धनकुटा नगरपालिकामा भोलि शोक बिदा
धनकुटा,१० कार्तिक । धनकुटा नगरपालिकाले वडा नं. ७ की दलित महिला वडा सदस्य आशा कामीको निधनको शोकमा बुधबार नगर क्षेत्रका सरकारी कार्यालय तथा विद्यालयमा शोक बिदा दिने निर्णय गरेको छ।
नगरपालिकाले आज एक सूचना जारी गर्दै ५३ वर्षीया वडा सदस्य कामीको आज भएको असामयिक निधनप्रति दुःख व्यक्त गरेको हो।
नगरपालिकाका अनुसार कात्तिक ११ गते बुधबार नगर क्षेत्रभित्रका नगरस्तरीय कार्यालय तथा सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयमा शोक बिदा दिइनेछ।
नगरपालिकाले दिवंगत कामीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेको छ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरबहादुर भुजेलद्वारा जारी सूचनामा प्रमुखस्तरीय निर्णयअनुसार शोक बिदा दिइएको उल्लेख छ।


