माइक्रोबस दुर्घटना : १४ जना घाइते, ९ जनाको पहिचान खुल्यो
सिन्धुली । सिन्धुलीको बीपी राजमार्गअन्तर्गत गोलन्जोर गाउँपालिका–७ पलासेमा यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
मंगलबार दिउँसो जनकपुरबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०४–००१ ज ०२४३ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल अधेरी खोलाको बगरमा खसेर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार दुर्घटना आज दिउँसो करिब २ बजे भएको हो । माइक्रोबसमा चालकसहित १४ जना सवार रहेकामा सबै जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि शुभजीवन अस्पताल खुर्कोट पठाइएको छ ।
दुर्घटनामा घाइते भएकामध्ये ९ जनाको पहिचान खुलेको छ । पहिचान खुल्नेमा चालक धनुषाको शहीदनगर नगरपालिका–८ का दीपक कुमार दास, शहीदनगर नगरपालिका–७ की १७ वर्षीया रानी कुमारी मण्डल रहेका छन् ।
त्यस्तै, शहीदनगर नगरपालिका–२ का १४ वर्षीय पियुष गोहित, १५ वर्षीय आयुष गोहित र १२ वर्षीया रुबी गोहित घाइते भएका छन् ।
यसैगरी ललितपुरको भैँसेपाटी निवासी ३६ वर्षीया प्रियाङ्का साह तथा उनका छोरीहरू १६ वर्षीया जेनी साह, ११ वर्षीया सफलता साह र ३ वर्षीया ओमी साह पनि घाइते भएका छन् ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको कमाण्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा पुगेर उद्धार कार्यमा खटिएको थियो ।
बाँकी पाँच जना घाइतेको पहिचान खुलाउने कार्य भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।

