वन अतिक्रमण गरेर जग्गा हत्याउन खोज्ने भू-माफियालाई संरक्षण

विशाल बस्नेत/२७ भदौ, महाेत्तरी । रसुवाको बाढीसँगै वातावरणीय मुद्दाका विषयमा गम्भीर छलफल र बहस प्रारम्भ भइरहेका बेला महोत्तरीको एउटा घटनालाई भने गुपचुप बनाउने प्रयास भएको देखिएको छ।

सागरनाथ वन परियोजनाअन्तर्गतको वन क्षेत्रमा १९५ वटा बिरुवामा विषाक्त पदार्थ हालेर नष्ट गर्दै जग्गा हत्याउन खोज्ने भू–माफियालाई उन्मुक्ति दिने उद्देश्यले कानुनी प्रक्रिया अघि बढाउन ढिलाइ गरिएको देखिएको हो।

गत साउन २८ गते जिल्लाको सागरनाथ वन परियोजनाअन्तर्गत  हात्तीलेट खण्डको दुई नम्बर प्लटमा बिरुवाको फेदमा एसिडजस्तो विषाक्त पदार्थ हालेर १९५ वटा बिरुवा नष्ट गरिएको थियो।

बिरुवा नष्ट गर्ने कार्य आफूबाट नभएको बताए पनि उक्त जग्गा आफ्नो भएको दाबी गर्दै बर्दिवास–२ का श्रवण साहले वडा कार्यालयमा समेत निवेदन दिएको भेटिएको छ।
यस विषयमा सौर्य दैनिकले ‘वनको जग्गामा भू–माफियाको गिद्धे नजर’ शीर्षकमा भदौ १ गते समाचार प्रकाशन गरेको थियो।

समाचार प्रकाशन भएपछि सागरनाथ वन परियोजनाले घटनाको प्रतिवेदन तयार गरी भदौ ४ गते नै डिभिजन वन कार्यालय, महोत्तरीमा हस्तान्तरण गरेको भए पनि त्यसपछि कानुनी प्रक्रिया अघि बढ्न नसक्नुले विभिन्न आशंका उत्पन्न भएको छ।

स्थानीय देवनारायण महतोले स्थानीय जनप्रतिनिधि तथा राजनीतिक दलहरूको संरक्षणमा भू–माफियालाई जोगाउने प्रयास भइरहेको आरोप लगाएका छन्।

‘मसँग तथ्यहरू छन् कि स्थानीय राजनीतिक दल, जनप्रतिनिधि तथा वडाले नै बचाउन खोजिरहेको छ,’ महतोले भने, ‘वातावरण क्षतविक्षत बनाएर जग्गा हत्याउन खोज्ने प्रयास निकै दुःखद छ।’

अहिले डिभिजन वन कार्यालय, महोत्तरीका प्रमुख सूर्य मैनाली प्रदेश कार्यालयबाट सरुवा भएर आएका छन् भने यसअघि कार्यालय प्रमुख रहेका अजय मिश्र प्रदेश कार्यालयमा सरुवा भएका छन्।

तत्कालीन कार्यालय प्रमुख मिश्रले आफ्नो सरुवाको कारणसमेत यही वन काण्ड भएको बताएका छन्।

‘वन अतिक्रमण गर्नेहरूलाई बचाउन केही मानिसहरू लागिपरेका थिए। म कानुनी प्रक्रिया अगाडि बढाउँदै थिएँ,’ मिश्रले भने, ‘पछि त सरुवा पो भएछ।’

यता, अहिलेका कार्यालय प्रमुख मैनालीले घटनाको विषयमा आफू गम्भीर रहेको र प्राप्त प्रतिवेदनलाई आधार बनाएर थप अनुसन्धान भइरहेको बताएका छन्।

‘हामी त्यस ठाउँमा वृक्षारोपण गर्ने तयारी पनि गरिरहेका छौँ। कसैले उन्मुक्ति पाउँदैन,’ प्रमुख मैनालीले भने, ‘अनुसन्धान भइरहेको छ।’

तर, घटनाको प्रतिवेदन तयार गरी डिभिजन वन कार्यालयमा हस्तान्तरण गरेको एक महिना बितिसक्दासमेत कानुनी प्रक्रिया अघि नबढ्नुको कारण अहिले आम चासोको विषय बनेको छ।

सागरनाथ वन परियोजनाका शाखा प्रमुख प्रेम उपाध्यायले कसैले उन्मुक्ति नपाउने गरी प्रतिवेदन तयार पारिएको र आवश्यक कानुनी प्रक्रियाका लागि डिभिजन वन कार्यालयमा पठाइएको बताएका छन्।

‘हाम्रो प्रक्रियाअनुसार स्थलगत रिपोर्ट तयार गरेर प्रतिवेदनसहित डिभिजन वन कार्यालयलाई बुझाइसकेका छौँ,’ उपाध्यायले भने, ‘अब हामीले सिधै कानुनी प्रक्रियामा जाने प्रावधान छैन।’

सागरनाथ वन परियोजना, मधेश प्रदेशका निमित्त प्रमुख खेम सेन्चुरीले पनि प्रतिवेदनमै कारबाहीपछि जानकारी गराउनुपर्ने व्यहोरा उल्लेख गरिएको भन्दै परियोजनाले घटनालाई पछ्याइरहन नसक्ने बताएका छन्। उनका अनुसार प्रतिवेदन बुझाएपछि आवश्यक कारबाही गर्ने सम्पूर्ण अधिकार डिभिजन वन कार्यालयकै हुन्छ।

स्रोतका अनुसार घटनाको प्रतिवेदनमा श्रवण साहसहित चार जनालाई कारबाहीका लागि सिफारिस गरिएको छ।

वडाबाट संरक्षण गरेको आशंका

वडाले समेत बिरुवा नष्ट गर्नेहरूलाई संरक्षण गर्ने प्रयास गरिरहेको आरोप लागेको छ।
जग्गामाथि आफ्नो हकभोग रहेको दाबी गर्दै आएका श्रवण साहलाई वडाले हकभोगको सिफारिस दिएको स्वयं साहले बताएका छन्।

तर, वडा कार्यालयले भने हकभोगसम्बन्धी सिफारिस गरेको विषय अस्वीकार गर्दै आएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको वडा कार्यालयमा परेको निवेदनका आधारमा गत भदौ ५ गते वडा कार्यालयले दिएको पत्रमा उक्त जग्गामा हकभोगसम्बन्धी कुनै सिफारिस नगरिएको उल्लेख छ।

वडा अध्यक्ष श्यामराजा सिंहको हस्ताक्षरसहितको उक्त पत्रमा कसैले गलत विवरण पेस गरी हकभोगको सिफारिस लिएको पाइएमा वडा सहजीकरण समितिले स्थलगत अनुगमन गरी दाबी–विरोधको सूचना प्रकाशन गर्ने र सम्बन्धित पक्षले दाबी–विरोध गर्न पाउने उल्लेख गरिएको छ।

तर, श्रवण साहले भने वडाबाट हकभोगसम्बन्धी कानुनी प्रक्रिया पूरा गरेको दाबी गर्दै उक्त जग्गा आफ्नै परिवारको स्वामित्वमा रहेको बताएका छन्।

घटनामा कतिपय स्थानीय नेताहरू समेत साहको पक्षमा उभिएका छन्।

राष्ट्रिय भूमि अधिकार मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष फौदसिंह स्याङ्वाले उक्त जग्गा लामो समयदेखि व्यक्तिले नै हकभोग गर्दै आएको स्मरण गर्दै घटनाको थप छानबिन हुनुपर्ने माग गरेका छन्।
 

https://fileswarehouse.com/newskarkhana/videos/1789202928811_9c06a11b-ab0a-413a-b846-43efc8ac9201.jpg.jpg?X-Amz-Content-Sha256=UNSIGNED-PAYLOAD&X-Amz-Algorithm=AWS4-HMAC-SHA256&X-Amz-Credential=UK1831257KPP38AKWJ01%2F20260912%2Fus-west-1%2Fs3%2Faws4_request&X-Amz-Date=20260912T092427Z&X-Amz-SignedHeaders=host&X-Amz-Expires=550233&X-Amz-Signature=4588f537dd143a554712cab3f6298903a33aaa8c5687ebcc6a9e581ce40c651d

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।