सप्तकोशीमा पानीको बहाव खतराको तहमा, कोशी ब्यारेजका २३ ढोका खोलिए
सुनसरी, ३० भदौ । लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको तहमा पुगेपछि कोशी ब्यारेजका २३ वटा ढोका खोलिएको छ।
ब्यारेज नियन्त्रण कक्षका अनुसार मङ्गलबार बिहान ७:१५ बजेको मापनअनुसार सप्तकोशीमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ८१ हजार ७७५ क्युसेक पुगेको छ। नदीमा जलसतह खतराको बिन्दु नाघिसकेको र पानीको बहाव अझै बढ्दो क्रममा रहेको जनाइएको छ।
पानीको बहाव लगातार बढेपछि स्थानीय प्रशासनले सुनसरी र सप्तरीका कोशी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। तटीय क्षेत्रमा बाढीको जोखिम बढ्न सक्ने भएकाले नदी किनारका बस्तीहरूलाई सुरक्षित रहन प्रहरी तथा स्थानीय प्रशासनले सचेत गराएका छन्।

