ओखलढुङ्गामा ढुङ्गा बोकेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
ओखलढुङ्गा । ओखलढुङ्गामा ढुङ्गा बोकेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–९ राघवपुरस्थित मानेभञ्ज्याङ–राघवपुर भित्री कच्ची सडकखण्डमा लु.४ त १६७२ नम्बरको ट्याक्टर दुर्घटना भएको हो। ढुङ्गा लोड गरी मानेभञ्ज्याङतर्फ जाँदै गरेको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा ट्याक्टरमा सवार मानेभञ्ज्याङ गाउँपालिका–८ का २० वर्षीय नवीन पुलामी मगर र ६२ वर्षीय छबिलाल तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको छ।
ट्याक्टरमा सवार सोही ठाउँका २९ वर्षीय तुलसी थापा मगर र २८ वर्षीय भीमबहादुर सार्की तथा चालक २५ वर्षीय मिलन राई भने सकुशल रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको खबर पाएपछि प्रहरी चौकी मानेभञ्ज्याङ र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको टोलीले उद्धार गरेको थियो। दुर्घटनामा ट्याक्टर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
प्रहरीले चालक मिलन राईलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

