बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध, कृष्णभीर सञ्चालनमा

काठमाडौं, १ असोज । बाढी, पहिरो तथा सडक कटानका कारण देशका विभिन्न जिल्लाका राजमार्ग तथा प्रमुख सडकखण्डमा सवारी आवागमन गम्भीर रूपमा प्रभावित भएको छ। लगातारको वर्षा र विपद्का कारण केही सडक पूर्ण रूपमा ठप्प भएका छन् भने केही सडकखण्डमा जोखिम न्यूनीकरणका लागि निश्चित समय तोकेर मात्र सवारी सञ्चालन गर्न दिइएको छ।

यसैबिच, धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरस्थित पृथ्वी लोकमार्गमा त्रिशूली नदीको कटानका कारण भासिएको सडक मर्मतपछि आज बिहान ६ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। सडक सुचारु भएसँगै रोकिएका सवारीसाधनहरू गन्तव्यतर्फ लाग्न थालेका छन्।

उता रसुवा जोड्ने पासाङ ल्हामु राजमार्ग भने पूर्ण रूपमा अवरुद्ध बनेको छ। त्रिशूली नदीको कटान र बाढीले सडकको अधिकांश भाग नष्ट गरेपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी कच्ची सडक तथा त्रिशूली–बेत्रावती हुँदै रसुवागढी नाका जोड्ने मुख्य राजमार्ग ठप्प भएको हो। प्रहरीका अनुसार हाल काठमाडौँ–टोखा–छहरे–विदुर–नुवाकोट दरबार हुँदै स्याफ्रुबेँसी पुग्ने वैकल्पिक ‘सिंगल लेन’ कच्ची सडक प्रयोग गरी यातायात सञ्चालन भइरहेको छ।

काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी–सिन्धुली सडकखण्डमा भने निजी तथा सार्वजनिक यात्रुवाहक सवारीसाधनका लागि बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्मको समय निर्धारण गरिएको छ। १० टनसम्मका मालबाहक तथा ढुवानीका साधनलाई भने बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म मात्र सञ्चालन हुन दिने व्यवस्था मिलाइएको छ।

यसैगरी, नुवाकोटको टोखा–छहरे सडकखण्डमा वर्षाका कारण जोखिम बढेपछि अर्को सूचना जारी नभएसम्मका लागि राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यकबाहेकका सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा तुइनखोला परियोजनाको माटो कटान कार्य चलिरहेकाले हरेक दुई घण्टा सडक बन्द गरी ३० मिनेट खुलाउने तालिका अनुसार सवारी साधन सञ्चालन गराइएको छ।

उता हुम्लाको सर्केगाड गाउँपालिका–४ मिलनचोकस्थित कर्णाली करिडोर र मनाङको नासो गाउँपालिका–३ खोत्रोस्थित चामे–बेँसीसहर सडकखण्डमा पनि माथिबाट पहिरो खसेका कारण सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।