बाढी संकटग्रस्त जिल्ला र स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरुसँग छलफल सुरु गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आइतबार बिहान ११ बजेबाट नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका विपद् प्रभावित १५ स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसभा सदस्यहरूसँग छलफल सुरु गरेका हुन् ।
प्रभावित क्षेत्रमा बाढीपछिको अवस्थाबारे समीक्षा, अहिलेको परिस्थिति, अब चाल्नुपर्ने कदम र पुनरुत्थानलगायतका विषयमा छलफल केन्द्रित रहने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
छलफलमा नुवाकोटका प्रतिनिधिसभा सदस्यहरू विक्रम तिमिल्सिना र अच्युतम लामिछाने तथा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, बेलकोटगढी मेयर जगतबहादुर गुरुङ, किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ र तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारी छन् ।
यसैगरी, रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्याल, कालिका अध्यक्ष हरिकृष्ण देवकोटा र आमाछोदिङमो अध्यक्ष बुचुङ तामाङ पनि सहभागी छन् । गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले भने अनलाइनमार्फत छलफलमा सहभागिता जनाएका छन् ।
धादिङको गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा, सिद्धलेक अध्यक्ष परशुराम खतिवडा, गजुरी अध्यक्ष गणेशलाल श्रेष्ठ र बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया छलफलमा उपस्थित छन् ।
तनहुँको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा र आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान तथा गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सिना पनि छलफलमा सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

