घरअगाडि खेलिरहेका ६ वर्षीय बालकलाई ट्याक्टरले ठक्कर दिँदा मृत्यु
रौतहट, १४ असोज । रौतहटको गढीमाई नगरपालिका–७ धरमपुरमा ट्याक्टरको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु भएको छ।
बुधबार बिहान करिब ९ः१५ बजे धरमपुरबाट पौराहीतर्फ जाँदै गरेको ना.६ त ८४९२ नम्बरको ट्याक्टरले घरअगाडि सडकमा खेलिरहेका स्थानीय छोटेलाल यादवका ६ वर्षीय छोरा रितिक यादवलाई ठक्कर दिएको थियो।
ट्याक्टरको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका रितिकलाई उपचारका लागि गरुडा–स्थित बेटर नेपाल अस्पताल पुर्याइएको थियो।
उपचारकै क्रममा बिहान १०ः३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
दुर्घटनापछि ट्याक्टर चालक सवारीसाधन घटनास्थलमै छाडेर फरार भएका छन्। प्रहरीले उनको खोजी गरिरहेको छ।
प्रहरीले घटनामा प्रयोग भएको ट्याक्टरका धनी स्थानीय सञ्जीव यादवलाई नियन्त्रणमा लिएको छ। ट्याक्टरलाई प्रहरी चौकी धरमपुरमा राखिएको छ।
घटनाको अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय गरुडाबाट इन्स्पेक्टर प्रमोद खड्काको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

