जेन्जी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका एक कैदी पक्राउ
काठमाडौं । जेन्जी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ हरहरमहादेवबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पाँचथरको हिलिहाङ गाउँपालिका–९ घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ बस्दै आएका २७ वर्षीय रोशन माझी रहेका छन्।
प्रहरीका अनुसार उनलाई आइतबार राति करिब ९ बजे हरहरमहादेव क्षेत्रबाट पक्राउ गरिएको हो।
माझी जबरजस्ती करणी मुद्दामा सजाय भुक्तान गरिरहेका थिए। गत भदौ २४ गते भएको जेन्जी आन्दोलनका क्रममा झुम्का कारागारमा कैद भुक्तान गरिरहेको अवस्थामा उनी फरार भएका थिए।
प्रहरीले पक्राउपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।

