कांग्रेस कोशी सभापतिमा उमेश थापाको औपचारिक उम्मेदवारी घोषणा

मोरङ, १४ कात्तिक । नेपाली कांग्रेस कोशी प्रदेश समितिका महामन्त्री उमेश थापाले प्रदेश सभापति पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्।

शुक्रबार सुनसरी क्षेत्र नम्बर १ का नवनिर्वाचित महाधिवेशन प्रतिनिधि तथा क्षेत्रीय र प्रदेश कार्यसमितिका पदाधिकारीलाई प्रमाणपत्र वितरण एवं शपथ ग्रहण कार्यक्रममा उनले उम्मेदवारी घोषणा गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यसअघि आफ्ना शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत आफूलाई सभापतिको उम्मेदवारका रूपमा प्रचार गर्दै आएको उल्लेख गर्दै भने, ‘आज यसै सभाबाट म औपचारिक रूपमा कांग्रेसको कोशी प्रदेश सभापतिमा उम्मेदवार भएको घोषणा गर्दछु।’

पहिलो प्रदेश महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित थापाले आगामी दोस्रो प्रदेश महाधिवेशनबाट कांग्रेसलाई कोशी प्रदेशको पहिलो र प्रभावशाली पार्टी बनाउने लक्ष्यसहित सभापतिमा उम्मेदवारी दिन लागेको बताए। उनले पन्ध्रौँ महाधिवेशनबाट पार्टीमा आएको गतिशीलता र उत्साहलाई निरन्तरता दिन सक्षम नेतृत्व आवश्यक रहेको धारणा राखे।

उम्मेदवारीको तयारीका क्रममा वर्तमान प्रदेश सभापति तथा पूर्वमुख्यमन्त्री उद्धव थापासँग पनि छलफल गरेको उनले बताए। उद्धव थापाले आफू पुनः सभापतिको उम्मेदवार नबन्ने जानकारी गराएको उमेश थापाको भनाइ छ। यद्यपि, सहमतिका आधारमा नेतृत्व चयन गर्ने सम्भावनाबारे पार्टी सभापति गगन थापासहित अन्य नेताहरूसँग छलफल गर्न बाँकी रहेको उनले स्पष्ट पारे।

नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका उमेश थापाले सुनसरी क्षेत्र नम्बर १ बाट अत्यधिक मतसहित महाधिवेशन प्रतिनिधि जितेका हुन्। क्षेत्रीय अधिवेशनका क्रममा धरान उपमहानगर समिति सर्वसम्मत बनाउनेदेखि क्षेत्रीय समितिमा स्वच्छ प्रतिस्पर्धाको वातावरण निर्माण गर्नेसम्म आफ्नो भूमिका रहेको उनीनिकट नेताहरूको भनाइ छ।

थापाको उम्मेदवारी घोषणापछि सुनसरी क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति तिलक राईले यसलाई युवा नेतृत्वमा आएको नयाँ उत्साहका रूपमा व्याख्या गरे। उनले महामन्त्रीका रूपमा थापाले गरेको नेतृत्वलाई निरन्तरता दिन क्षेत्र नम्बर १ का आधिकारिक प्रतिनिधिहरू एकढिक्का हुनुपर्ने बताए। ‘यस विषयमा हामी द्विविधामा रहनु हुँदैन,’ राईले भने।

कोशी प्रदेश सभापतिका लागि वर्तमान उपसभापति रमेशजंग रायमाझी र मोरङ सभापति डिगबहादुर लिम्बूसमेत आकांक्षी देखिएका छन्। आगामी मङ्सिरको अन्तिम सातातिर हुने भनिएको कांग्रेस कोशी प्रदेशको दोस्रो महाधिवेशनमा नेतृत्व चयनका लागि प्रतिस्पर्धा हुने देखिएको छ।

यसैबीच, कार्यक्रममा सुनसरी क्षेत्र नम्बर १ मा असोज ११ र १२ गते सम्पन्न महाधिवेशनबाट निर्वाचित महाधिवेशन प्रतिनिधि, प्रदेश अधिवेशन प्रतिनिधि, संसदीय क्षेत्रीय समिति तथा प्रदेश क्षेत्र (क) र (ख) का सभापति एवं कार्यसमिति सदस्यहरूलाई निर्वाचन समितिले प्रमाणपत्र वितरण गरेको थियो।

नवनिर्वाचित प्रतिनिधि तथा पदाधिकारीहरूले नेपाली कांग्रेसको प्रतिज्ञापत्र सामूहिक रूपमा वाचन गर्दै शपथ ग्रहण गरेका थिए। निर्वाचन अधिकृत अधिवक्ता अनिता राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा निर्वाचन अधिकृत विष्णु बरालले शपथ ग्रहण सञ्चालन गरेका थिए भने निर्वाचन अधिकृत हर्ष सुब्बाले प्रमाणपत्र वितरण तथा धन्यवाद ज्ञापन गरेका थिए।

कार्यक्रममा प्रदेश (क) का सभापति सन्तोष लिम्बू र प्रदेश (ख) का पूर्वसभापति मुरारी भट्टराईले सुनसरी क्षेत्र नम्बर १ को अधिवेशन उदाहरणीय भएको बताएका थिए। कोशी प्रदेशसभा सदस्य ममता तामाङको समेत उपस्थिति रहेको कार्यक्रममा उनी सुनसरी क्षेत्र नम्बर १ को प्रदेश (ख) बाट निर्वाचित महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी थिइन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖