अस्वाभाविक मूल्यवृद्धि सहन नसक्ने भन्दै सदनमा सांसद केसीकाे आक्राेश
काठमाडौं, ३१ भदाै। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बढ्दो महँगीप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । धबारकाे प्रतिनिधिसभा बैठकमा उनले काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको अभाव र बजारमा अत्यावश्यक वस्तुमा चरम महँगी बढेकाे बताए ।
केसीले काठमाडौं उपत्यकामा दैनिक ४० हजार सिलिन्डर ग्यासको माग भए पनि आपूर्ति आधाभन्दा कम रहेको बताए । घन्टौँ लाइन बस्दा पनि ग्यास नपाउने तर कालोबजारमा प्रतिसिलिन्डर २ हजार ६ सय रुपैयाँसम्ममा सहजै पाइने अवस्था रहेको उनको भनाइ छ ।
‘काठमाडौँ उपत्यकामा दैनिक ४० हजार सिलिन्डर ग्यासको माग हुँदा आपूर्ति आधाभन्दा कम छ । घन्टौँ लाइन बस्दा पनि ग्यास नपाइने तर कालोबजारमा सजिलैसँग २६०० रुपैयाँ पाइने जुन खालको स्थिति छ, यसले राज्यको अस्तित्व र उपस्थितिलाई गम्भीर रूपबाट प्रश्न उठाएको छ । यो अस्वाभाविक बजार चक्र सङ्कटको आडमा रचिएको घिनौना लुट हो,’ उनले भने .
कानुनी अधिकारको दुहाई दिँदै अनुगमन निकायहरू मूकदर्शक र निरीह बन्नु सरकारको गैरजिम्मेवारीपन भएको उनले बताए । ‘२० प्रतिशतभन्दा बढी नाफा लिन नपाइने नियम केवल कागजमा मात्र सीमित छ । विपद्को बेला नागरिकको चुलो बलेको सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व हो । तर सरकारी निकायहरू यो दुःखको बेला मौनताले आहत जनताको घाउमा नुनचुक छर्किने काम गरिरहेका छन्,’ उनले भने .
रसुवा र नुवाकोटमा आएको भीषण बाढीको तीन हप्ता बितिसक्दा पनि उद्धार तथा राहत प्रभावकारी हुन नसकेको भन्दै केसीले संसद्बाट उच्चस्तरीय समिति गठन गर्न माग गरे । उनले भने, ‘रसुवा, नुवाकोटमा आएको भीषण बाढीको दुःखद वितण्डा तीन हप्ता नाग्यो । यसले हजारौँ नागरिकको जीउज्यान समाप्त पारे, जीवित रहेका दसौँ हजारको पारिवारिक जीवन उजाडेको छ । भने पाँच हजारभन्दा बढी सर्वसाधारण अझै बेपत्ता छन्। खोजी कार्य अझै जारी छ ।’
बाढी-पहिरोको संकटका बीच बजारमा खाद्यान्न तथा इन्धनको मूल्य अस्वाभाविक रूपमा बढाइएको भन्दै केसीले कालोबजारी नियन्त्रण गर्न सरकारसँग माग गरे । उनले भने, ‘राष्ट्रिय शोकको, शोक र विपत्तिको यो कठिन घडीमा हामी सम्पूर्ण एकताबद्ध भई बाढी पीडितहरूको उद्धार, राहत र पुनर्स्थापना कार्यमा राज्यलाई सहयोग गर्न चाहन्छौँ। तर त्यसको बाबजुद पनि जुन त्रासदी, यो अहिले देखिएका त्रासदी बाढी–पहिरोको आडमा आम जनताको भान्सामा माथि भइरहेको निर्लज्ज, अस्वाभाविक र निरङ्कुश मूल्यवृद्धिले अब मौन बस्नु उपयुक्त देखिँदैन।’
उनले चामल, तेल, चिनी, मासु, अण्डा लगायतका खाद्य वस्तुको मूल्य बढेको उल्लेख गर्दै महँगी नियन्त्रणमा सरकारले तत्काल कदम चाल्नुपर्ने बताए । कृत्रिम अभाव सिर्जना गरी खाद्यान्न तथा इन्धनको मूल्य बढाउँदा गरिब तथा मध्यमवर्गीय परिवार थप समस्यामा परेको उनले बताए ।

