झापामा भूमिगत डिजेल ट्यांकी विस्फोट हुँदा आगलागी, चालक घाइते
झापा । झापाको शिवसताक्षी नगरपालिका–१०, टेक्रास्थित पार्वती अम्बिका कन्ट्रक्सन कम्पनीको परिसरमा भूमिगत डिजेल ट्यांकी विस्फोट हुँदा आगलागी भएको छ। घटनामा टिपर चालक घाइते भएका छन्।
आइतबार राति करिब ७ः३० बजे जमिनमुनि गाडिएको ट्यांकीबाट टिपरमा डिजेल लोड गर्ने क्रममा विस्फोट भएर आगलागी भएको प्रहरीले जनाएको छ। ट्यांकीमा करिब ९ हजार ५०० लिटर डिजेल भण्डारण गरिएको थियो।
आगलागीमा परी इलामको माङ्सेबुङ गाउँपालिका–३ का ३५ वर्षीय टिपर चालक कोफियत राई घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको छ।
आगलागीबाट टिपरमा सामान्य क्षति पुगेको छ भने ट्यांकीमा रहेको सबै डिजेल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।


