यसकारण मधेशमा सबभन्दा बलियो एमाले !

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरित भइसकेपछि बनेको संविधानमा व्यवस्था भएबमोजिम अधिकार सम्पन्न स्थानीय तहको निर्वाचनको दुई चरणको अन्तिम नतिजाले एमालेलाई एक नंबरको पार्टी बनेको छ । दुवै चरणमा एमालेले सर्वाधिक स्थानमा विजय हासिल गरिसकेको छ । २० बर्ष पहिले विकेन्द्रीकरण ऐनसहितको स्थानीय निकायको निर्वाचन सम्पन्न भएको थियो । एमालले त्यतिबेला पनि अहिलेभन्दा ठूलो पैमानामा विजय हासिल गरेको थियो । त्यो निर्वाचन लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री र बामदेव गौतम उपप्रधान मन्त्रीको रुपमा सत्तासीन भएको बेला सम्पन्न भएको थियो । त्यतिबेला एमालेले सत्ताको दुरुपयोग गरेर स्थानीय निकाय कब्जा गरेको आरोप लागेको थियो । तर अहिले एमाले प्रतिपक्षमा रहँदा र उसका विरुद्ध सत्तारुढ दलहरुको धेरै स्थानमा भएको तालमेलका बाबजुद प्राप्त गरेको यो सफलताको पछाडि केही कारण छन् ।

निर्मल भट्टराई

क) सन्तुलित र व्यवहारिक पार्टी नीति
पार्टी उद्गम हुँदा नौलो जनवादी कार्यक्रम र लडाकु पार्टीको रुपमा भए पनि ०३७ सालदेखि जनपरिचालनको कार्यनीति लिएर तत्कालीन नेकपा(माले)ले आफूलाई व्यापक जनतामा आफूलाई स्थापित गर्यो । कठोर पञ्चायती दमन छलेर उसले आफ्नो राष्टव्यापी सञ्जालमात्र निर्माण गरेन, नेपाली कांग्रेससंग मिलेर पञ्चायती निरंकुशताको अन्त्य गर्न सफल भयो । ०४६ सालको परिवर्तनपछि भएको संसदीय निर्वाचनमा सशक्त प्रतिपक्षमा संसदमा उपस्थित भएपछि तत्कालीन महासचिव मदन भण्डारीले नब्बेको दशकमा विश्वमा आएको परिवर्तन र नेपाली जनताको बहुलवादी चरित्रसंग मेल खाने जनताको बहुदलीय जनवादलाई आफ्नो पार्टीको सर्वस्वीकृत नीतिको रुपमा अगाडि बढाउन सफल हुनुभयो । वाम आन्दोलनका विभिन्न विभिन्न भङ्गालाहरुलाई समेट्दै एमाले अगाडि बढ्यो । लोकतन्त्रका विश्वव्यापी मान्यतालाई एमालेले देशको समग्र परिवेशमा मात्र होईन,आफ्नो आन्तरिक पार्टी जीवनमा समेत पूर्णरुपेण आत्मसात गर्यो । परिणामस्वरुप एमालेले सो अघि नेपाली कांग्रसको प्रभावमा रहेको नेपालको राष्टिय पूँजीपति वर्ग र मध्यम वर्गमाथि आफ्नो प्रभाव विस्तार गर्न सफल भयो । लोकतन्त्र,राष्टियता, जनजीविका, मानवअधिकार, विधिको शासनप्रतिको उसको प्रष्ट अडानका कारण सबै तहका जनतामा आफ्नो विश्वसनियता निरन्तर बढाउन एमाले सफल रह्यो ।

ख) सन्तुलित एवम् सवल नेतृत्व
नेकपा(एमाले)मा समकालीन नेपाली राजनीतिमा सबभन्दा शीर्ष नेतृत्व पुञ्ज छ । ०४६ सालको जनआन्दोलन र ०६२÷०६३ सालको जनव्रmान्तिको सफल नेतृत्व गरेका नेताहरु केवल नेकपा(एमाले)मा मात्र छन् । के पी ओली र माधव नेपालको राजनीतिक उचाई र सुझबुझ, झलनाथ खनालको वैचारिक सिद्धहस्तता, ईश्वर पोखरेलको कुशल सांगठानिक व्यवस्थापन र बामदेव गौतमको आक्रमक कार्यशैली वर्तमान नेपाली राजनीतिमा प्रतिस्पर्धारहित छन् । अहिले मधेशमा एमालेसंग प्रतिस्पर्धा गर्न नसकेर नेकाले माओवादी र राजपासंग हात पसार्नु पर्ने स्थिति त्यसै आएको होइन ।

ग) सबल सांगठानिक सञ्जाल
एमालेको संगठनलाई अरु पार्टीका शीर्ष नेताहरुले समेत प्रशंसा गर्ने गरेका छन् । पार्टी जबजलाई आफ्नो मार्गदर्शक सिद्धान्त अंगालेदेखि नै एमालेको आफ्नो आन्तरिक पार्टी जीवनमा लोकतन्त्रको पूर्णरुपेण अंगिकार गर्दै आएको छ । एमालेको विधान नेपाली कांग्रेस र माओवादी केन्द्रको जस्तो नेताको ईच्छामा बन्धक हुने “सो पिस” होईन । पार्टी अध्यक्षदेखि संगठित सदस्यसम्मले बराबरी सम्मान र परिपालना गर्ने गतिशील दस्तावेज हो । पार्टीभित्रका सबै गतिविधि एउटा निस्चित पद्धति र परम्पराअनुसार चल्ने हुँदा पार्टीभित्र कोही पनि स्पेस विहीन हुनु पर्दैन । यही कारण हो, आज समाजका हरेक क्षेत्रमा एमालेका शक्तिशाली ईकाई कार्यरत छन् । ती शक्तिशाली ईकाई नै एमाले विजयको श्रेयको प्रथम हकदार हुन् ।

घ) संघीयतासम्बन्धी प्रष्ट नीति
नेपालमा संघीयताको बहस अहिलेसम्म सकिएको छैन । संविधानसभामार्फत संविधानको कार्यान्वयनको चरणमा आइपुग्दा समेत सोसम्बन्धी केही ईस्युहरु अझै तिखो बहसमै छन् । जातीय पहिचानसहितको संघीयताको माग हाल केही छाँयामा परेको देखिन्छ भने मधेशको सिमाङ्कन सम्बन्धी मुद्धा अझै समाधान भएको छैन । मधेश केन्द्रित दलहरु त्यही निहुमा आन्दोलनका तमाम गतिविधिहरु र चुनाव बहिष्कारको चेतावनी समेत दिइरहेका छन् । स्थानीय तहको प्रथम र दोस्रो निर्वाचनले एमालेले भनेजस्तो जनता नेपालकै विशिष्टतामा आधारित संघीयताको पक्षमा छन् भन्ने प्रष्ट देखाएको छ । संघीयतालाई आधार बनाएर देशमा अशान्ति मच्चाउन प्रयत्न गर्ने दृश्य अदृश्य शक्तिलाई यो निर्वाचनले दह्रो झापड दिएको छ । जातीय पहिचानसहितको संघीयताका पक्षधर र मधेशवादी दललाई जनताले आफ्नो अभिनत नदिनु र कोर मधेशमा समेत एमालेको बर्चश्व विस्तार हुनु यसको ज्वलन्त प्रमाण हो । संविधानसभाभित्रको लामो रस्साकस्सी,राष्टव्यापी छलफल, बहस र परामर्शपछि संविधानमा हाल व्यवस्था भएको संघीयताको मोडललाई स्थानीय तहको निर्वाचनमा जनताले अनुमोदन गरिदिएका छन् । निर्वाचन हुन बाँकी दुई नम्बर प्रदेशका आठ जिल्लामा समेत जनताहरु आफ्ना प्रतिनिधि छान्न व्यग्र देखिन्छन् किनभने कठोर त्याग, तपस्या र वलिदानबाट प्राप्त संविधान कार्यान्वयन भएको हेर्न मधेशी जनता पनि आतुर छन् । दुई नं प्रदेशका जनताले एमालेलाई एक नंबरको पार्टी बनाएर संघीयतासम्बन्धी एमालेको नीति अनुमोदन गर्ने बलियो आधार तयार भएको छ ।

ङ) सक्षम र ईमान्दार स्थानीय नेता कार्यकर्ता
तुलनात्मक हिसाबमा हेर्दा अधिकांश एमाले कार्यकर्ताहरु जनताको सेवामा अरु पार्टीभन्दा अब्बल छन् । लामो समय स्थानीय निकाय खाली भए पनि सहकारी, बन उपभोक्ता समिति, खानेपानी उपभोक्ता समिति, क्लव, विद्यालय व्यवस्थापन समिति, रेडक्रस, स्थानीय सामाजिक सङ्घ संस्थामा एमालेको बाहुल्यता रहदै आएको छ । त्यसबाट उनीहरुको सक्षमता अभिबृद्धि भएको मात्र नभई आर्थिक पारदर्शिता र ईमान्दारी समेत जनताले अनुभूत गर्ने अवसर प्राप्त भएको छ । अधिकांशले “जीवन संघर्ष हो, संघर्ष हो जीवन” भन्ने गीत गाउदै आफ्नो जीवनलाई समेत संघर्षमय बनाएका छन् । नेकाका नेता कार्यकर्तामा गान्धीवादी निष्ठा र सरलता हराउदै जानु, माओवादीमा उपभोक्तावाद हावी हुनु एमालेका स्थानीय नेता कार्यकर्तालाई बढी फाइदा भएको छ । यो वा त्यो जिम्मेवारीमा रहेर काम गर्दा अधिकांश एमाले नेता कार्यकर्ता “गन्हाउन”बाट बचेका छन् ।

र, अन्त्यमा
एमाले मधेशमा सबभन्दा बलियो भएर नै अरु सबै मिलेर ऊसंग प्रतिस्पर्धा गर्ने योजना बनाउदैछन् । एमालेको पक्षमा देखिएको जनउभारको उसले उच्च महत्व दिन सक्नुपर्छ । नत्र यो समर्थन क्षणभङ्गूर पनि हुन सक्दछ । चुनावमा राम्रो गर्ने पार्टीहरु लगत्तै कुनै न कुनै समस्यामा परेको हाम्रो देशको ईतिहास हो । ०१५ सालमा दुई तिहाई सीट जिते पनि डेढ बर्षभन्दा बढी आफ्नो सत्ता टिकाउन सकेन । ०४८ सालमा जनताले नेपाली कांग्रेसलाई पाँच बर्ष शासन गर्न बहुमत दिए पनि देशले मध्यावधि चुनाब ब्यहोर्नु पर्यो । ०५४ सालमा साठी प्रतिसतभन्दा बढी स्थानीय तहमा विजयी एमाले सोही साल विभाजन हुन पुग्यो । ०६४ सालमा २३९ सीट जितेको तत्कालीन एनेकपा(माओवादी) केही बर्ष नवित्तै छिन्नभिन्न हुनपुग्यो । ईतिहासबाट एमालेले शिक्षा लिएर आफूलाई झन जिम्मेवार र अझ व्यवस्थित बनाउन सक्नुपर्छ । त्यसो हुन सक्यो भने उसका लागि प्रादेशिक सत्ता र केन्द्रीय सत्ता अब धेरै टाढा छैन ।
(नेता, एमाले)



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।