५ वर्षदेखि फलामे खोरमा थुनिएर बस्न बाध्य उदयनारायण जस्लाई वैदेशिक रोजगारीले यस्तो बनायो

उपचार अभावमा ५ वर्षदेखि फलामे खोरमा, परिवारद्वारा उपाचार सहयोगको याचना !

धनकुटा खबर / तेह्रथुम । एउटा मानिस आफ्नै घरमा फलामको खोरमा रहेको सुन्दा जोसुकैलाई अचम्म लाग्न सक्छ तर यो यथार्थ हो । तेह्रथुमको आठराई गाउँपालिका–६ चुहानडाँडा, बोखिका उदयनारायण दाहाल लाई पाँच वर्षदेखि फलामको खोरमा थुनेर राखिएको छ । घरको एउटा कुनामा राखिएको फलामे खोर सम्म, ३४ वर्षीय दाहाललाई वैदेशिक रोजगारीले नै पुर्याएको हो ।

बैदेशिक रोजगारीका लागि दाहाल २०६३ सालमा दुवाई जानुभएको थियो । दाहाललाई कक्षा ८ मा पढ्दा–पढ्दै कमाउन विदेश जाने हावाले छोयो । बा–आमाले रु १ लाख ५० हजार रुपैयाँ खर्च गरेर दुवाई पठाई दिए । ६ महिनापछि उहाँले पहिलो कमाई रु ७० हजार रुपैयाँ घर पठाउनु भयो । बैदेशिक रोजगारीको क्रममा दुवाई पुग्नुभएका दाहालले १० महिनापछि मानसिक सन्तुलन गुमाएर घर फर्किनुपर्यो ।

दशौं महिनामा बिरामी भएको खबर आयो, काठमाडौं ल्याएर उपचार गर्यौं । बुबा चूँडामणि दाहालले भन्नु भयो । “६ महिनासम्म औषधि खाएपछि सञ्चो भयो ।” निको भएपछि उदयनारायण पुनः भारतको मद्रास जानु भयो । दुई महिना नपुग्दै फेरि बिरामी भएर फर्किनुपर्यो । बुबा–आमाले लगनखेल, ललितपुरको मानसिक अस्पताल उपचारका गराउनुभयो ।

अस्पतालमा डाक्टर सुरेन्द्र शेरचनले उदयनारायणलाई ‘बाइपोलार डिस्अर्डर’ रोग लागेकाले लामो समयसम्म नियमित औषधि सेवन गर्नुपर्ने सल्लाह दिनुभयो । आमा मैना भन्नुहुन्छ–“औषधि उपचारमा करिव ५ लाख रुपैयाँ खर्च भयो । “ऋण लिएर औषधि उपचार गरियो, एक वर्ष नबित्तै एकदिन अचानक रोग बल्झेछ । घरमा काम गरिरहेका बुबालाई काठको मुंग्रोले हिर्काएर लडायो । बुबा बेहोश भएपछि एम्बुलेन्स झिकाएर उपचार गर्न लानुपर्यो ।”

थप उपचारको लागि खर्चको अभावमा उपचार गर्न नसकेपछि छोरालाई खोरमा राख्न बाध्य भएको विरक्तिंदै बुबा चूँडामणिले बताउँनुभयो । “नियन्त्रणमा नराखे थप क्षति हुने देखेर छिमेकी जिल्ला पाँचथरको फिदिम पुगेर रु ३५ हजार रुपैयाँमा फलामको खोर अर्डर ग¥यौं । अहिले त्यही खोरमा थुनेर राखिएको छ । ” छोरालाई थुनेर राख्नुपर्दा कुन बाबु–आमाको मन नरोला र ?’

उदयनारायण खोरभित्रै खानेकुरा थापेर खानुहुन्छ । कपडा फेर्न, कपाल, दाह्री काट्न दुई-चार जना लाठे खोजेर उनलाई बाहिर निकाल्नुपर्छ । खोरभित्रै शौचालयको प्रबन्ध मिलाइएको छ । बेलाबेला सामान्य अवस्थामा उहाँ आउँनुहुन्छ र कुरा गर्नुहुन्छ । सामान्य अवस्थामा आउँदा उदयनारायणले भन्नु भयो– ‘औषधि गर्न पाए ठीक हुन्थें होला !’

उदयनारायणले राम्रो उपचार पाए पहिलेकै अवस्थामा आउने परिवारको आशा छ । छोराको उपाचारका लागि दाहाल परिवारले आवश्यक सहयोगको याचना गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।