कुकुरलाई पुलबाट सेती नदीमा फाल्ने महिला पक्राउ
बझाङ । बझाङमा कुकुरलाई पुलबाट सेती नदीमा फालेको आरोपमा एक महिला पक्राउ परेकी छन्।
जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फाल्ने जयपृथ्वी नगरपालिका–३ पडेष गाउँकी ४२ वर्षीया बिमला देवी रोकायालाई प्रहरीले पक्राउ गरेको हो।
पानकोट पुलको पश्चिम किनारामा रहेको रेलिङको पाइपमुनिबाट एक महिलाले कुकुरलाई धकेलेर सेती नदीमा फालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। भिडियो सार्वजनिक भएपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा कुकुरलाई पुलबाट फाल्ने महिला रोकाया रहेको खुलेपछि उनलाई भदौ १ गते बेलुकी पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पशुपन्छीप्रति निर्दयी व्यवहार गरेको घटनाबारे पक्राउ परेकी रोकायामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

