चोरी भएको माइक्रो सहित दुई जना पक्राउ
काठमाडौं । काठमाडौंमा पार्किङ गरी राखिएको माइक्रोबस चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गत कात्तिक २९ गते साँझ करिब ७ः४५ बजे नागार्जुन नगरपालिका–४, बाफलस्थित मनमती करिडोर सामुदायिक भवन नजिक खाली जग्गामा पार्किङ गरी राखिएको बा १ ज ९८०५ नम्बरको माइक्रोबस चोरी भएको थियो।
गाडी हराएको सूचनापछि प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा चोरी भएको माइक्रोबस मंसिर २ गते कलंकीबाट फेला पारेको थियो।
त्यस्तै, उक्त गाडी चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले मंसिर ५ गते बिहान १०ः३० बजे काठमाडौंको स्वयम्भू बुद्ध पार्कबाट दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका–६ घर भई हाल काठमाडौंको कलंकी बस्ने ३७ वर्षीय बाबुराम तामाङ र सिन्धुलीको लखनपुर घर भई हाल काठमाडौंको स्वयम्भू बस्ने १८ वर्षीय विशाल लामा रहेका छन्।
प्रहरीले उनीहरूविरुद्ध चोरीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक तथा प्रवक्ता दानबहादुर थापाले जानकारी दिएका छन्।
