कर्णालीमै पहिलोपटक देउती यातायातले भित्र्यायो उच्च प्रविधिका बीएस सिक्स बस
सुर्खेत, १७ कात्तिक । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि काठमाडौंका लागि यात्रा गर्न चाहने यात्रुका लागि देउती नागरिक यातायात प्रा.लि.ले उच्च प्रविधिसहितका ८ वटा बस भित्र्याएको छ ।
कर्णालीमा पहिलोपटक उक्त कम्पनीले बीएस सिक्स मोडेलका बसहरु भित्र्याएको अध्यक्ष कमल खड्काले जानकारी दिए । ‘गोल्डेन भेन्चर नामक अत्याधुनिक आठओटा बस ल्याएका छौँं । थप तीनवटा बस आइरहेका छन् । यी बसहरुको कुल लागत एक करोड ५० लाख पर्न गएको छ,’ अध्यक्ष खड्काले भने, ‘सुर्खेत-काठमाडौं रुटमा यात्रा गर्ने यात्रुलाई आरामदायी यात्रा गराउने योजनाअनुरुप कम्पनी सधैं लागि परेको छ ।’
उनका अनुसार गाडीमा खराबी आएमा, वा अन्य कुनै समस्या देखिएमा उक्त गाडीले चालकलाई जानकारी दिने गर्दछ । गाडीमा ४५ वटा आरामदायी सिट र स्लिपर नाैवटा छन् । यी गाडीहरुमध्ये चारवटा गाडी सुर्खेत बसपार्कबाट दुईवटा क्युमा छुट्ने छन् ।
कोहलपुर हुँदै बुटवल काठमाडौं जाने रुटका लागि बसपार्कबाट साढे चार र साढे पाँच बजेका लागि बस छुट्ने समय तोकिएको छ भने विएस ३ बसहरु सुर्खेतको मालारानी, लमही हुँदै काठमाडौं जाने रुटका लागि साढे दुई बजे गाडी छुट्ने समय तालिका बनाइएको छ ।
यसैबीच कम्पनीले सञ्चालन गर्दै आएका रुटहरुका उत्कृष्ट चालकलाई सोमबार एक कार्यक्रमबीच नगद पुरस्कार र सम्मान गरेको छ ।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री मिलन खड्काको उपस्थितिमा जुम्ला, दैलेख, काठमाडौंलगायतका रुटमा गाडी चलाउने उत्कृष्ट चालकलाई जनही नगद पाँच हजार र प्रमाणपत्रसहित पुरस्कृत गरिएको हो ।


