कोशीमा संविधान दिवसको मूल समारोहको तयारी पूरा
विराटनगर । कोशी प्रदेश सरकारले असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य रूपमा मनाउने भएको छ। प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाका अनुसार विराटनगरस्थित शहीद रंगशालामा हुने मूल समारोहको सम्पूर्ण तयारी पूरा भएको छ।
असोज ३ गते बिहान ६ः३० बजे विराटनगरस्थित आदर्श माध्यमिक विद्यालय अगाडिबाट प्रभातफेरी सुरु हुनेछ। प्रभातफेरीपछि शहीद रंगशालामा प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यता तथा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मूल समारोह आयोजना हुनेछ।
मूल समारोहको मुख्य आकर्षणका रूपमा विभिन्न १६ जातजाति तथा भाषाभाषीको सांस्कृतिक झाँकी प्रतियोगिता आयोजना गरिनेछ। कार्यक्रममा खेलकुद प्रदर्शन, चर्चित कलाकारहरूबाट राष्ट्रिय गीत प्रस्तुति तथा पुरस्कार वितरणलगायत कार्यक्रम हुने जनाइएको छ।
संविधान दिवसकै अवसरमा असोज २ गते प्रदेश खेलकुद बोर्डको आयोजनामा ‘कोशी दौडन्छ’ रोड रेस तथा म्याराथन दौड सम्पन्न भएको छ। रोड रेसको उद्घाटन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका थिए।
त्यस्तै, सामाजिक विकास मन्त्रालयको आयोजनामा ‘जलवायु परिवर्तन र विपद् व्यवस्थापनमा प्रदेश सरकारको भूमिका’ विषयक खुला निबन्ध प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा भोजपुरको रामप्रसाद राई गाउँपालिकाका दुर्गाप्रसाद नेपाल प्रथम, काठमाडौंकी रविना महर्जन द्वितीय र धादिङका सम्राट श्रेष्ठ तृतीय भएका छन्।
सान्त्वना पुरस्कार ओखलढुङ्गाकी निहारिका धमला, संखुवासभाकी सावित्रा पन्त सुवेदी र इटहरीकी अनुशा रावतले प्राप्त गरेका छन्।
संविधान दिवसको अवसरमा अन्तरसंवाद तथा भिडियो प्रतियोगितासमेत आयोजना गरिनेछ। असोज ४ गते स्वास्थ्य मन्त्रालयको अगुवाइमा रक्तदान तथा पर्यटन, वन तथा वातावरण मन्त्रालयको अगुवाइमा वृक्षरोपण कार्यक्रम आयोजना गर्ने तयारी छ।
कार्यक्रमको समग्र समन्वय तथा अनुगमन आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गरिरहेको छ।

