार्थकेन्द्रित राजनीति बढ्न सक्छ। त्यसैगरी लोकतान्त्रिक उत्तरदायित्वविहीन सुशासनको अवधारणा पनि अधुरो हुन्छ। त्यसैले लोकतन्त्र र सुशासनलाई नैतिक आचरण, विधिको शासन र सार्वजनिक उत्तरदायित्वको साझा आधारमा संस्थागत गर्न आवश्यक हुन्छ।यस दृष्टिले राज्यका राजनीतिक नेतृत्व, प्रशासनिक नेतृत्व र नागरिक समाज सबैले नैतिक जिम्मेवारी वहन गर्नुपर्छ। सदाचारको दायित्व केवल कर्मचारी वा सार्वजनिक पदाधिकारीको मात्र होइन; नागरिकको व्यवहार, सामाजिक संस्था, राजनीतिक दल, सञ्चारमाध्यम र निजी क्षेत्रसमेत यसका महत्त्वपूर्ण पक्ष हुन्।
नेपाली समाजमा सदाचार र नैतिक संस्कृतिको विकासका क्रममा विभिन्न चुनौती विद्यमान छन्। राजनीतिक संरक्षणवाद, संस्थागत स्वार्थ, भ्रष्टाचार, सामाजिक प्रदर्शनवाद, आर्थिक असमानता, दण्डहीनताको अनुभूति र सार्वजनिक पदलाई अवसरका रूपमा बुझ्ने प्रवृत्तिले नैतिक मूल्यलाई कमजोर बनाउन सक्छ।पद, पैसा र प्रतिष्ठालाई सफलताको प्रमुख मापदण्ड मान्ने संस्कृतिले पनि सदाचारमाथि दबाब सिर्जना गर्छ। जब सामाजिक प्रतिष्ठा नैतिक चरित्रभन्दा भौतिक उपलब्धिमा बढी आधारित हुन्छ, तब व्यक्तिले छोटो अवधिको लाभका लागि दीर्घकालीन नैतिक मूल्यसँग सम्झौता गर्ने जोखिम बढ्छ।
यस अवस्थामा समाजले सफलताको परिभाषा पुनर्विचार गर्नुपर्छ। सफलता केवल आर्थिक उपलब्धि वा पद प्राप्तिमा होइन; सत्यनिष्ठा, सामाजिक योगदान, जिम्मेवारी, आत्मसम्मान र अरूको जीवनमा सकारात्मक प्रभाव पार्ने क्षमतामा पनि मापन हुनुपर्छ।नेपालमा सदाचार र नैतिक आचरणको संस्कृति बलियो बनाउन कानुनी तथा संस्थागत सुधारसँगै सामाजिक र व्यक्तिगत चेतनाको विकास आवश्यक छ। पहिलो, सार्वजनिक पदलाई अधिकारभन्दा बढी जिम्मेवारीका रूपमा स्थापित गर्नुपर्छ। दोस्रो, नेतृत्वको नैतिक आचरणलाई संस्थागत मूल्याङ्कनको महत्त्वपूर्ण आधार बनाउनुपर्छ। तेस्रो, भ्रष्टाचार नियन्त्रणलाई दण्डमा मात्र सीमित नराखी रोकथाम, पारदर्शिता र संस्थागत संस्कृतिसँग जोड्नुपर्छ।
त्यसैगरी विद्यालय र उच्च शिक्षामा नैतिक शिक्षा, नागरिक चेतना र सार्वजनिक जिम्मेवारीलाई व्यवहारिक ढङ्गले समावेश गर्न आवश्यक छ। परिवार, विद्यालय, समुदाय र सार्वजनिक संस्थाले बाल्यकालदेखि नै सत्यनिष्ठा, अनुशासन, सहिष्णुता र जिम्मेवारीका मूल्य विकास गर्न सकेमा दीर्घकालीन रूपमा नैतिक समाज निर्माण गर्न सकिन्छ।
सदाचार सभ्य समाजको नैतिक मेरुदण्ड हो। नैतिक आचरणले व्यक्तिलाई सही र गलतबीच विवेकपूर्ण निर्णय गर्न सक्षम बनाउँछ भने सकारात्मक सोचले चुनौतीका बीच पनि रचनात्मक र उत्तरदायी व्यवहार गर्न प्रेरित गर्छ। मानवीय मूल्यहरूले व्यक्तिको चरित्रलाई सामाजिक उत्तरदायित्वसँग जोड्छन्।
सुशासनको वास्तविक आधार केवल कानुन, संरचना र प्रक्रिया होइन; ती सबैलाई इमानदारीपूर्वक कार्यान्वयन गर्ने मानिसहरूको नैतिक चरित्र हो। सदाचारी नागरिक, नैतिक नेतृत्व र व्यावसायिक प्रशासन भएमा संस्थागत विश्वास बलियो हुन्छ, सार्वजनिक सेवा प्रभावकारी बन्छ र लोकतान्त्रिक शासन सुदृढ हुन्छ।अतः सदाचारलाई व्यक्तिगत उपदेशको विषयमा सीमित नगरी राष्ट्रिय शासन संस्कृति र सामाजिक रूपान्तरणको आधारका रूपमा ग्रहण गर्नुपर्छ। व्यक्तिको अन्तरात्माबाट सुरु हुने सदाचार परिवार, संस्था, समाज हुँदै राज्यको शासन संस्कृतिसम्म विस्तार हुनुपर्छ। जब सत्यनिष्ठा व्यक्तिगत गुणबाट संस्थागत संस्कारमा र संस्थागत संस्कारबाट राष्ट्रिय चरित्रमा रूपान्तरण हुन्छ, तब मात्र सुशासन, सामाजिक न्याय र दिगो समृद्धिको आधार बलियो बन्न सक्छ।
-(उप्रेती नेपाल सरकारका उपसचिव हुन्।)


