सुनसरीमा ब्राउन सुगर सहित ५५ वर्षीय मेहता पक्राउ
सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित भित्री सडकखण्डबाट प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा हरिनगर–५ का ५५ वर्षीय नारायण मेहता रहेका छन्।
प्रहरी चौकी घुस्कीहाटबाट खटिएको टोलीले सोमबार साँझ भारतबाट नेपालतर्फ आउँदै गरेको को १–०२–०५८ प ८३७२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलको डिकीमा लुकाएर राखिएको ६.३३ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरेको हो।
प्रहरीका अनुसार मेहताको साथबाट नेपाली रुपैयाँ २५ हजार ४६५ र भारतीय रुपैयाँ ५५० समेत बरामद भएको छ।
मेहतालाई लागूऔषध, नगद र मोटरसाइकलसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको छ।

