जहाँ नेपाली त्यहाँ रक्तदान : दुबईमा डिसेम्बर ६ मा सातौं बृहत् रक्तदान हुदै
सचिन्द्र श्रेष्ठ,यूएई । यूएईमा मानवीय सेवाको पर्याय बनेको नेपाली रक्तदाता संघ (NBDA) यूएईले दुबईमा सातौं बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।निको पोलिक्लिनिकको आयोजना र NBDA यूएईको समन्वयमा हुन लागेको यो कार्यक्रम आगामी ६ डिसेम्बर, आईतबार दुबईस्थित DHA Headquarters, Al Jaddaf मा आयोजना हुनेछ।
कार्यक्रमको बारेमा जानकारी दिँदै संघका अध्यक्ष गोपिनी शाहले प्रवासमा नेपालीहरुबीच रक्तदानको संस्कारलाई स्थापित गर्न यो अभियान सुरु गरिएको र यसले दिन प्रतिदिन बृहत् रुप लिँदै गएको बताउनुभयो।”रक्तदान केवल कार्यक्रम होइन, यो जीवन बचाउने महाअभियान हो। सातौं संस्करणसम्म आइपुग्दा हामीले पाएको माया र साथले हामीलाई थप हौसला दिएको छ,” अध्यक्ष शाहले भन्नुभयो।
त्यस्तै संघका सचिव सचिन्द्र श्रेष्ठले कार्यक्रमको सम्पूर्ण तयारी तीव्र पारिएको जानकारी दिँदै यूएईमा रहेका सम्पूर्ण नेपाली संघसंस्था, समाजसेवी तथा नेपाली समुदायलाई सहभागी भई रक्तदान गरिदिन अनुरोध गर्नुभएको छ।
“सहभागीहरुको सहजताका लागि हामीले बरदुबईबाट कार्यक्रम स्थलसम्म निःशुल्क बसको व्यवस्था गरेका छौं। सबैजना आएर रक्तदान गरी पुण्य कमाउनु हुनेछ भन्ने आशा लिएका छौं,” सचिव श्रेष्ठले बताउनुभयो। ‘हाम्रो विश्वव्यापी अभियान, जहाँ नेपाली त्यहाँ रक्तदान’ भन्ने मूल नाराका साथ NBDA ले यूएईमा निरन्तर मानवीय सेवा गर्दै आइरहेको छ।


