इटहरीबाट ब्राउन सुगर र नगद सहित २३ वर्षीय युवक पक्राउ
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–८ भोजपुरे टोलबाट प्रहरीले ब्राउन सुगरजस्तो देखिने पदार्थ र नगदसहित एक युवकलाई पक्राउ गरेको छ।
बुधबार राति करिब ८ः१० बजे लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले स्थानीय २३ वर्षीय मोहमद अफ्रोज हुसेनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उनको साथबाट ब्राउन सुगरजस्तो देखिने पदार्थ १५ ग्राम ९७० मिलिग्राम र नगद १८ हजार १८० रुपैयाँ बरामद भएको छ।
पक्राउ परेका हुसेनलाई बरामद लागूऔषध र नगदसहित इलाका प्रहरी कार्यालय इटहरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

