मगर महिला संघ यूकेको २९औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न
अल्डरसट, बेलायत । मगर महिला संघ यूकेको २९औँ स्थापना दिवस विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ।
संघले आइतबार, १३ सेप्टेम्बर २०२६ मा बेलायतको अल्डरसटस्थित ‘द प्यालेस रेस्टुरेन्ट’मा स्थापना दिवस मनाएको हो।
मगर महिला संघ यूकेकी अध्यक्ष सरला राना मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेका अध्यक्ष मेजर योगेश कोयी राई प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा मगर संघ यूकेका अध्यक्ष लालबहादुर पुन (लालु) मगर, संस्थापक अध्यक्ष थर्क राना मगर, निवर्तमान अध्यक्ष सीता पुन मगर तथा ट्रस्टीहरू क्याप्टेन ताम धेगा मगर र जमुना पुन मगर विशेष अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रमको पहिलो चरणमा सुरक्षा सम्बन्धी जानकारी, अतिथिहरूको आसनग्रहण, दीप प्रज्वलन तथा राष्ट्रिय गीत प्रस्तुत गरिएको थियो। त्यसपछि विश्वकीर्तिमानी हिमाल आरोही स्वर्गीय निर्मल पुर्जा, वर्षभरि दिवंगत भएका मगर समुदायका सदस्यहरू तथा भोटेकोशी बाढीमा ज्यान गुमाएका व्यक्तिहरूको चिरशान्तिको कामना गर्दै दुई मिनेट मौनधारण गरिएको थियो।
संघकी वरिष्ठ उपाध्यक्ष मनु पाइजा मगरले स्वागत मन्तव्य राखेको कार्यक्रममा औपचारिक सत्रको सञ्चालन महासचिव सरस्वती थापा मगरले गरेकी थिइन्। सांस्कृतिक कार्यक्रमको सञ्चालन सांस्कृतिक सचिव यमुना आले मगरले गरेकी थिइन्।
स्थापना दिवसका अवसरमा समाजसेवी गिभिना मगर, गायिका निता थापा मगर तथा मगर समुदायका १० जना महिला व्यवसायीलाई सम्मान गरिएको थियो। महिला उद्यमी तथा समाजसेवीहरूले समुदायमा पुर्याएको योगदानको कदर गर्दै सम्मानपत्र प्रदान गरिएको हो।
सोही अवसरमा मगर महिला संघ यूकेको स्विनडन शाखाले ‘लेडिज नाइट’ कार्यक्रममार्फत संकलन गरेको रकम समाजसेवी गिभिना मगरलाई हस्तान्तरण गरेको थियो। साथै, स्थापना दिवसका अवसरमा संकलन भएको रकम भोटेकोशी बाढीपीडितलाई सहयोगस्वरूप प्रदान गर्ने निर्णय गरिएको अध्यक्ष सरला राना मगरले जानकारी दिइन्।
कार्यक्रममा प्रमुख अतिथि मेजर योगेश कोयी राईसहित संस्थापक अध्यक्ष थर्क राना मगर, मगर संघ यूकेका अध्यक्ष लालबहादुर पुन (लालु) मगर र पूर्वउपाध्यक्ष अनिता राना मगरले शुभकामना मन्तव्य दिएका थिए।
वक्ताहरूले मगर महिला संघ यूकेले स्थापना कालदेखि नै मगर महिला तथा समुदायको सामाजिक, सांस्कृतिक र आर्थिक क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि संस्थाले थप प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा मगर संघ यूकेका पदाधिकारी तथा सल्लाहकार, विभिन्न शाखा समितिका अध्यक्ष तथा पदाधिकारीसहित मगर समुदायका सदस्यहरूको उल्लेख्य उपस्थिति थियो। स्थापना दिवसका अवसरमा विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिसमेत गरिएको थियो।
अध्यक्ष सरला राना मगरले कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभाव तथा प्रत्यक्ष–परोक्ष रूपमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरिन्।

