प्रधानमन्त्री भन्छन्- राष्ट्रको सुखद भविष्यका लागि बालबालिकामा लगानी

काठमाडौँ, २९ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् ।

राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले देशभित्र तथा विदेशमा रहेका सम्पूर्ण नेपाली बालबालिकामा सुख, समृद्धि, सुस्वास्थ्य, सफलता, बालमैत्री वातावरण र उत्कृष्ट भविष्यको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

‘बालअधिकारको सम्मान, संरक्षण र प्रवर्धनमा निरन्तर क्रियाशील अभिभावक, शिक्षक, जनप्रतिनिधि, राष्ट्रसेवक, नागरिक समाज, विकास साझेदार, सञ्चारजगत् तथा सम्पूर्ण सरोकारवालाप्रति हार्दिक सम्मान व्यक्त गर्दछु,’ उनले भनेका छन् । 

यस वर्ष ‘बालापनको रक्षा: भविष्यको सुरक्षा’भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइँदैछ । यस वर्षको नाराले बालबालिकाको वर्तमान सुरक्षित र अधिकारसम्पन्न बनाएर मात्र राष्ट्रको समृद्ध भविष्य निर्माण गर्न सकिन्छ भन्ने गहन सत्यलाई जोड दिएको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन् ।

नेपालले संयुक्त राष्ट्रसंघीय बालअधिकारसम्बन्धी महासन्धि, १९८९ को पक्ष राष्ट्रका रूपमा अनुमोदन गरी भेदभावरहित, सर्वोत्तम हित, जीवन–बाँच्न र विकास पाउने अधिकार तथा विचार व्यक्त गर्ने अधिकारमा आधारित सिद्धान्तप्रति अन्तरराष्ट्रिय प्रतिबद्धता जनाएको छ । ती मूल्य–मान्यतालाई नेपालको संविधानको धारा ३९ (बालबालिकाको हक), राष्ट्रिय बालबालिका नीति, २०८० र बालबालिकासम्बन्धी ऐन, २०७५ ले मौलिक हक तथा कानुनी अधिकारका रूपमा सुदृढ ढङ्गले सुनिश्चित गरेको प्रधानमन्त्रीले बताउनुभएको छ ।    

‘अबको हाम्रो मुख्य प्राथमिकता यी संवैधानिक तथा कानुनी अधिकारहरूलाई प्रत्येक बालबालिकाको दैनिक जीवनमा वास्तविक अनुभूति गराउनु हो । यसका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय, सहकार्य र उत्तरदायित्व बहन आवश्यक छ,’ प्रधानमन्त्रीले सन्देशमा भनेका छन् ।

‘संघले राष्ट्रिय नीति, कानुनी तथा संस्थागत आधारलाई सुदृढ बनाउने, प्रदेशले समन्वय र सेवाको विस्तार गर्ने, स्थानीय तहले बालबालिकाको सबैभन्दा नजिकको सरकारका रूपमा जोखिम पहिचान, संरक्षण, सेवा प्रवाह र बालमैत्री वातावरण निर्माण गर्ने गरी तीनै तहको प्रयासलाई एउटै परिणाममुखी दिशामा जोड्न आवश्यक छ’, सन्देशमा भनिएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।