झापा, मोरङ र सुनसरीबाट लागूऔषध सहित ९ जना पक्राउ
विराटनगर, मंसिर ६ । कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित ९ जनालाई पक्राउ गरेको छ।
मंसिर ५ गते झापाको काँकरभिट्टाबाट उदयपुरको चौदण्डीगढी नगरपालिका–६ का ३० वर्षीय देवबहादुर पुलामीलाई १ ग्राम ९०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो। लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
त्यस्तै, मोरङको पथरीशनिश्चरे नगरपालिका–४ का २४ वर्षीय कैलाश तामाङ र २३ वर्षीया अनिसा तामाङलाई ४ ग्राम ९४० मिलिग्राम ब्राउन सुगर र निट्जासेन्ट १२८ क्याप्सुल प्रतिबन्धित औषधिसहित प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई प्रहरी चौकी कुशेचौरीको टोलीले पक्राउ गरेको हो।
सुनसरीको दुहबीमा प्र.१–०२–०५३ प ४७२९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक धरान उपमहानगरपालिका–२० का २१ वर्षीय गौरव राई २१ किलो ९८० ग्राम गाँजासहित पक्राउ परेका छन्।
त्यसैगरी, इलाका प्रहरी कार्यालय देवानगञ्जले देवानगञ्ज गाउँपालिका–३ का २२ वर्षीय सन्तोषकुमार राम तथा भारतको अररिया निवासी २१ वर्षीय सन्दिपकुमार पासवान र २५ वर्षीय दिनदयाल पासवानलाई ३ किलो ८०० ग्राम गाँजासहित पक्राउ गरेको छ। उनीहरू बि.आर. ५० ए.ई. ३६५५ नम्बरको भारतीय मोटरसाइकलमा सवार थिए।
यस्तै, इलाका प्रहरी कार्यालय रामधुनी र पकलीबाट खटिएको प्रहरी टोलीले रामधुनी नगरपालिका–१ का २५ वर्षीय विवेक चौधरीलाई १ ग्राम २५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय धरानले धरान उपमहानगरपालिका–८ का ३२ वर्षीय सुशिल परियारलाई ट्रामाडोल ३६४ क्याप्सुल र स्पासपेन ३६४ ट्याब्लेट प्रतिबन्धित औषधिसहित पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका सबै ९ जनामाथि थप अनुसन्धान भइरहेको छ।
