सुनसरी, झापा र इलामबाट लागूऔषध सहित १५ जना पक्राउ
विराटनगर, मंसिर ९ । सुनसरी, झापा र इलामका विभिन्न स्थानबाट लागूऔषध ब्राउन सुगरसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार मंसिर ८ गते सुनसरीका विभिन्न स्थानमा खटिएको प्रहरी टोलीले ब्राउन सुगरको कारोबारमा संलग्न १० जनालाई पक्राउ गरेको हो । उनीहरूको साथबाट ५९ ग्राम ८८४ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ ।
पक्राउ पर्नेमा धरान–५ का आशिष विश्वकर्मा, इटहरी–५ का सुरेश राई र थाम्पुहाङ राई, धरान–११ का प्रकाश तामाङ, धरान–८ का रविन तामाङ, विराटनगर–४ का सुधिर प्रसाद खनाल, इटहरी–१६ का अनिराज चौधरी, इटहरी–६ का राम थापा, पथरी शनिश्चरे–७ का अनिमिश शिवा र फर्वा गुरुङ रहेका छन् ।
त्यस्तै, झापाको कनकाई नगरपालिका–३ बाट इलाका प्रहरी कार्यालय सुरुङ्गाले कनकाई–४ का अनिल चौधरीलाई २ ग्राम ३३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले मेचीनगर नगरपालिका–६ बाट २ ग्राम ३२० मिलिग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–११ का अबिन उराव, मेचीनगर–७ का सयन मण्डल र राजिव राजवंशी रहेका छन् ।
यस्तै, इलामको सूर्योदय नगरपालिका–२ बाट इलाका प्रहरी कार्यालय पशुपतिनगरले स्थानीय दापेम्बा शेर्पालाई १० ग्राम १६० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
