कटुवा पेस्तोल र गोली सहित महिला पक्राउ
धनुषा । धनुषाको धनुषाधाम नगरपालिका–४ गौरीपुर टोलबाट कटुवा पेस्तोल र गोलीसहित एक महिला पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा सिरहा जिल्लाको कल्याणपुर नगरपालिका–५ निर्धना टोल निवासी ४० वर्षीया गंगावती महतो रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरी टोलीले उनलाई मंसिर ६ गते बिहान करिब ११ बजे गौरीपुर टोलमा फेला पारेको हो ।
प्रहरीका अनुसार महतोले कटुवा पेस्तोल एक थान र त्यसमा प्रयोग हुने गोली एक राउण्ड कम्मरमा लुकाएर लैजाँदै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेकी महिलामाथि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।
