मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, एकजना घाइते
मोरङ । मोरङको लेटाङ नगरपालिका–९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।
असोज १६ गते राति १०ः३५ बजे जाँते बजारबाट पथरीतर्फ जाँदै गरेको मे.४ प ७४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा झापा घेराबारीका २७ वर्षीय मोटरसाइकल चालक कुमार नेपाली, सोही ठाउँका २५ वर्षीय सन्देश नेपाली र मोरङको पथरीशनिश्चरे गाउँपालिका–८ का ३२ वर्षीय अमर नेपाली घाइते भएका थिए।
घाइतेमध्ये कुमार नेपालीको उपचारका क्रममा असोज १६ गते राति १२ बजे र सन्देश नेपालीको असोज १७ गते बिहान १२ः०४ बजे चिकित्सकले मृत्यु भएको घोषणा गरेका हुन्।
अमर नेपालीको न्युरो अस्पताल, विराटनगरमा उपचार भइरहेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


