पोस्टमार्टम प्रक्रियामा सुधार गर्न पाख्रीबास नगरपालिकाको सरकारसँग माग
धनकुटा । पाख्रीबास नगरपालिकाले विभिन्न भवितव्य घटना, दुर्घटना तथा आत्महत्याका घटनामा मृत्यु भएका व्यक्तिको शव परीक्षण (पोस्टमार्टम) प्रक्रियाका कारण मृतकका परिवारले भोग्नुपरेको आर्थिक तथा मानसिक सास्ती अन्त्य गर्न सरकारसँग माग गरेको छ।
नगर प्रमुख ज्ञानबहादुर गुरुङद्वारा हस्ताक्षरित कात्तिक २० गतेको पत्रमार्फत नगरपालिकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयको ध्यानाकर्षण गराउँदै पोस्टमार्टमसम्बन्धी विद्यमान कानुनी तथा प्रशासनिक प्रक्रियामा सुधार गर्न माग गरेको हो।
पत्रमा पोस्टमार्टमका लागि जिल्ला सदरमुकामसम्म पुग्नुपर्ने बाध्यताले शोकमा रहेका मृतकका परिवारलाई थप आर्थिक भार र मानसिक पीडा खेप्नुपरेको उल्लेख गरिएको छ।
नगरपालिकाले स्थानीय सरकार, स्थानीय प्रशासन र मृतकका परिवारको रोहवरमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव सम्बन्धित परिवारलाई जिम्मा लगाउन सकिने व्यवस्था गर्न कानुन संशोधन गर्न आग्रह गरेको छ।
त्यस्तै, हालसम्मको पोस्टमार्टम प्रक्रियाबाट पीडित परिवारले के-कति राहत पाएका छन् भन्ने विषयमा समेत सरकारले समीक्षा गर्नुपर्ने पत्रमा उल्लेख छ।
पुरानो कानुनी तथा प्रशासनिक प्रक्रियाका कारण नागरिकले अनावश्यक सास्ती भोग्नुपरेको भन्दै नगरपालिकाले समयानुकूल कानुन संशोधन गरी सहज र व्यावहारिक व्यवस्था गर्न सरकारसँग माग गरेको छ।


