मधेशका अर्थमन्त्री भट्टराईको पहलमा चन्द्रपुरदेखि वृन्दावनसम्म ७० बढी योजना

सञ्जय मिश्रा/ रौतहट, १७ कात्तिक। चुनावका बेला विकासको आश्वासन दिने तर निर्वाचित भएपछि जनताको अपेक्षाअनुसार काम गर्न नसक्ने जनप्रतिनिधिको आलोचना भइरहेका बेला रौतहट क्षेत्र नम्बर ४ (क) मा भने विकास निर्माणका योजनाले गति लिएको छ।

२०७९ सालको प्रदेशसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराई (समीर) को पहलमा चन्द्रपुर र वृन्दावन नगरपालिकाका विभिन्न वडामा ७० भन्दा बढी विकास योजना सञ्चालन तथा सम्पन्न भएका छन्।

माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेतासमेत रहेका भट्टराईले सडक पूर्वाधार, सिँचाइ, खानेपानी, तटबन्ध, शिक्षा, धार्मिक तथा सामुदायिक संरचनालाई प्राथमिकता दिँदै विकासका काम अघि बढाएका हुन्।

चन्द्रपुर नगरपालिका वडा नम्बर १ स्थित क्यान्टिन बजारमा एक करोड १० लाख रुपैयाँको लागतमा तटबन्ध निर्माण गरिएको छ। चाँदी नदीको बाढीबाट वर्षौंदेखि प्रभावित हुँदै आएको बस्तीलाई संरक्षण गर्न निर्माण गरिएको तटबन्धले स्थानीयलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ। सोही वडामा जनताको आधारभूत विद्यालयको पक्की भवन, बलेरीस्थित प्रणामी मन्दिरमा विवाह भवन, डोबानटोलमा सडक ढलान र टेकानटोलमा तटबन्ध निर्माण गरिएको छ।

चन्द्रपुर वडा नम्बर २ मा फुलबारी नयाँ बस्ती र अनर्वा सडक कालोपत्रे, असनवामा सिँचाइ कुलो, चिमनीटोलमा सडक ढलान तथा कल्भर्ट, विवाह भवन र मन्दिर निर्माण भएका छन्। वडा नम्बर ३ मा सिँचाइ कुलो, प्रणामी मन्दिर, भोलनटार र अरुण बस्तीमा सडक कालोपत्रे तथा ढलान गरिएको छ।

त्यस्तै वडा नम्बर ४ मा सडक कालोपत्रे, पैनिटोलमा सडक ढलान र योगा भवन, वडा नम्बर ५ मा ओमशान्ति भवन, किरियापुत्री भवन, नाला तथा सडक निर्माण भएका छन्। वडा नम्बर ६ मा गुम्बा र नाला निर्माण, वडा नम्बर ७ मा नागिनटोल सिँचाइ कुलो, नयाँ बस्तीमा नालासहित कालोपत्रे तथा मदरसा परिसरमा पर्खाल निर्माण गरिएको छ।

वडा नम्बर ८ मा विद्यालय भवन, शिवमन्दिर, सडक ढलान तथा सिँचाइ व्यवस्थापन गरिएको छ। यसबाट करिब १०० बिघा खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुग्ने बताइएको छ। वडा नम्बर ९ मा चेतनगरको सडक कालोपत्रे तथा भुसहामा आवास र मस्जिद निर्माण भएका छन्। वडा नम्बर १० मा बरेडवा–बालचनपुर सडक, तटबन्ध, आवास निर्माण, बलुवामा सडक ढलान र श्रीनगरमा नाला निर्माण गरिएको छ।

यसैगरी वृन्दावन नगरपालिकामा पनि सडक, खानेपानी र सामुदायिक पूर्वाधारका योजना अघि बढेका छन्। वडा नम्बर १ मा चाँदी पुलनजिक मन्दिर, छठघाट र ब्रह्मबाबा मन्दिर निर्माण तथा सडक ढलान गरिएको छ। वडा नम्बर २ मा विवाह भवन र मण्डप निर्माणसँगै एक करोड ११ लाख रुपैयाँको लागतमा खानेपानी ट्यांकी निर्माणका लागि टेन्डर प्रक्रिया अघि बढाइएको छ।

वडा नम्बर ३ मा रामटोल र पूर्वारीटोलमा सडक ढलान तथा कृषि सडक निर्माण, वडा नम्बर ४ मा योगा भवन र रमजानकी मन्दिर निर्माण गरिएको छ। वडा नम्बर ७ को सखुबाबा धमौरास्थित मदरसा इस्लामिया फैजुल उलुमको विद्यालय परिसरमा पर्खाल निर्माण भएको छ।

यस क्षेत्रको अर्को ठूलो आयोजना विश्रामपुर, बेनौली, करकटिया र हरदियामा नालासहित सडक कालोपत्रे निर्माण हो। उक्त योजनाको लागत १२ करोड ७८ लाख रुपैयाँ रहेको छ।

विकास योजनाको प्रकृति हेर्दा भट्टराईले ग्रामीण सडक विस्तारसँगै बाढी नियन्त्रण, कृषि सिँचाइ, खानेपानी र शिक्षा क्षेत्रलाई समेत प्राथमिकता दिएको देखिन्छ। यद्यपि निर्माण भएका योजनाको गुणस्तर, दिगोपना र जनताले प्राप्त गरेको वास्तविक लाभको मूल्यांकन पनि उत्तिकै आवश्यक छ।

भट्टराईले पहिलो चरणमा आफ्नो क्षमताले भ्याएसम्म निर्वाचन क्षेत्रमा विकासका काम गराएको बताउँदै क्षेत्रवासीले पुनः अवसर दिएमा विकास निर्माणमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖