धरानमा स्कार्पियोबाट ४९९ किलो गाँजा बरामद, चालक पक्राउ
सुनसरी, मंसिर ६ । सुनसरीको धरान उपमहानगरपालिका–८ सेउती पुलबाट ४९९ किलो गाँजासहित स्कार्पियो चालक पक्राउ परेका छन्।
मंसिर ५ गते राति ११ः३० बजे इलाका प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय र अस्थायी प्रहरी चौकी तिनकुने धरानबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले सेउती पुलमा सवारीसाधन चेकजाँच गर्ने क्रममा गाँजाजस्तो पदार्थ बरामद गरेको हो।
प्रहरीका अनुसार BR 11 Y 3039 नम्बरको स्कार्पियोबाट ४९९ किलो गाँजा बरामद भएको छ। उक्त गाडीका चालक मोरङको विराटनगर महानगरपालिका–१३ निवासी ३२ वर्षीय अजय कुमार साहलाई समेत नियन्त्रणमा लिइएको छ।
बरामद गाँजा, स्कार्पियो र पक्राउ परेका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
