‘तिमीविना बाँच्न सक्दिनँ’ भन्दै श्रीमती बनाएर ३ महिनासम्म सँगै राखी अहिले तिनै श्रीमान बेपत्ता भएपछि…

जनकपुर उपमहानगरपालिका–१७ का आरती मण्डलको विकास मण्डलसँग केही समयदेखि हिमचिम थियो । धेरै नजिकिएपछि उनीहरू दुवै एक–अर्काको प्रेममा परे । गत चैतमा विकासले प्रेमिका आरतीलाई ‘तिमीविना बाँच्न सक्दिनँ’ भन्दै घरबाट भगाएर जनकपुर ल्याए । त्यसपछि उनीहरू मिल्स एरियामा डेरा लिएर बस्न थाले ।

श्रीमती बनाएर तीन महिनासम्म सँगै राखेका विकास अहिले आरतीलाई छाडेर बेपत्ता छन् । विकासले एकाएक छाडेपछि आरती यतिवेला बिचल्लीमा परेकी छिन् । ‘तीन महिनाको समयमा म गर्भवती पनि भएँ,’ उनले आँसु झार्दै भनिन्, ‘विकासले घरपरिवारको दबाबमा गर्भपतन गराई मलाई छाडेर गयो, म बर्बाद भएँ ।’विकासलाई घरपरिवारले आफूभन्दा तल्लो जातको केटीसँग बिहे गरेको भन्दै लामो समयदेखि छाड्न दबाब दिइरहेका थिए । परिवारले आरतीसँग जीवन काट्ने हो भने घरपरिवारको माया मार्नुपर्ने र धनसम्पत्ति पनि दाबी गर्न नपाउने भनेपछि उनले छाडेको आरतीको तर्क छ ।

आरती आफू पीडामा परेको भन्दै न्याय दिलाइदिन जिल्ला प्रहरी कार्यालय धनुषा पुगेकी छिन् । पछिल्लो समयमा विकासले माइतीबाट पल्सर मोटरसाइकल र दुई लाख रुपैयाँ ल्याउन दबाब दिँदै आएको उल्लेख गर्दै उनले प्रहरीसमक्ष भनिन्, ‘घरपरिवारको अनुमतिविना बिहे गरेको र बुबाआमासँग आफुले केही माग्न नसक्ने भनेपछि उसले छाडेर भाग्यो ।’

पीडित आरतीलाई न्याय दिलाउन सो गाउँबाट सयौँ महिला तथा पुरुष जिल्ला प्रहरी कार्यालय पुगेका छन् । आरतीको भविष्यसँग खेलबाड गर्ने विकासलाई कारबाही गर्नुपर्ने तथा आरतीलाई विकासकै घरमा बस्ने व्यवस्था मिलाइदिन उनीहरूले प्रहरीलाई दबाब दिएका छन । विकास करिब १५ दिनदेखि आफ्ना घरपरिवार र आरतीको सम्पर्कमा नरहेको बताइएको छ । तर, आरतीका आफन्तले विकास आफ्नो घरपरिवारकै दबाबमा सम्पर्कविहीन रहेको दाबी गरेका छन् ।

विकासका बाबु झगरु मण्डलले आफ्नो छोराले आरतीसँग बिहे नगरेको दाबी गरेका छन् । आरतीलाई छोराले बुहारीका रूपमा कहिले पनि घरमा नल्याएको उल्लेख गर्दै उनले आरतीलाई छोराले पत्नीका रूपमा स्वीकार गरे आफूहरू पनि बुहारीका रूपमा स्वीकार गर्न तयार रहेको बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।