प्रेस स्वतन्त्रतामाथि राज्यको प्रहार, रौतहटमा पत्रकार महासंघ आन्दोलित

रौतहट, ९ मंसिर । पत्रकारमाथि सामूहिक गिरफ्तारी र धरपकड गरिएको विरोधमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रौतहटले जिल्ला प्रशासन कार्यालय गौरासमक्ष धर्ना दिएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि राज्यपक्षबाट भइरहेको हस्तक्षेप तत्काल रोक्न माग गर्दै महासंघले बुधबार विरोध प्रदर्शनसहित धर्ना दिएको हो ।

‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ लेखिएको ब्यानरसहित प्रदर्शनमा उत्रिएका पत्रकारहरूले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप बन्द गर्न सरकार र सम्बन्धित निकायलाई दबाब दिएका छन् ।

महासंघले समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिनु, पत्रकारहरूलाई सामूहिक रूपमा गिरफ्तार गर्नु तथा प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास हुनु गम्भीर आपत्तिजनक भएको जनाएको छ ।

त्यस्तै, सञ्चारमाध्यममा अनधिकृत रूपमा गाडी तेर्स्याएर अवरोध सिर्जना गर्ने कार्यमा संलग्नमाथि कारबाही नहुनु र पत्रकारलाई समाचार संकलन तथा प्रकाशनमा अवरोध पुर्‍याइनुले लोकतान्त्रिक मूल्य र मान्यतामाथि नै प्रश्न उठाएको महासंघको भनाइ छ ।

सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबरजस्ती निष्कासन गरिएको, श्रम अधिकारको उल्लंघन भएको र गोरखापत्रलगायतका सञ्चारमाध्यममा कार्यरत पत्रकारको रोजगारी असुरक्षित बनाइएको विषयमा पनि महासंघले असन्तुष्टि जनाएको छ ।

यसैगरी, पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापनबापत पाउँदै आएको रकम प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार उपलब्ध नगराइएको भन्दै महासंघले त्यसको तत्काल कार्यान्वयन गर्न माग गरेको छ ।

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हमला बन्द गर’ भन्ने मुख्य नारासहित आयोजित धर्नामा जिल्लाका क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

महासंघले स्वतन्त्र पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै पत्रकारलाई सामूहिक रूपमा गिरफ्तार गर्ने, समाचार कक्षमा प्रहरी प्रवेश गराउने र सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने कुनै पनि प्रयास स्वीकार्य नहुने स्पष्ट पारेको छ ।

पत्रकारका अधिकार, प्रेस स्वतन्त्रता र श्रम अधिकारको संरक्षणका लागि महासंघले देशव्यापी रूपमा चरणबद्ध आन्दोलन गर्दै आएको छ । सोही आन्दोलनअन्तर्गत नेपाल पत्रकार महासंघले बुधबार देशभर धर्ना दिएको जनाएको छ ।

महासंघले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप तत्काल बन्द गरी गिरफ्तार पत्रकारको रिहाइ, पत्रकारमाथि भएको धरपकडको छानबिन तथा दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖