इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा धनकुटाका युवकको मृत्यु
सुनसरी । इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार एक जना घाइते भएका छन्।
कोशी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–४ आर्मी क्याम्पनजिक शुक्रबार बिहान करिब ४ः३० बजे दुर्घटना भएको हो।
प्रहरीका अनुसार पानी परिरहेका बेला उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १९ प ३१५० नम्बरको मोटरसाइकल सडकमा चिप्लिएर अनियन्त्रित भई डिभाइडरमा ठोक्किएको थियो।
दुर्घटनामा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ वर्षीय चालक अनिल राई गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि सामुदायिक अस्पताल इटहरी लगिए पनि थप उपचारका लागि विराट शिक्षण अस्पताल, बूढीगंगा रेफर गरिएको थियो।
अस्पताल पुर्याएलगत्तै चिकित्सकले बिहान ५ः२० बजे राईलाई मृत घोषणा गरेको कोशी प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी दीपक गिरीले जानकारी दिए।
मोटरसाइकलको पछाडि सवार भिरगाउँकै २६ वर्षीय सन्दीप राई घाइते भएका छन्। उनको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानमा पानी परेका कारण सडक चिप्लो हुँदा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

